कपिलवस्तुका तीन पालिकाले ल्याएनन् बजेट

असार १०, २०८२

मनोज पौडेल

Three municipalities of Kapilvastu did not bring the budget

कपिलवस्तु — जिल्लाका शुद्धोधन, विजयनगर र मायादेवी गाउँपालिकाले बाहेक ७ स्थानीय तहले बजेट सार्वजनिक गरेका छन् । मायादेवी गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ भने अन्य दुईले नीति कार्यक्रम र बजेट सार्वजनिक गर्न नसकेका हुन् ।

शुद्धोधनका वडाध्यक्षहरूले तयारी नपुगेको भनेर समय मागेकाले निर्धारित मितिमा गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट आउन नसकेको अध्यक्ष कमलेशशरण चौधरीले बताए । अब साता १० दिनमा बजेट ल्याउने उनले बताए । त्यस्तै विजयनगर गाउँपालिकाले गाउँसभाका लगि सबैलाई बोलाए पनि दुई पक्षबीच बजेट बाँडफाँटको विषयलाई लिएर विवाद हुँदा सोमबार साँझ ७ बजेसम्म अधिवेशन हुन सकेको छैन । 

मायादेवी गाउँपालिकाले बजेट ल्याउन नसकेर नीति तथा कार्यक्रममात्र सार्वजनिक गरेको हो । असार २५/२६ सम्म बजेट ल्याउने गाउँपलिका अध्यक्ष बलीउद्दिन मुसलमानले बताए ।

जिल्लाका १० स्थानीय तहमध्ये ७ वटाले ०८२/८३ को बजेट र नीति तथा कार्यक्रम ल्याएका छन् ।

बुद्धभूमि नगरपालिकाले १ अर्ब २२ करोड २२ लाख र शिवराज नगरपालिकाले १ अर्ब ३४ करोड ७८ लाखको बजेट ल्याएका छन् । त्यस्तै कपिलवस्तु नगरपालिकाले १ अर्ब २३ करोड ८४ लाख र कृष्णनगर नगरपालिकाले ७६ करोड ७६ लाखको बजेट ल्याएका छन् ।

त्यसैगरी, महाराजगन्ज नगरपालिकाले १ अर्ब ९ करोड र यशोधरा गाउँपालिकाले ५० करोड ४४ लाखको बजेट ल्याएका छन् । त्यस्तै वाणगंगा नगरपालिकाले १ अर्ब ७६ करोड ८० लाखको बजेट सार्वजनिक गरेको छ ।

मनोज पौडेल

Link copied successfully