पाल्पा — पाल्पामै पहिलो पटक बुधबार हुमीन मार्सीडाँडामा प्रथम कोदो रोपाइँ महोत्सव सम्पन्न भएको छ ।
‘परम्परागत तथा रैथाने बाली प्रवर्द्धन, हाम्रो अभियान’ भन्ने मुल नाराका साथ सम्पन्न महोत्सवमा हुमीन, ताहुँ, पिपलडाँडा लगायतका किसानको सहभागिता रहेको थियो । ‘यस वर्ष सांकेतिक रूपमा महोत्सव आयोजना गरेको हो,’ रम्भा गाउँपालिका–४, हुमीनका वडाध्यक्ष कृष्ण बहादुर रायमाझीले भने, ‘यसलाई आगामी वर्षमा निरन्तरता दिइनेछ । तयारीका साथ अझ बृहत् महोत्सव गर्ने योजनामा छौँ ।’
हुन त रैथाने बाली प्रवर्द्धनका लागि संघीय, प्रदेश र स्थानीय सरकारका नीति तथा कार्यक्रममा नसमेटिने होइन । तर बजेट भने अत्यन्तै न्यून विनियोजन हुने गर्छ । रैथाने बालीहरू लोप हुँदै जाँदा कतिपय स्थानीय तहले संरक्षणको प्रयास गर्दै आएका छन् । ‘हामीले तीन वर्षदेखि नै रैथाने बाली संरक्षण अन्तर्गत कोदो, धानमा अनुदानसमेत दिइने गरेको छ,’ रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले भने, ‘यसबाट किसानमा थप उत्साह बढेको छ ।’ उनका अनुसार गाउँपालिकाले तीन वर्षदेखि रैथाने बाली अन्तर्गत कोदो खेती प्रवर्द्धनलाई जोड दिएको छ ।
पालिका तथा वडाले पोषणयुक्त र स्वास्थ्यकर अन्नबालीका रूपमा लिइने कोदो खेती प्रवर्द्धनका कार्यक्रमलाई जोड दिँदै आएको छ । वडाले छुट्टै बजेट विनियोजन गरेर कोदो खेती प्रवर्द्धनका कार्यक्रम गर्दै आएका छन् । ‘कोदो पछिल्लो समय सहरका भान्सामा बढ्दै गएको छ,’ गाउँपालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठले भनिन्, ‘स्वास्थ्यकर भएकाले पनि रोटी, ढिँडो लगायत विभिन्न परिकार बनाएर कोदोलाई प्रयोग गरेको पाइएको छ ।’
तर पनि पछिल्ला वर्ष किसानले कोदो लगाउनै छाडेका छन् । खाद्यान्नमा आत्मनिर्भर गराउन सहयोग पुर्याउने कोदो १५/२० वर्ष अघिसम्म प्रत्येक किसानले लगाउने गर्थे । तर पछिल्ला वर्ष यसको महत्त्व बिर्सँदै जाँदा किसानको बारी बाँझैसमेत हुन थालेको छ । दुई वर्ष अघिदेखि रम्भा गाउँपालिकाले सबै वडामा रैथाने बाली अन्तर्गत कोदोमा अनुदान दिन सुरु गरेको छ । यस वर्ष रैथाने बाली प्रवर्द्धनलाई प्रचारप्रसार गर्न साथै कोदोको महत्त्व बुझाउन कोदो रोपाइँ महोत्सव आयोजना गरेको प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले बताए ।
जिल्लाकै अधिकांश स्थानमा केही वर्ष अघिसम्म दुई/चार मुरी कोदो नफलाउने कमै हुन्थे । पछिल्ला वर्ष कोदो लगाउने भेटिन मुस्किल हुँदै गरेको अवस्थामा कोदो रोपाइँ महोत्सवले सकारात्मक सन्देश दिएको छ । वैदेशिक रोजगार मोहले काम गर्ने मान्छे नहुने, रेमिट्यान्सको भरपर्दा अल्छीपना हुने भएकाले कोदो बाली लगाउन छाडेको रम्भा गाउँपालिकाका कार्यपालिका सदस्य भोजबहादुर विकले बताए । कोदो लगाउनै छाडेकाले यसलाई प्रवर्द्धन, प्रचारप्रसार गर्नुपर्छ भनेर नै कोदो रोपाइँ महोत्सव नै राखिएको उनले बताए ।
रैथाने बाली उत्पादन कम हुन्छ तर प्रवर्द्धनमा सरकारी अनुदान नहुँदा लगाउन छाडेका हुन् । परम्परागत शैलीमा स्थानीय जातको बिउ प्रयोग गरी घुसुवा बालीका रूपमा लगाइने कोदो प्रायजसो सबै गाउँ बस्तीमा पछिल्ला पुस्ताले लगाउनै छाडेको रम्भा गाउँपालिका–४, हुमीन बग्चौरका मिलन काफ्लेले बताए । खाद्यान्नका लागि आटो, ढिँडो, रोटीका रूपमा प्रयोग गरिने कोदो अहिले खानाका परिकार बदलिन थालेपछि लगाउनै छाडेको उनले बताए ।
‘पछिल्लो समय यस्ता रैथानी बालीलाई संरक्षण गर्नपर्छ भन्नेमा किसान पनि पुगेका छन्,’ उनले भने । महिलाहरू समूहमा आबद्ध हुने र सामूहिक तथा व्यक्तिगत तवरबाट कोदो खेती गर्न जुटेका छन् । अनुदानले गर्दा पनि धेरैलाई उत्साह जगाएको छ । संघीय र प्रदेश सरकारले भने घोषणा गरेका कार्यक्रम तल्लो तहसम्म नै आइनपुग्ने भएकाले पनि किसानले कोदो लगाउन छाडेका थिए । ‘पहिले पहिले धेरै कोदो रोपिन्थ्यो तर बीचमा भने लगाउनै छाडियो,’ हुमीन मार्सिडाँडाकी सविता सूर्यवंशी मगरले बताइन्, ‘अहिले पालिकाले अनुदान दिन थालेपछि खेताला लगाएर पनि कोदो रोप्न थालिएको छ । अर्को वर्ष अझ धेरै लगाइनेछ ।’
रम्भा गाउँपालिकाले रैथाने बाली प्रवर्द्धन अन्तर्गत कोदोलाई प्रति रोपनी ३ हजार अनुदान दिने गरेको छ । उत्पादनमा आधारित अनुदान अन्तर्गत कोदोका साथै पुराना रैथाने धानहरू अनदी, झिनुवा बालीलाई ३ हजार, बर्मेलीलाई २ हजार अनुदान दिने गरेको गाउँपालिकाले जनाएको छ । तीन वर्षदेखि हरेक वर्ष ४ लाखका दरले अनुदान वितरण गरेको छ । पाल्पामा अघिल्लो वर्ष ३ हजार ७ सय ६२ मेट्रिक टन कोदो उत्पादन भएकामा चालु आर्थिक वर्षमा ३ हजार ५ सय ६१ टन उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्यांकमा उल्लेख छ ।
