१४ वर्षपछि निर्माण पूरा हुन लागेको पक्की पुललाई छैन बजेट

जेष्ठ २६, २०८२

माधव अर्याल

There is no budget for the concrete bridge, which is about to be completed after 14 years

पाल्पा — सामान्यतया एउटा पक्की पुल निर्माण गर्न कति समय लाग्छ ? सरकारी ठेक्का नियमानुसार तीन वर्षमा पक्की पुल निर्माण पूरा गर्ने गरी टेन्डर हुन्छ । तर लुम्बिनी प्रदेशको पाल्पा र गण्डकी प्रदेशको स्याङ्जा जिल्ला जोड्न कालीगण्डकी नदीमा १४ वर्षअघि निर्माण सुरु भएको रामपुर–चापाकोट दामाचौर मोटरेबल पुल अझै पूरा भएको छैन ।

पाल्पाको रामपुर प्याक्लुक–चापाकोट दामाचौर स्याङ्जा जोड्ने पक्की पुल निर्माण गर्न तीन वर्षे अवधि राखेर आर्थिक वर्ष २०६७/६८ सालमै ठेक्का सम्झौता भएको हो । यो पुल २०७१ असार २५ मा सम्पन्न हुनुपर्ने थियो । तर अहिलेसम्म पूरा हुन सकेको छैन । अहिले काम सम्पन्न हुने समयमा सरकारले बजेट नपठाउँदा भुक्तानी गर्न सक्ने अवस्थामा सडक डिभिजन पाल्पा छैन ।

मोटरेबल पुलको इलाइट/एसबीई जेभीले १७ करोड ७१ लाख ४६ हजारमा ठेक्का लिएको हो । अहिले पुलको लागत बढेर २१ करोड ३८ लाख ५४ हजार पुगेको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । ‘सुरुमै भएको डिजाइन फेलका कारण पुनः डिजाइन गरेका कारण केही बजेट बढेको हो,’ सडक डिभिजन पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले भने, ‘पहिलेको सम्झौताबमोजिम फाउन्डेसन डिजाइन रिभ्यू गर्दा समय लागेको हो ।’

There is no budget for the concrete bridge, which is about to be completed after 14 yearsनिर्माण व्यवसायीले पछिल्लो वर्षमा धमाधम गरे पनि गत वर्षदेखिकै बिल भुक्तानी गर्न बाँकी रहेको उनले बताए । चालु आर्थिक वर्षमा ८० लाख मात्र बजेट रहेको सडक डिभिजनले जनाएको छ । निर्माण व्यवसायीलाई भुक्तानी दिनुपर्ने रकम २ करोड ५० लाख बढी हुन्छ । कालीगण्डकी नदीमाथि निर्माणाधीन पक्की पुलको बीडीए नेपाल प्रा.लि. कन्सल्टेन्टले डिजाइन गरेको हो । सडक डिभिजन स्रोतका अनुसार बीचका दुई पिलरमा नजिकमै रक (चट्टान) भेटिएपछि काम अघि बढाउन समस्या भएको थियो । अहिलेसम्म पुलको भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति भने ६७ प्रतिशत रहेको सडक डिभिजनले जनाएको छ ।

बीचमा काम नभए पनि पछिल्लो वर्ष कामले तीव्रता पाएको भए पनि निर्माण व्यवसायीलाई भुक्तानी गर्न बजेट अभाव रहेको सडक डिभिजन पाल्पाका सूचना अधिकारी गौतमले बताए ।

कालीगण्डकी नदीमा पक्की पुल निर्माण सुरु भएसँगै पिलरका लागि खाल्डा खन्ने क्रममा जमिनको सतहदेखि पाँच मिटर गहिराइमा चट्टानसहितको ढुंगा भेटिएपछि काम अघि बढ्न नसकेको हो । जसले गर्दा पुल निर्माणमा ढिलाइ भएको कार्यालयले जनाएको छ । ‘फाउन्डेसन डिजाइन रिभ्यू र पायल डिजाइन रिभ्यूमा धेरै वर्ष लागेकाले पनि ढिलाइ भएको हो,’ उनले भने, ‘तर ढिलै भए पनि कामले तीव्रता पाएको थियो तर सम्पन्न कामको भुक्तानी दिनसमेत बजेट अभाव छ ।’

सडक डिभिजनका अनुसार कन्सल्टेन्टले डिजाइनमा गरेको गल्तीका कारण निर्माणको काम बीचमै रोक्नु परेको थियो । कन्सल्टेन्टले नदीभित्र रक छ/छैन ? कति गहिराइमा छ ? भन्ने सबै इस्टिमेटमा दिनुपर्ने थियो । तर बजेट कम भएकाले सामान्य इस्टिमेट गरेर कन्सल्टेन्टले दिएकाले नै पुलमा समस्या आएको हो । कन्सल्टेन्टले दिएको डिजाइनका आधारमा सडक डिभिजनले ठेक्का लगाउँदा यस्तो समस्या भएको हो ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully