बुटवल उपमहानगरपालिकाको बजेट ३ अर्ब ३६ करोड

असार ९, २०८२

घनश्याम गौतम

The budget of Butwal sub-metropolitan city is 3 billion 36 crores

बुटवल — बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/२०८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सोमबार बसेको नगरसभाको सत्रौं अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै चालु तर्फ ४९ प्रतिशत र पुँजीगत तर्फ ५१ प्रतिशत बजेट रहने अनुमान प्रस्तुत गरेकी छन्।

सोमबार नगरसभाको सत्रौं अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख अर्यालले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत र पूँजीगततर्फ ५१ प्रतिशत रहने अनुमान सुनाइन् ।

उपमहानगरले आन्तरिक स्रोततर्फ आगामी वर्षका लागि ९५ करोड आय हुने अनुमान गरेको छ । उपमहानगरपालिकाले शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिएर बजेट ल्याएको छ। कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई सहभागी गराइ ‘पढाइसँगै रोजगार सिर्जना गरौं, युवालाई देशमै बस्ने परिस्थिति निर्माण गरौं’ भन्ने उद्देश्यका साथ ट्राफिक व्यवस्थापनमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई खटाउने कार्यक्रमलाई बुटवलले प्राथमिकता दिएको छ । जसका लागि ५० लाख रूपैयाँ विनियोजन गरिएको उपप्रमुख अर्यालले बताइन ।

यस्तै, ‘बुटवलको सपना, निजी क्षेत्रसँगको सहकार्यमा बुटवलको समृद्धिको परिकल्पना’ भन्ने मर्मसहित निजी क्षेत्रसँग सहकार्य गरी कार्यक्रम सञ्चालनका लागि १ करोड विनियोजन गरिएको छ । बुटवललाई पर्यटकीय विश्रामस्थलका रूपमा स्थापित गर्नका लागि पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न ५० लाख र बुटवललाई सांस्कृतिक शहर बनाउनका लागि १ करोड १५ लाख रूपैयाँ बजेट छ । 

विद्यालयको सुधार र न्यूनतम् मापदण्ड पूरा गर्नका लागि ६ करोड, कृषि सुधार कार्यक्रम अन्तर्गत ‘बुटवलका किसान, हाम्रो सान’ कार्यक्रमका लागि १ करोड,  छात्राहरूलाई निःशुल्क अध्ययनको व्यवस्था मिलाउने कार्यक्रम ‘छोरी पढाऔं’ कार्यक्रमका लागि ५० लाख, विपन्न वर्गका बालबालिकाको पोशाक र शैक्षिक सुधारका लागि ३० लाख, सामुदायिक विद्यालयमा डिजिटल लर्निङ पोर्टल र कम्प्युटर शिक्षा सुधारका लागि १ करोड, स्थानीय पाठ्यक्रमलाई सुधार गर्ने कार्यका लागि ७० लाख बजेट छुट्याइएको छ ।

यस्तै, जेष्ठ नागरिक र असहायलाई घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउने कार्यक्रम ‘बाआमासँग नगर प्रमुख’ लाई निरन्तरता दिइएको छ । यसका लागि ९० लाख, महिलाहरूको पाठेघर, स्तन क्यान्सर, भिडियो एक्सरे र अन्य स्वास्थ्य परीक्षणका लागि ३० लाख, बुटवल १३ र १७ मा निर्माण भएका अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि ६० लाख बजेट छुट्याइएको छ । 

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully