महिलालाई सीपमूलक तालिम : व्यावसायिक बन्ने प्रतिबद्धता

असार १४, २०८२

माधव अर्याल

Skill Training for Women: Commitment to Professionalism

पाल्पा — रम्भा गाउँपालिका–१, हुँगीकी सीता त्रिपाठीले झोल साबुन, फिनेल, हर्पिक लगायत सामग्री बनाउन सिकेकी छन् । उनलाई यसअघि यस्ता सामग्री बनाउने ज्ञान थिएन । अहिले भने सीप सिकेसँगै व्यावसायिक बन्ने सपना बोकेकी छन् । ‘काम गर्न अलि खतरा हुने रहेछ,’ उनले भनिन्, ‘एसिडसँग खेल्नुपर्ने भएकाले पनि धेरै काम गर्न दुःख पनि छ । तर पनि मैले व्यावसायिक काम गर्नेछु भन्ने लागेको छ ।’

गाउँका प्राय सबैलाई आवश्यक पर्ने सामग्री भएकाले आफूले उत्पादन गरेका सामानलाई बिक्रीको समस्या नहुने उनको विश्वास छ । 

गाउँकै जगन्नाथ पराजुलीले त्रिपाठी लगायत १० जना महिलालाई साबुन, फिनेल, हर्पिक बनाउन सिकाएका हुन् । बुटवलमा बसेर सामग्री बिक्री गर्दै आएका पराजुलीले व्यावसायिक सीप सिकेका महिलाले उत्पादन गरेका सामान बिक्री गर्न आफूसमेत तयार भएको बताएपछि त्रिपाठी लगायतका महिलालाई उत्साह जागेको बताएका छन् । ‘मैले बुटवलमा बसेर आफैंले बिहान बेलुकी बिक्री गर्ने गर्छु,’ उनले भने, ‘व्यावसायिक उत्पादन भयो भने मैले पनि बिक्रीमा सघाउनेछु ।’ 

शृङ्गारका सामग्री बनाउन १० दिन तालिम लिएकी हुमीनकी शर्मिला आचार्य पनि घरमै बसेर ५/१० हजार कमाउन सकिने बताउँछिन् । चुरा, पोते, माला लगायत महिलाका शृङ्गारका सामग्री बनाएर बिक्री गर्न सकिने उनको विश्वास छ । ‘मैले सिकेको सीपलाई व्यवहारमा उतार्नुपर्छ भन्ने लागेको छ,’ हुमीनमा सञ्चालित तालिमपछि उनले भनिन्, ‘घरमै बसेर पनि आम्दानी गर्न सहज हुने रहेछ भन्ने बुझेकी छु ।’ आर्यभन्ज्याङ्–ताहुँ–रामपुर सडकका छेउछाउका पसलमा बिक्री गरेर पनि आफूले बनाएका सामग्री बिक्री गर्न सकिने हिम्मत जागेको उनले बताइन् । प्रशिक्षण दिएकी दानमाया पाँडेमगरले हातमा सीप भएपछि सामग्री बिक्री गर्न समस्या नहुने बताइन् । ‘दुई चार पसलमा सम्पर्क हुने हो भने बिक्रीका लागि कुनै समस्या हुँदैन,’ उनले भनिन् ।

फोक्सिङ्कोटकी धनीसरा चिदीले पाल्पाली ढाका कपडा बुन्न सिकेकी छन् । ३० दिनसम्म सञ्चालन भएको तालिमले हातमा सीप भर्खर भर्खर बसेको बताइन् । यो तालिम कम्तीमा ३ महिना सञ्चालन हुनुपर्ने उनको सुझाव छ । ‘हामीले एक महिनामा बुन्ने यसरी रहेछ भन्ने भएको छ,’ उनले भनिन्, ‘व्यावसायिक बन्नका लागि हातलाई सही ढङ्गले चलाउन सक्ने बन्नुपर्छ ।’

प्रशिक्षक भूमिसरा जर्घा मगरले पनि कम्तीमा तीन महिना तालिम चलाउने हो भने ढाका कपडा बुन्न सक्ने बनाउन सकिने बताइन् । गाउँपालिकाले तत्काल एडभान्स तालिम दिने हो भने १० जना महिला व्यावसायिक बन्न सक्ने उनले बताइन् । ‘अहिले पनि बुन्न सक्नु भएको छ, तर बुट्टा निकाल्ने र हात साफ अझै हुन सकेको छैन,’ उनले भनिन्, ‘व्यावसायिक बनाउने हो भने अझ तीन महिना सञ्चालन गर्नुपर्छ ।’

Skill Training for Women: Commitment to Professionalism

यी केही उदाहरण मात्र हुन् । रम्भा गाउँपालिकास्थित महिला समन्वय समितिले हुँगी, फोक्सिङ्कोट, पिपलडाँडा, हुमीन र ताहुँका ३० जना महिला लक्षित गरी सीपमूलक तालिम सञ्चालन गरेपछि महिलामा व्यावसायिक बन्ने उत्साह जागेको हो । गाउँपालिकाकी लघु उद्यम शाखाकी प्रमुख गीता नेपालले महिलाले घरमै बसेर पनि आम्दानी गर्न सक्ने गरी सीप प्रदान गरिएको बताइन् । ‘तालिम लिने धेरै हुनुहुन्छ,’ उनले भनिन्, ‘सिकेको सीपलाई व्यवहारमा उतार्नुभयो भने स्वरोजगार बन्न सकिन्छ । धेरैले तालिम पछि व्यावसायिक बन्ने बताउनु हुन्छ । पछि विभिन्न कारणले छाड्ने प्रवृत्ति छ ।’

महिला समन्वय समिति रम्भाकी अध्यक्ष कुविजा बस्यालले तालिम लिएका महिलालाई व्यावसायिक बनाउनका लागि आगामी दिनमा थप तालिम सञ्चालन गरिने बताइन् । ‘हामीले अहिले काम गर्ने प्रेरणा जगाउन मात्र खोजेको हो,’ उनले भनिन्, ‘आवश्यकता अनुसार आगामी दिनमा एडभान्स लेबलको तालिम सञ्चालन गरेर महिलालाई घरमै बसेर स्वरोजगार बनाउने भन्ने नै हो ।’

गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले महिलाले घरमै बसेर पनि आयआर्जनका काम गर्न सक्ने भएकाले सीपमूलक तालिम सफल हुने बताए । उनले झोल साबुन, हर्पिक, फिनेल होस् वा चुरा, पोते, माला लगायत ढाका बुन्ने सीपले व्यावसायिक बन्न पनि सहज हुने काम भएको बताए । ‘हामीले गाउँपालिकाको तर्फबाट आउटलेट राख्ने योजना बनाएका छौँ,’ उनले भने, ‘त्यसका लागि कामसमेत अघि बढेको छ । त्यही लगेर प्रचार प्रसार गर्ने र सँगसँगै स्थानीय बजारको खोजी गर्नुपर्ने हुन्छ ।’

Skill Training for Women: Commitment to Professionalism

गाउँपालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठले महिलालाई आयआर्जन बढाउन सीपमूलक तालिम सञ्चालन गरिएको बताइन् । ‘तालिमले परिष्कृत गर्दै अघि बढ्न प्रेरणा पनि दिएको हुन्छ,’ उनले भनिन्, ‘थोरै लगानीमा पनि धेरै आम्दानी हुने सीप दिएपछि व्यावसायिक बन्न सजिलो हुनेछ भन्ने लागेको छ ।’ प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले तालिमहरू धेरै सञ्चालन हुन्छन् तर अहिले सञ्चालन भएको तालिममा महिलाको उत्साह देखिएकाले व्यावसायिक बन्ने अपेक्षा लिइएको बताए । ‘पालिकाबाट धेरै सीपमूलक तालिम सञ्चालन हुन्छन्,’ उनले भने, ‘तर घरमा बसेर पनि काम गर्न सकिने तालिमको प्रभावकारिता हुन्छ कि भन्ने सोच हो ।’ 

रम्भा गाउँपालिकाले लघु उद्यम विकास कार्यक्रममार्फत यसवर्ष मात्र फोक्सिङ्कोटमा होमस्टे (घरबास) तालिम र पिपलडाँडा र ताहुँमा मौरी पालन तालिम सञ्चालन गरेको छ । यसअघि युवाका लागि ताहुँमा मौरी पालन महिलाका लागि पिपलडाँडाको झेस्काङ्मा हाते होजियारी तालिम चलेको थियो । ताहुँको धोवादी र फुरुङ्दीमा तरकारी खेती, हुँगीमा मेसिनबाट बुन्ने होजियारी, फोक्सिङकोटको सुरुमडाँडा, बाख्रापालन, ताहुँको बाकुम र टेमनेमा बंगुरपालन लगायतको तालिम दिइसकेको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully