गुल्मीका १२ वटै पालिकाद्वारा बजेट सार्वजनिक

असार १०, २०८२

सन्तोष महतारा

Budget released by all 12 municipalities of Gulmi

गुल्मी — यहाँका १२ वटै पालिकाद्वारा बजेट सार्वजनिक गरिएको छ । दुई नगरपालिका र १० गाउँपालिका रहेकामा सबै पालिकाले मंगलबारसम्म आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सार्वजनिक गरेका हुन् ।

सदरमुकाम तम्घासस्थित रेसुङ्गा नगरपालिकामा नगर प्रमुख खिलध्वज पन्थीले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट सार्वजनिक गरेका हुन् ।  रेसुङ्गाले कुल ६७ करोड २१ लाख १० हजार बराबरको बजेट सार्वजनिक गरेको छ ।

इस्मा गाउँपालिकाले सोमबार नै बजेट सार्वजनिक गरेको थियो । गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले बजेट घोषणा गर्दै कुल ४९ करोड ५२ लाख ३७ हजार बराबरको बजेट सार्वजनिक गरेकी थिइन् ।

जिल्लाको मुसिकोट नगरपालिकाले जिल्लाकै सबैभन्दा ठूलो ७० करोड १४ लाख ७८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । त्यस्तै गाउँपालिकाअन्तर्गत सबैभन्दा बढी मालिका गाउँपालिकाले ६१ करोड ८० लाख ८७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ ।  

त्यस्तै धुर्कोट गाउँपालिकाले कुल ६० करोड ५१ लाख ४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मदानेले ५४ करोड ९४ लाख, गुल्मीदरबारले ५६ करोड ३८ लाख ४० हजार, छत्रकोटले ५८ करोड ८५ लाख  १६ हजार, रुरुक्षेत्रले ५५ करोड ६६ लाख १९ हजार, कालीगण्डकीले ५७ करोड २ लाख ६३ हजार, सत्यवतीले ५७ करोड ६५ लाख ८५ हजार र चन्द्रकोटले ५६ करोड २६ लाख ७२ हजार रुपैयाँ बराबरको बजेट ल्याएका छन् । यी पालिकामा उपप्रमुख तथा उपाध्यक्षले बजेट सार्वजनिक गरेका हुन् ।

पालिकाहरूले सार्वजनिक गरेको नीति तथा कार्यक्रम अनुसार बजेट सार्वजनिक गरेका हुन् । शिक्षातर्फ चार जीपीए ल्याउनेलाई एक लाखदेखि एक लाख ५१ हजार रुपैयाँ पुरस्कारदेखि कृषितर्फ किसान उत्प्रेणा, बजारीकरण हुँदै अघिल्ला वर्षका जनमुखी नीति तथा कार्यक्रम अनुसारको बजेटलाई निरन्तरता दिएका छन् । 

नयाँ जनप्रतिनिधिको पहिलो र दोस्रो कार्यकालमा महत्त्वाकांक्षी नीति तथा कार्यक्रम ल्याएर बजेट कम विनियोजन गर्दै कार्यान्वयनमा चुकेका पालिकाहरूले यस वर्ष यथार्थमा आधारित भएर बजेटमा कार्यक्रम अगाडि बढाउने प्रयास गरेका छन् ।

सन्तोष

Link copied successfully