‘धुर्कोटे चामल’ बजारमा, २५ सयमा २५ किलोको बोरा

असार ४, २०८२

सन्तोष महतारा

In the 'Dhurkote Rice' market, a bag of 25 kg for 2500

गुल्मी — स्थानीय ‘धुर्कोटे चामल’ बजारमा आएको छ । धुर्कोट गाउँपालिका–६ सितुङका मेघनाथ अर्यालले अर्याल खाद्यान्न प्रशोधन तथा प्याकेजिङ उद्योगमार्फत ब्रान्डिङ, लेबलिङ, ग्रेडिङ र प्याकेजिङ गरी सोमबारदेखि औपचारिक रूपमा ‘धुर्कोटे चामल’ बजारमा ल्याएका हुन् ।

२५ किलोग्रामको बोरामा प्याक गरिएको चामल प्रतिकिलोग्राम सय रुपैयाँका दरले जम्मा दुई हजार पाँच सय रुपैयाँ पर्नेछ । आफ्नै ७२ रोपनी र भाडामा लिएर २८ रोपनी क्षेत्रफलमा धान खेती गरेका अर्यालले गत मंसिरमा चार सय मुरी धान उत्पादन गरेका थिए ।

त्यसपछि उनले धानलाई प्रशोधन, ब्रान्डिङ, लेबलिङ, ग्रेडिङ र प्याकेजिङ गरी बजारमा ल्याउने सोच बनाएको बताए । ‘व्यावसायिक रूपमा धान खेती गर्दा उत्पादन पनि राम्रै भयो,’ उनले भने, ‘पहिचानका लागि मापदण्ड पूरा गरेर चामल बजारमा ल्याउन सफल भएँ ।’ उनले उत्पादन मात्र नभई पहिचानसहितको गुणस्तरीय चामल बजारमा ल्याएको बताएका छन् ।

अर्यालको उद्योगमा हाल बजारका लागि १० क्विन्टल चामल तयार रहेको छ । माग भएमा उनले हालका लागि सय क्विन्टल चामल बजारमा पुर्‍याउने छन् । यस वर्षको अब लगत्तै सय रोपनी क्षेत्रफलमा अर्यालले धान रोप्ने तयारी गरेका छन् । प्याकेजिङ प्रविधि, लेबल डिजाइन र बजार रणनीति निर्माणसहित नापतौल तथा गुणस्तर विभागलगायतबाट मान्यता प्राप्त गरेको ‘धुर्कोटे चामल’ सबै मापदण्ड पूरा गरेपछि बजारमा आएको हो ।

धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले स्थानीय ‘धुर्कोटे चामल’ पालिकाको गौरवपूर्ण उत्पादन भएकाले यसलाई थप प्रोत्साहन गर्ने बताए । ‘व्यावसायिक खेतीले किसानसँगै पालिकालाई पनि माथि उठाउँछ,’ उनले भने, ‘वहाँ (मेघनाथ) जस्ता किसान हाम्रा उदाहरणीय पात्र हुन् ।’ उनले यसरी अगाडि बढ्ने किसानलाई पालिकाले थप प्रोत्साहनसहितको हौसला प्रदान गर्ने बताए । सोमबार मात्रै धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले धान खेतीमा उत्कृष्ट किसान मेघनाथ अर्याललाई ‘उत्कृष्ट किसान’का रूपमा नगद ६७ हजार रुपैयाँ राशिको पुरस्कारले सम्मान गरेका छन् ।

अर्यालले व्यावसायिक रूपमा भैंसीपालन समेत गरेका छन् । रोजगारीको सिलसिलामा कोरियामा समेत काम गरेका अर्याल कोरोना महामारीपछि बुटवलबाट गाउँ फर्किएका थिए । उनको फर्ममा ४२ वटा भैंसी छन्, जसबाट दैनिक सय लिटर दूध उत्पादन भइरहेको छ । तीन वर्षअघि एक करोड बढी लगानीमा सुरु गरिएको उनको फर्ममा २० जनाले रोजगार पाएका छन् ।

अर्यालले आगामी वर्षदेखि कोदो र मकैलाई पनि ब्रान्डिङ, लेबलिङ, ग्रेडिङ र प्याकेजिङ गरी बजारमा ल्याउने सोच रहेको बताए ।

सन्तोष महतारा

Link copied successfully