पुरानै लयमा फर्किँदै रेसुङ्गा बहुमुखी क्याम्पस

असार २, २०८२

सन्तोष महतारा

Resunga Multipurpose Campus getting back to the old rhythm

गुल्मी —  तीन वर्ष पहिले आर्थिक संकटकाल घोषणा गर्न बाध्य बनेको रेसुङ्गा बहुमुखी क्याम्पसले पुरानै लय समात्न थालेको छ। २०७९ साउन ३० गते क्याम्पसको आर्थिक अवस्था र विद्यार्थी भर्ना दर न्यून भएपछि तत्कालीन अवस्थामा आर्थिक संकटकाल घोषणा गरेको तम्घासस्थित यस क्याम्पसले रेसुङ्गा नगरपालिकाको आर्थिक सहयोग र प्राध्यापक तथा कर्मचारीको कटौतीपछि क्याम्पस पुरानै लयमा फर्किन थालेको हो।

आर्थिक समस्याबाट क्याम्पस ग्रसित बनेपछि रेसुङ्गा नगरपालिकाले १ करोड रुपैयाँ दुई चरणमा गरी सहयोग गरेको थियो। साथै नगरपालिकाले यस वर्ष स्नातक तह प्रथम वर्षमा अध्ययन गर्ने विद्यार्थीलाई भर्ना बापतको प्रति विद्यार्थी ५ हजार रुपैयाँ र चमेना गृहलाई १० लाख रुपैयाँ सहयोग गरेपछि क्याम्पस पुरानै लयमा फर्किन थालेको रेसुङ्गा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले जानकारी दिए।

सञ्चालक समितिले विद्यार्थी संख्या र अनुपात तथा विषयगत प्राध्यापकलाई आवश्यकताका आधारमा कटौती गर्ने निर्णय गरेको थियो। उक्त निर्णयबाट ७ प्राध्यापक र २ कर्मचारी गरी ९ जना पहिलो चरण र ४ जना कर्मचारीलाई दोस्रो चरणमा कटौती गरिएको थियो। जसबाट मासिक ७ लाख रुपैयाँभन्दा बढीको आर्थिक भार घटेको सञ्चालक समितिका अध्यक्ष भलामीले बताए।

क्याम्पसलाई आर्थिक संकटकाल घोषणा गरेर सञ्चालक समितिले नीतिगत सुधारसँगै महत्वपूर्ण निर्णय गरेको छ। क्याम्पसमा हाल विद्यार्थी संख्या बढेको छ। यसअघि स्नातक र स्नातकोत्तर तहमा ७ सय १९ जना विद्यार्थी रहेकोमा हाल ७ सय ३१ जना विद्यार्थी रहेको रेसुङ्गा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख सूर्य उपाध्यायले जानकारी दिए।

क्याम्पसमा कुल दायित्व ३ करोड ३६ लाख ८९ हजार रहेकोमा क्याम्पसले आर्थिक संकटकाल घोषणा गरेर प्राध्यापक कर्मचारी कटौती र नगरपालिकाले आर्थिक सहयोग गरेपछि १ करोड १३ लाख ८६ हजार मात्रै रहेको छ। सबैको हितमा नभए पनि क्याम्पसको मात्रै हितमा हुने गरी जोखिमै मोलेर निर्णय गरेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष भलामीले बताए। ‘हामी व्यवस्थापन समिति होइन, सञ्चालक समिति हौँ,’ उनले भने, ‘पाएको सबै अधिकार प्रयोग गरेर क्याम्पसले पुरानै गति दिन खोजेका छौँ।’ क्याम्पसले हाल दिगो व्यवस्थापनका लागि आजीवन सदस्यहरू थप गरिरहेको छ।

गुल्मीकै शैक्षिक धरोहरका रूपमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पस आर्थिक अवस्थामा पीडित बनेपछि स्थानीय सरकारले अनुभूति दिलाउन आर्थिक सहयोग गरेर क्याम्पसलाई पुनःजीवन दिएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए। ‘हाम्रो शैक्षिक धरोहर बचाउने जिम्मेवारी हाम्रै हो,’ उनले भने, ‘क्याम्पसलाई माथि उकास्न नगरले आर्थिक सहयोग गरेको हो।’

नगरपालिका प्रमुख पन्थीले क्याम्पसलाई दुई चरणमा एक करोड, चमेना गृह निर्माणमा १० लाख र हाल स्नातक प्रथम वर्षमा भर्ना हुने विद्यार्थीलाई प्रति विद्यार्थी ५ हजार रुपैयाँ सहयोग गरेको छ। जसअन्तर्गत २ सय ६ जना विद्यार्थी भर्ना भएका छन्। जसबापतको रकम विद्यार्थीले छुट पाएका छन्। उक्त रकम क्याम्पसलाई नगरपालिकाले प्रदान गर्नेछ। 

सन्तोष महतारा

Link copied successfully