बर्दिया — लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–२, फुटाहास्थित ४ नम्बर चोकबाट लागूऔषधसहित उनीहरूलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका–७, पेडरीका २४ वर्षीय सरोजकुमार चौधरी र भारत, बहराइच जिल्ला, मोतिपुर थाना, बलईगाउँका १८ वर्षीय रवि चौधरी रहेका छन् । दुवै जना बलईगाउँ बजारबाट नेपालतर्फ आइरहेको अवस्थामा नियन्त्रणमा लिई चेकजाँच गर्दा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।
उनीहरूले लुकाईछिपाई राखेको ४ ग्राम ७० मिलिग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ फेला परेको प्रहरीको दाबी छ । दुवै जनालाई नियन्त्रणमा लिई मंगलबार अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिएका छन् ।
