पूर्वगोर्खाले बनाइदिए भूमे मञ्च

रुकुमको लुगुम गाउँमा १ जेठदेखि हरेक दिन साँझ भूमे नाच्ने र १ असारमा ‘भूमे देवता’ को पूजा गर्ने चलन छ, पूर्वसैनिक वीरप्रसाद घर्तीमगरले ५० लाख खर्चेर यही ठाउँमा सार्वजनिक मञ्च बनाइदिएका हुन् 

असार ३, २०८२

महेश केसी

The platform was built by the pre-Gorkhas

रुकुम पूर्व — मध्यपहाडी लोकमार्ग भएर बागलुङतर्फबाट रुकुम पूर्व प्रवेश गरेलगत्तै पुगिन्छ लुगुम गाउँ । स्थानीय भाषामा ‘लुगुम’ भनिने यो गाउँलाई सरकारी अड्डाले भने ‘लकुम’ भनेर चिन्छ । पक्की तथा फराकिलो सडकको छेउमा रहेको गाउँको नजिकै नाचीमा पूर्वगोर्खा सैनिक वीरप्रसाद घर्ती मगरले झन्डै ५० लाख रुपैयाँ खर्चेर ठूलो मञ्च बनाइदिएका छन् । 

भूमे स्थानीय मगर समुदायको ठूलो चाड हो । १ जेठदेखि हरेक साँझ भूमे नाच्ने र १ असारमा ‘भूमे देवता’ को पूजा गरिन्छ । त्यसपछिको एक सातासम्म मनाइने यो चाडमा लुगुम गाउँको नाच्ने स्थानलाई ‘नाची’ भनिन्छ । 

यही नाचीमा घर्तीले आफ्नै खर्चमा नाच्न मिल्ने र नाच हेर्न मिल्ने मञ्च बनाइदिएका हुन् । घर्तीले बनाइदिएको मञ्चलाई ‘भूमे मञ्च’ नामकरण गरिएको छ । 

घर्तीले १७ वर्ष (२०४५ देखि २०६२ सम्म) बेलायतको गोर्खा पल्टनमा र १२ वर्ष (२०६८ देखि २०८० सम्म) बेलायती सेनामा बिताए । बेलायतमा रहँदा नै उनले पैसा पठाएर भूमे नाच्ने ठाउँलाई फराकिलो बनाउने काम सुरु गराएका थिए । ‘म बेलायतमा रहँदा त्यहाँको मिनाक थियटरको डिजाइन मन पर्‍यो । अनि यस्तै डिजाइनमा नाचीलाई विकास गर्ने सोच बनाएर काम सुरु गरें । पहिला १५/१६ लाखको अनुमान थियो, सोच र योजना पनि फराकिलो बन्दै गएपछि काम र बजेट दुवै बढ्यो,’ उनले भने, ‘यो मञ्चमा रेलिङसहित जम्मा १७ वटा खुड्किला छन् । खासगरी भूमे नाचिने भएकाले यसको नाम नै हामीले भूमे मञ्च राखेका छौं ।’

छेउको जारी खोलाबाट आएको पानीलाई सदुपयोग गरेर यो मञ्चको तलपट्टि सानो झरना जस्तो बनाएर कपडा धुन र नुहाउन मिल्ने धारासमेत बनाइएको छ । यसले स्थानीयलाई सहज भएको छ । काम सुरु गरेको झन्डै ३ वर्षसम्म आइपुग्दा हालसम्म करिब ९० प्रतिशत काम भएको र अब रंगरोगनको काम मात्र बाँकी छ । मञ्चको उत्तरपश्चिमतर्फ लुगुम गाउँ छ भने, उत्तर पूर्वतर्फ सिउखार पार्क रहेको छ । करिब सय वर्ष पुराना अग्ला धुपी सल्लाको सानो वन नै सिउखार पार्क हो । 

घर्तीले मञ्चबाट उक्त पार्क हुँदै मध्यपहाडी लोकमार्गसम्म जाने बाटो पनि निर्माण गरिदिएका छन् । जसले गर्दा आवतजावतमा पनि सहज भएको स्थानीय दिलचन बुढा घर्तीले बताए । ‘पहिला त यहाँ नाच्ने ठाउँ साँघुरो र सामान्य थियो । अब भने यस्तो राम्रो भयो । यहाँको यो कामले मौलिक संस्कृतिलाई संरक्षण गर्न ठूलो टेवा पुगेको छ ।’ 

व्यक्तिगत रूपमा यति ठूलो लगानी गरेर संरचना निर्माण गरिदिने घर्तीको परिवार भने अहिले पनि बेलायतमै बस्छ । श्रीमती र दुई छोरामध्ये जेठो छोरा बेलायती सैनिकमा भर्ती भएका छन् भने कान्छो छोरा उतै पढाइ सकेर जागिर गरिरहेको उनले बताए । घर्ती भन्छन्, ‘बेलायती सेनाबाट रिटायर्ड भएर नेपाल आएपछि उता गएकै छैन । यही कामले गर्दा पनि गाउँमै छु । अब जन्मभूमिमा रहेर गाउँठाउँको सेवा गर्दै रमाउने सोच छ, हेरौं समयले कता लैजान्छ ।’

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully