डबका गाउँमा काँक्राबाट दुई महिनामा भित्रिन्छ ३० घर परिवारमा करोड

कोभिडको लकडाउनमा सुरु भएको तरकारी खेतीले निरन्तरता पाएको छ भने वर्षमा सबै तरकारी बालीबाट एक वर्षमा झन्डै ३ करोड गाउँमा भित्रिने गरेको छ ।

असार २, २०८२

माधव अर्याल

In the village of Dabka, 30 crore families get income from cucumbers in two months

पाल्पा — पाल्पाको रिब्दीकोट गाउँपालिका–७, पालुङ मैनादी डबकाकी सीता कुँवरलाई काँक्रो बजार पठाउने हतारो थियो । चार जना खेतालासँगै बारीमा खटिएकी कुँवर काँक्रो टिप्ने, संकलन गर्ने, तौल लिने र प्लास्टिकमा राखेर बजार पठाउने काममा व्यस्त थिइन्। वैशाखको दोस्रो सातादेखि असारको दोस्रो सातासम्म यस्तै व्यस्तता रहन्छ ।

गत वर्ष ६३ क्विन्टल काँक्रो बिक्री गरेर ५ लाखभन्दा बढी आम्दानी गरेको उनले बताइन् । यस वर्ष पनि ५८ क्विन्टल काँक्रो बजार पठाइसकिन् । अझै २० देखि २५ क्विन्टल काँक्रो बजार पठाउन सकिने अपेक्षा छ । भाउ कमै भए पनि दुई महिनामा ५ लाख ५० हजार रुपैयाँभन्दा बढीको बिक्री गर्ने योजना उनले बनाएकी छन्। ‘गत वर्ष भाउ राम्रो पाएका थियौँ’, उनले भनिन्, ‘यस वर्ष धेरै लगाएकी छु तर भाउ सस्तोमै बिक्री गर्नु परेको छ ।’

गत वर्ष ७० देखि ७५ रुपैयाँ प्रतिकेजी थोकमा पठाएको बताउँदै यस वर्ष ५५ देखि ६५ रुपैयाँ प्रतिकेजीमा बिक्री गरेको जानकारी दिइन् । घरको जग्गाबाहेक २५ रोपनी जग्गा लिजमा लिएर तरकारी खेती गर्दै आइरहेकी छन् ।

In the village of Dabka, 30 crore families get income from cucumbers in two monthsडबकाकै कमला कुँवरले पनि गत वर्ष ५ लाख रुपैयाँभन्दा बढीको काँक्रो बिक्री गरेकी थिइन् । यस वर्ष हालसम्म ३ लाख ५० हजार रुपैयाँभन्दा बढीको काँक्रो बिक्री गरिसकेकी छन् । अर्जुन कृषि तथा पशुपन्छी फार्म सञ्चालनमा रहेको र हाल प्रगति उद्यमी महिला कृषक समूहमा आबद्ध रहे पनि व्यक्तिगत रूपमा काँक्रो लगाउने गरेकी छन् ।

‘यस वर्ष काँक्रोको भाउ खासै पाइएको छैन,’ उनले भनिन्, ‘तर अघिल्लो वर्षभन्दा धेरै लगाएको छु।’ गत वर्ष ७३ क्विन्टल काँक्रो बिक्री भएको र यस वर्ष अहिलेसम्म ६५ क्विन्टल काँक्रो बजार पठाइसकेकी बताइन् । अझै २० क्विन्टलभन्दा बढी निकासी गर्न सक्ने उनको अनुमान छ ।

सीता र कमलासहित पालुङमैनादी डबकाका ३० घरपरिवारका महिलाले काँक्रो खेती गर्दै आएका छन् । चार वर्षअघि बजार भाउ नपाएर हैरानी खेपेको उनीहरूले सम्झन्छन् । हाल गाउँकै कमल कुँवर र हरि बहादुर कुँवरले बजार व्यवस्थापनमा सहयोग गरेकाले पछिल्ला तीन वर्षदेखि राम्रो मूल्य पाउँदै आएका छन् ।

‘चार वर्षअघि ८ देखि १२ रुपैयाँ प्रतिकेजीमा बिक्री गर्नुपरेको सम्झना छ,’ प्रगति उद्यमी महिला कृषक समूहकी अध्यक्ष सीता कुँवरले भनिन्, ‘झन्डै २५ प्रतिशत काँक्रो बारीमै कुहिन्थ्यो । अहिले बजार व्यवस्थापन भएपछि सजिलो भएको छ ।’

In the village of Dabka, 30 crore families get income from cucumbers in two monthsडबकाका किसानले कोभिडको समयमा काँक्रो खेती सुरु गरेका हुन् । निर्वाहमुखी कृषि पेसामा संलग्न किसानले यो सिजनमा गाउँलाई काक्रामय बनाएका छन् । ‘कोभिडका बेला महिला दिदीबहिनी मिलेर सुरु गरेको समूहले अहिले सार्थकता पाएको छ,’ अगुवा किसान सावित्रा कुँवरले भनिन्, ‘अहिले ३० घरका दिदीबहिनीले काँक्रो खेती गरेर लाखौँ आम्दानी गर्न थालेका छन् ।’ सावित्राले एक वर्षमै ५ लाख रुपैयाँभन्दा बढीको काँक्रो बिक्री गरेको बताइन् । वैशाख दोस्रो सातादेखि असार दोस्रो सातासम्म भक्तपुरे लोकल काँक्रो बिक्री हुने गरेको उनले बताइन् । ‘पहिले बोकाएर बतासे (हार्थोक–छहरा सडक) सम्म ल्याउनुपर्थ्यो,’ उनले भनिन्, ‘अहिले सवारीसाधन घरघरमै पुग्ने भएकाले सबै किसानले घरबाटै बिक्री गर्न पाएका छन् ।’

In the village of Dabka, 30 crore families get income from cucumbers in two monthsडबकाकै बसन्ती कार्की कुँवरले ३ रोपनी जग्गामा काँक्रो लगाएर १ लाख २० हजार रुपैयाँभन्दा बढी आम्दानी गरेकी छन् । थोरै जग्गामा धेरै उत्पादन लिन सकेको उनले बताइन् । डबकाका अधिकांश महिलाले कम्तीमा १ लाखदेखि बढीमा ६ लाख रुपैयाँसम्म दुई महिनामा कमाउने गरेको उल्लेख गरिन् ।

गाउँका युवाले बजार व्यवस्थापनमा सघाइरहेका छन् । बजार व्यवस्थापनमा संलग्न कमल कुँवरका अनुसार गत वर्ष ५० लाख रुपैयाँभन्दा बढीको काँक्रो तानसेन, सिद्धार्थ राजमार्ग र बुटवल मण्डीमा बिक्री भएको थियो । यस वर्ष हालसम्म ४० लाख बराबरको काँक्रो बजार पठाइसकेको बताइन् । अझै ३० प्रतिशत काँक्रो बारीमै रहेको जनाएका छन् ।

बजार व्यवस्थापनमा सघाउने अर्का हरिबहादुर कुँवरका अनुसार गत वर्ष ११ लाख रुपैयाँभन्दा बढीको निकासी भएको थियो । यस वर्ष ९ लाख रुपैयाँभन्दा बढीको निकासी भइसकेको र अझै ३० प्रतिशत काँक्रो लैजान बाँकी रहेको बताए ।

यहाँका किसानले बेमौसमी काक्राबाहेक अकबरे खुर्सानी, करेला, सिमी, बन्दा, गोलभेंडा, काउलीजस्ता तरकारी उत्पादनबाट पनि राम्रो आम्दानी गर्दै आएका छन् । गाउँमा प्रशस्त सिँचाइको सुविधा भएकाले डबकाका किसानले मकै, गहुँजस्ता बाली छोडेर तरकारी खेती रोजेका छन् भन्ने स्थानीय अगुवा जीवन कुँवरको भनाइ छ ।

‘विगतमा घर खर्चकै लागि तरकारी खेती गरिन्थ्यो,’ उनले भने, ‘अहिले व्यावसायिक रूपमा लागेपछि आम्दानीसमेत बढेको छ ।’ कोभिडपछि सुरु भएको तरकारी खेतीबाट डबकामा वार्षिक झन्डै ३ करोड रुपैयाँ भित्रिने गरेको पनि उनले बताए । परिवारसँग बसेर तरकारी खेती गर्दा सन्तुष्टि मिल्ने अनुभव सुनाए ।

In the village of Dabka, 30 crore families get income from cucumbers in two monthsरिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीका अनुसार अघिल्लो वर्ष काक्राबाट मात्रै ८१ लाख रुपैयाँको कारोबार भएको रेकर्ड छ । अघिल्लो वर्ष तरकारीका लागि २ रुपैयाँ प्रतिकेजी उत्पादनमा आधारित अनुदान दिइएको जनाए ।

‘किसानलाई सधैं अनुदान दिने भन्दा पनि आफ्नै खुट्टामा उभिन सक्ने बनाउनु पर्छ,’ उनले भने, ‘त्यसैले यस वर्ष उत्पादनमा आधारित अनुदान दिने कार्यक्रम छैन ।’ गाउँपालिकाले चालु आर्थिक वर्षमा २२ हजार रुपैयाँबराबरको भिटामिन अनुदान दिएको र उत्पादनको विशेष क्षतिको अवस्थामा मात्र अनुदान दिने योजना बनाइएको अध्यक्ष कार्कीले बताए ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully