घाटा बजेटले दायित्व बढेपछि लुम्बिनीलाई आगामी बजेट बनाउने सकस

शुक्रबारसम्म पनि मन्त्रालयहरू नयाँ योजना र बजेटको सिलिङ थप्दै, अर्थ मन्त्रालयमा अझै लागेन बजेटको आकारको टुंगो

जेष्ठ ३१, २०८२

घनश्याम गौतम

Lumbini will be able to make the next budget after the deficit budget increases the liability

बुटवल — निरन्तर घाटा बजेट ल्याउँदै आएको लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा पनि घाटा बजेट नै ल्याउने तयारी गरेको छ । सरकारले चालु आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोडको बजेट ल्याएको थियो ।

आगामी आर्थिक वर्षका लागि पनि सरकारले ३८ अर्ब हाराहारीकै बजेट ल्याउने तयारी छ । सरकारले शुक्रबारसम्म पनि मन्त्रालयलाई बजेटको सिलिङ थप गरिरहेकाले बजेटको अंक नै टुंगो लागेको छैन ।

आगामी आवका लागि आइतबार बजेट ल्याउने संवैधानिक व्यवस्था छ । तर, स्रोतका अनुसार शनिबार बिहानसम्म पनि बजेटको आकार र ठूला आयोजनाको टुंगो लागेको छैन । मन्त्रीहरुको निरन्तर दबाबपछि आर्थिक मामिला मन्त्रालयले शुक्रबार साँझ केही मन्त्रालयलाई बजेटको नयाँ सिलिङ पठाएको छ । त्यसले सरकारले घाटा बजेट नल्याउने र ३२ अर्ब हाराहारीमा बजेट ल्याउने सार्वजनिक गर्दै आएका मुख्यमन्त्री चेतनारायण आचार्यकै भनाइ खण्डित गरेको छ ।

मुख्यमन्त्री आचार्यले एकसाता अघिसम्म पनि ३२ अर्बभन्दा नबढ्ने गरी बजेट ल्याउने बताउँदै आइरहेका थिए । त्यहीअनुसार अर्थ मन्त्रालयले १५ दिनअघि नै झन्डै ३२ अर्बकै सिलिङ मन्त्रीहरुलाई पठाएको थियो । तर, शुक्रबार फेरि नयाँ सिलिङ पठाएपछि सरकारका मन्त्रीहरु शुक्रबार रातिदेखि नै योजना र रकम थप्नमा व्यस्त भएका छन् ।

बजेटको अंक टुंगो लगाउन शनिबार विहानैदेखि मुख्यमन्त्री आचार्य, पूर्वमुख्यमन्त्री एवं सत्तापक्षका संसदीय दलका नेता डिल्लीबहादुर चौधरी र प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भुमिश्वर ढकाल मुख्यमन्त्री निवासमा छलफलमा बसेका थिए । तर, दिउँसो ३ बजेसम्ममा टुंगो लगाउने गरी उठेका छन् ।

सरकारका मन्त्रीहरु प्रदेश गौरवका आयोजना र बहुवर्षे योजनाको दायित्व भुक्तानी बढेकाले बजेटको आकार बढाउनैपर्ने लबिङमा लागिरहेका छन् । सबैभन्दा बढी दायित्वा भौतिक पूर्वाधार, खानेपानी तथा सहरी विकास र ऊर्जा जलस्रोतमा छ । त्यसैले पनि मन्त्रीहरुलाई दबाब बढेको छ ।

त्यसबाहेक प्रदेश सरकारले यसै वर्ष सडक गुरुयोजना तयार गरेको छ । त्यसमा १५ वटा प्रदेश मुख्य सडक र ५ सय ९४ प्रदेश सडक योजना छन् । यी सडक प्रदेशका ३४ सय सडकलाई घटाएर निर्धारण गरिएका सडक हुन् । तीमध्ये कम्तीमा ५० प्रतिशत सडकमा ठूलो आकारको बजेट राख्नुपर्ने भएकाले पनि सरकारको बजेट बढ्ने निश्चित छ । 

प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले प्रदेश सरकारले अघि सारेका पुराना, बहुवर्षे र गौरवका आयोजनाको दायित्वकै कारण आगामी वर्षको बजेटको आकार बढ्ने बताए । उनका अनुसार संघीय समपुरक, स्थानीय तहको समपूरक र विशेष अनुदानको बाध्यकारी दायित्वले पनि बजेटको आकार सरकारले तयारी गरेभन्दा बढ्न लागेको हो ।

आगामी वर्षका लागि संघीय सरकारले समपूरकअर्न्तगत १० ठूला योजना पठाएको छ । त्यसमा ५ क्रमागत र ५ वटा नयाँ हुन् । नयाँ योजनामा बजेट धेरै जान्छ । ‘तीबाहेक पनि प्रदेश गौरवका आयोजनाअन्तर्गत काम भइरहेका प्रदेश राजधानी देउखुरीका प्रशासनिक भवन र लुम्बिनी प्रादेशिक अस्पताललाई पनि वर्ष छुट्याएरै बजेट विनियोजन गर्नु पर्ने अवस्था छ,’ उनले भने, ‘यी धेरै दबाबबीच अघिल्ला वर्षहरुको दायित्व बेहोर्ने चक्र नदोहोर्‍याउने गरी प्रयास भइरहेको छ ।’ 

सरकारले देउखुरीमा निर्माण गरिरहेका १० वटा प्रशासनिक भवनको काम तीव्र छ । त्यस्तै लुम्बिनी प्रादेशिक अस्पतालको भवनको काम पनि अघि बढेको छ । प्रदेश सरकारले प्रशासनिक भवन आगामी वर्षदेखि नै प्रयोगमा ल्याउने गरी काम भइरहेको र त्यसका लागि डेढ अर्बभन्दा बढी रकम खर्च हुने जनाएको छ । त्यस्तै प्रादेशिक अस्पतालका लागि पनि आगामी वर्ष मात्र न्यूनतम २ अर्ब रकम विनियोजन गर्नुपर्ने दायित्व देखिएको छ ।

सरकारका प्रवक्ता दिनेश पन्थीले सरकारका दायित्व र माग दुवैलाई सम्बोधन गरेर बजेट बनिरहेको र आकार चालु वर्षकै हाराहारीमा हुने बताए ।  

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully