रुकुम पूर्व — हरेक महिनाको अन्तिम शनिबार बजार सरसफाइ गर्ने योजना अनुसार रूकुमकोट उद्योग वाणिज्य संघले आज छिप्रिदहस्थित बजार तथा नाला सफा गरेको छ ।
यो काममा बजारमा उद्योगी/व्यवसायी तथा स्थनीय एवं सरोकारवालाको उपस्थिति रहेको संघका अध्यक्ष केवेन्द्र गौतमले बताए । 'केही साताअघिदेखि सुरु गरिएको यो कामले विस्तारै गति लिइरहेको छ । जिल्ला सदरमुकामभित्रको बजार क्षेत्र सबै ठाउँ सफा राख्ने हाम्रो उदेश्य छ,' उनले भने ।
आफ्नो घर-आँगन सफा राख्न जनचेतना बढाउने उद्देश्यले थालिएको यो कामलाई सिस्ने गाउँपालिकाले पनि साथ दिएको पालिका उपाध्यक्ष गोपाल रेउलेले बताए । यसलाई जिल्ला सदरमुकामसँगै अरू वडासम्म पनि पुर्याउन आवश्यक पहल गरिने उनको भनाइ छ ।
