चामल भनेर चिनी ल्याउने व्यापारीविरुद्ध कर छलीको मुद्दा दायर, ७ करोड जरिवाना गर्न माग

चिनी खरिद गर्ने र खरिदकर्तालाई सघाउने दुई व्यवसायीलाई पनि राजश्व अनुसन्धानको कारबाही

असार १२, २०८२

घनश्याम गौतम

A tax evasion case has been filed against a trader who brought sugar as rice, demanding a fine of Rs 7 crore

बुटवल — राजश्व अनुसन्धान कार्यालय बुटवलले चामलको भन्सार कागज बनाएर भारतबाट चिनी ल्याएर बिक्री गर्ने नवलपरासीका दुई व्यापारीलाई बिगोसहित झन्डै ७ करोड रुपैयाँ जरिवाना माग गर्दै मुद्दा दायर गरेको छ।

कार्यालयले पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–८ स्थित नवज्योति ट्रेडर्सका सौरव यादव र उक्त पसलबाट चामल भनी भन्सार छलेर ल्याएको चिनी खरिद गर्ने आगमन स्टोर्स एन्ड अर्डर सप्लायर्सकी संचालक पुष्पा शर्मालाई कर छली गरेको अभियोगमा बुधवार उच्च अदालत तुलसीपुर इजलासमा मुद्दा दायर गरेको हो ।

कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेका अनुसार राजस्व चुहावट सम्बन्धी कसुरमा सामान बिक्री गर्ने र राजश्व छली गरी ल्याउने नवज्योति ट्रेडर्सका प्रोप्राइटर सौरभ यादव, सामान खरिद गर्ने आगमन स्टोर्सका शर्मा र उनीहरूलाई सहयोग गर्ने अन्य दुई जनासमेत गरी४ जना विरुद्ध राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ (संशोधन सहित) को दफा २०(६) बमोजिम मुद्दा दायर भएको हो । 

‘बिक्रेता यादवले .५० लाख भन्दा बढी रकमको करयोग्य वस्तुको बिक्री गरेको तर, मुल्यअभिबृद्धि करमा दर्ता नभएको अनुसन्धानबाट देखिएको छ,’ उनले भने, ‘त्यो बाहेक पटक पटक चामलको बिल बनाई अवैध रूपमा भन्सार चोरी पैठारी गरी ल्याएको भारतीय चिनीको कारोबार गरेको पनि अनुसन्धानमा खुलेकाले मूल्य अभिवृद्धि कर र भन्सार चोरी पैठारी तर्फ बिगो ३ करोड ४७ लाख  ६२ हजार ७ सय ५३ रुपैयाँ र सोही अनुसारको शतप्रतिशत जरिवाना कायम गरी झन्डै ७ करोड बराबरको मुद्दा दायर भएको छ ।’ उनले करदाता यादवले राजस्व चुहावट २०५२ को दफा ३ विपरीत र दफा ४ को उपदफा (क), (ख), (च) र (झ) बमोजिम कसुर गरेको बताए । 

त्यस्तै सामान खरिद गर्ने पुष्पा शर्मालाई भन्सार चोरी पैठारी तर्फको ११ लाख ७१ हजार ५ सय बिगो कायम गरी त्यसको शतप्रतिशत जरिवाना र उनलाई प्रत्यक्ष सहयोग गर्ने हिकमतप्रसाद आचार्यलाई आधा सजाय मागदावी र अर्का प्रतिवादी विनोद थापालाई राजस्व चुहावटको कसुरमा संलग्नता रहेको पुष्टि भएकोले राजस्व चुहावट ऐन, २०५२ को दफा ३३ (३) को कसुरमा सोही दफा ३३(३) बमोजिम नै जरिवाना गर्ने मागवादीसहित मुद्दा दायर गरिएको विभागका प्रवक्ता एवं उपमहा निर्देशक कृष्णकुमारी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully