दाङ — नेपाल संस्कृत विश्वविधालय अनुसन्धान केन्द्रले विश्वविधालय अनुदान आयोगको सहयोगमा शनिबारदेखि दाङको बेलझुण्डीमा पौरस्त्य शोध पद्धतिको निरूपणबारे तीन दिने अन्तर्राष्ट्रिय संगोष्ठी आयोजना गरेको छ ।
पौरस्त्य अर्थात पूर्वीय ज्ञान परम्परामा अनुसन्धानको मौलिक पद्धतिको खोजी गर्ने र उक्त ज्ञानलाई नेपाल र भारतका विभिन्न विश्वविद्यालयमा गरिने शोधकार्यका लागि मानक बनाउने उद्देश्यका साथ गोष्ठी आयोजना गरिएको अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा.डा. सुधन कुमार पौडेलले बताए ।
संस्कृतमा अध्ययन अनुसन्धानको परम्परा भए पनि शोधको मानक पद्धतिको विकास हुन नसक्दा देवनागरी लिपिसँग सम्बन्धित शोधकार्यमा संलग्न शैक्षिक संस्था र शोधार्थीहरुले शोधलेखनका क्रममा विभिन्न समस्या झेल्दै आएका छन् ।
यससँग सम्बन्धित विभिन्न समस्याहरुको पहिचान गरी शोधकार्यलाई व्यवस्थित र एकरुप तुल्याउन गोष्ठीबाट सहयोग हुने अपेक्षा गरिएको उनले बताए । गोष्ठीको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले गरेका छन् ।
गोष्ठीमा प्राचीन एवम् आधुनिक शोधपद्धतिसँग सम्बन्धित विभिन्न विषयका बाह्रवटा कार्यपत्र प्रस्तुत गरिँदै छ । गोष्ठीमा नेपाल र भारतका विभिन्न विश्वविद्यालयमा शोध अनुसन्धानमा क्रियाशील ७० जना सहभागी भएका छन् ।
गोष्ठीमा नेसंवि, पोखरा, मध्यपश्चिम, लुम्बिनी बौद्ध र लुम्बिनी प्राविधिक विश्वविद्यालय एवम् राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुको सहभागिता छ ।
गोष्ठीमा भारतका सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसी, महात्मा गान्धी केन्द्रीय विश्वविद्यालय मोतीहारी विहार, लखनऊ विश्वविद्यालय लखनऊ, उत्तरबंग विश्वविद्यालय सिलगढी, नालन्दा विश्वविद्यालय विहार, सिद्धार्थ विश्वविद्यालय उत्तरप्रदेश, डा. भीमराव अम्बेडकर विश्वविद्यालय आगरा र जयपुर राष्ट्रिय विश्वविद्यालयका प्राध्यापक एवम् शोधार्थीहरु पनि सहभागी छन् ।
