गैँडाको आक्रमणबाट भाँचिएको खुट्टामा हालिएको रड फेर्न आर्थिक अभाव

असार १, २०८२

रामप्रसाद चौहान 

Lack of finances to replace a rod in a leg broken by a rhinoceros attack

बर्दिया — मधुवन नगरपालिका–१ डल्लाकी ५० वर्षीया शंखरी थारुको गैँडाको आक्रमणका कारण करिब १२ वर्षअघि दायाँ खुट्टा भाँचिएको थियो। लेख्न पढ्न नजानेकी थारुलाई गैँडाले आक्रमण गरेको मंसिर महिना मात्र थाहा छ। तर, साल भने ठ्याक्कै थाहा छैन। गैँडाको आक्रमणमा परी भाँचिएको खुट्टा पूर्ण रूपमा निको नहुँदा लामो समयदेखि बैसाखीको सहारामा उनले कष्टकर जीवन बिताउन बाध्य छिन्।

भाँचिएको खुट्टाको शल्यक्रियापछि स्टीलको रड हालिएको थियो। उनलाई डाक्टरले १० वर्षपछि रड फेर्न सुझाएका थिए। तर, डाक्टरले रड फेर्न दिएको समय अवधि पार हुँदासमेत उनले रड फेर्न सकेकी छैनन्। आर्थिक अभावले गर्दा रड फेर्न नसकी खुट्टाको अत्यधिक दुखाइको पीडा लुकाउन बाध्य छिन् उनी। उठ्न, बस्न र हिँड्न उनलाई साह्रै आपत् छ ।

गैँडाले आक्रमण गरेको त्यो दिन उनी  मधुवन नगरपालिका–३ धनौरामा आफन्तको घरबाट आफ्नो घर फर्किँदै थिइन्। मधुवन नगरपालिका–१ स्थित दुर्गा सामुदायिक वनमा बाटोमा हिँडिरहेको अवस्थामा साँझ करिब ५ बजेतिर उनलाई पछाडिबाट एक्कासी गैँडाले आक्रमण गरेको थियो। गैँडाले आक्रमण गर्दा कम्मरमुनिबाट उनको दाहिने खुट्टा भाँचिएको थियो ।

आफ्नै खर्चमा दुई पटक खुट्टाको शल्यक्रिया हुँदा पनि भाँचिएको खुट्टा सही नभएको शंखरी थारुले बताइन् । ‘धनौराबाट जेठानीसहित ४ जना घर फर्किँदै थियौँ,’ उनले भनिन्,‘झरझर झरझर आवाज आयो, साथमा रहेका सबै जना भागे, म भाग्न सकेन, एक्कासी पछाडिबाट गैँडाले हिर्कायो, घरबाट सकुशल गएको थिएँ, फर्किँदा खुट्टा भाँचिएर घाइते भएर फर्किएको थिएँ ।’

खुट्टा भाँचिँदा उनलाई साथमा रहेका आफन्तले बोकेर घर पुर्‍याएका थिए । गैँडाले घाइते बनाउँदा औषधी उपचारको लागि कसैले सहयोग नगरेको शंखरी थारुले बताइन् । ‘त्यत्ति बेला अलि सस्तो थियो र नेपालगन्ज स्थित एक अस्पतालमा भाँचिएको खुट्टाको शल्यक्रिया गराएर रड हालेका थियौँ,’ उनले भनिन्,‘अहिले महँङ्गी बढेको छ,आफूसँग आर्थिक अभावले गर्दा रड फेर्ने स्थिति छैन ।’

खुट्टा भाँचिए देखि निरन्तर औषधी खाइरहेकी छन्। एक दिन औषधी नखाँदा खप्न नसकिने गरी खुट्टा दुख्ने गरेको उनले सुनाइन्। आफूसँग भएको र ऋण सापाटी समेत गरी उपचार गराएको उनले बताइन्। ‘खुट्टाको उपचार गराउँदा गराउँदै धेरै ऋण लागिसकेको थियो,’ उनले भनिन्,‘ऋण तिर्दा-तिर्दा बेहाल भइसक्यौँ, अझै पनि सहकारीमा एक लाख तिर्न बाँकी नै छ ।’ सम्बन्धित निकायले उपचारमा सघाउन पहल गरिदिए सहज हुने उनको भनाइ छ । 

अनुहार निराश बनाउँदै उनले भनिन्,‘घरमा बुढी सासू मात्र हुनुहुन्छ, काम गर्न सक्नुहुन्नँ, बैसाखीको सहारामा खाना पकाउने, भाडा माझ्ने, कपडा धुनेलगायत सबै काम आफूले गर्नुपर्छ। आफ्नो खुट्टा यस्तो छ।' उनकी ठुली छोरीको बिहे भइसक्यो, छोरा काठमाडौँमा पलम्बरको काम गर्छन् । सानो छोरी पनि काठमाडौँमै बसेर पढ्दैछिन्।

Lack of finances to replace a rod in a leg broken by a rhinoceros attack

घरमा श्रीमान्‌ले खेती किसानी गर्ने, पाएको बेला ज्याला मजदुरी गरेर परिवार धानेका छन्। थारुलाई डिभिजन वन कार्यालयको क्षेत्रमा गैँडाले आक्रमण गरेकोले निकुञ्जमा तथ्यांक भेटिएन। आर्थिक वर्ष २०७०/०७१ देखि मात्र वन्यजन्तुबाट घाइते र मृतकको तथ्यांक रहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी रामकुमार चौधरीले बताए ।

‘यस अगाडि वन्यजन्तुबाट घाइते र मृतकलाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था पनि थिएन,’ सूचना अधिकारी चौधरीले भने,‘गैँडाबाट घाइते थारुको रेकर्ड हामीसँग छैन ।’ शंखरी थारु गैँडाको आक्रमणमा परी लामो समयदेखि अपाङ्ग रहेको जानकारी रहेको मधुवन नगरपालिका–१ का वडा अध्यक्ष मीन बहादुर थापाले बताए । ‘त्यति बेला उपचारको लागि कतैबाट सहयोग पाए, नपाएको थाहा भएन,’ उनले भने,‘उहाँको उपचारको लागि पालिकालगायत सम्बन्धित निकायसँग पहल गर्नेछौँ ।’

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully