प्रदेश सभामा बजेट पेश गर्न लुम्बिनी मन्त्रिपरिषद्को स्वीकृति

३८ अर्ब हाराहारीको बजेट ल्याउने सरकारको तयारी

असार १, २०८२

घनश्याम गौतम

Approval of Lumbini Council of Ministers to present the budget in the state assembly

बुटवल — लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आइतबारको प्रदेश सभामा बजेट पेश गर्न स्वीकृति प्रदान गरेको छ । आर्थिक मामिलामन्त्री धनेन्द्र कार्कीले प्रस्ताव गरेको बजेट वक्तव्यसहित बजेटसँग सम्बन्धित अन्य ऐन र कार्यविधि पनि मन्त्रिपरिषद् बैठकले पारित गरेको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सभामा पेश गरिने विधेयक, मापदण्ड र सूचित आदेशहरूलाई अनुमोदन गरेको हो । बैठकले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यसहितको राजस्व र व्ययको अनुमान स्वीकृत गर्दै प्रदेश सभामा पेस गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले बताए । 

बैठकले ‘प्रदेश निजामती सेवा (पहिलो संशोधन) नियमावली, २०८२’ लाई स्वीकृति दिएको छ । यस नियमावलीले प्रशासनिक सुधार र कार्यक्षमता बढाउने विश्वास लिइएको छ । बहुवर्षीय ठेक्का सहमति सम्बन्धी मापदण्डमा गरिएको पहिलो संशोधनलाई पनि बैठकले पारित गरेको छ ।

यसका साथै, प्रदेश सञ्चित कोषबाट खर्च र विनियोजन सम्बन्धी विधेयक, र आर्थिक प्रस्ताव कार्यान्वयन गर्न आवश्यक  विधेयकको मस्यौदालाई पनि प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गरेको प्रवक्ता पन्थीले बताए । त्यस्तै, बैठकले ‘सामयिक कर असुली ऐन, २०८२’ अन्तर्गत जारी गरिएको सूचित आदेशलाई पनि बैठकले अनुमोदन गरेको छ ।

निरन्तर घाटा बजेट ल्याउँदै आएको लुम्बिनी प्रदेश सरकारले आगामी आवमा पनि घाटा बजेट नै ल्याउँदै छ । सरकारले चालु आवका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएको थियो । आगामी आवमा लागि पनि सरकारले ३८ अर्ब हाराहारीकै बजेट ल्याउने तयारीमा छ । सरकारले ३६ अर्बको बजेट ल्याउने तयारी गरेको थियो । तर, मन्त्रीहरुले बजेटको आकार बढाउन दबाब दिएपछि बजेटको आकार ३८ अर्ब हाराहारी पुगेको छ । शनिबार बजेटको आकार बढेपछि आइतबार ढिलो गरी बजेट तयार भएको र त्यही ढिलाइकै कारण प्रदेश सभामा ३ बजे बजेट प्रस्तुत गर्ने कार्यसूची संशोधन गरेर ५ बजेटका लागि सारिएको थियो । 

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully