तुलसीपुरमा गोठ जल्दा लाखौंको क्षति, १६ पशुचौपाया मरे

असार २, २०८२

दुर्गालाल केसी

In Tulsipur cow shed, loss of lakhs, 16 cattle died

दाङ — तुलसीपुर उपमहानगरपालिका-७, घुसेरी निवासी सागर पौडेलको गाईवस्तु बाँध्ने गोठमा आइतबार राति आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ । टिनले छाएको दुईतले कच्ची गोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ।

आगलागीमा परेर गोठमा बाँधिएका २ वटा भैंसी, ३ वटा खसी, १ वटा बाख्रा र १० वटा कुखुरा जलेर मरेका छन् । आगलागीबाट करिब १० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

घटनाको जानकारी पाउनासाथ अस्थायी प्रहरी पोष्ट पर्सेनिबाट प्रहरी सहायक निरीक्षक देविलाल अधिकारीको कमान्डमा ४ जनाको टोली घटनास्थलमा खटिएको थियो । दमकल, प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा आगो  नियन्त्रणमा आएको थियो । 

आगलागीको कारण खुल्न नसकेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully