वन्यजन्तुका लागि डाँडैपिच्छे पोखरी

खानेपानीका मुहान सुकेकाले तिनलाई रिचार्ज गर्न अग्लो ठाउँमा धमाधम पोखरी बनाइँदै

जेष्ठ २६, २०८२

वीरेन्द्र केसी

Hillside ponds for wildlife

अर्घाखाँची — अग्ला डाँडा र वनमा धमाधम पोखरी निर्माण भइरहेका छन् । सम्पन्न भएका पोखरीमा टाढाबाट पाइपमा पानी ल्याएर पोखरीमा जम्मा गरिएको छ । पोखरीको पानी कुनै खेतबारीमा सिँचाइका लागि नभई चराचुरुङ्गी र जंगली जनावरका लागि हो ।

शितगंगा नगरपालिका–११ स्थित गैडे सामुदायिक वनको मौवाबारी जंगलमा १२ हजार लिटर अट्ने पोखरी डिभिजन वन कार्यालयको ५० हजार आर्थिक र वनको गरी डेढ लाख रुपैयाँ र सोही जंगलकै धरमपानीमा वन उपभोक्ता समूहको ५८ हजार लगानीमा ५ फिट गहिरो पोखरी निर्माण भएको छ । दुवै पोखरीमा पानी भरिएको छ । त्यहाँ जंगलमा बस्ने गिद्ध, मयुर, सुगा, कालिज, ढुकुर, काग, वनकुखुरासहित चराचुरुङ्गी र चितुवा, राते, बँदेल, मृग, जरायो, डेढुवाललगायतका जंगली जनावर पाइन्छन् ।

उनीहरूलाई तिर्खा लाग्दा पानी खान सहज होस् भनेर पोखरी बनाइएको वनकी सचिव सीता बेल्वासेले बताइन् । अहिले पोखरी आसपासमा दिनभर चराचुरुङ्गीको चिरबिर आवाज सुनिने र चराले पोखरीमा पानी खाएको देखिने उनले बताइन् । वनमा रहेका जनावर र चराको संरक्षण गर्ने उद्देश्य र वनमा डढेलो लाग्दा विपद्‍मा पानी उपयोग गर्न पोखरी निर्माण भएको उनले बताइन् ।

लुम्बिनी प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा भू तथा जलाधार व्यवस्थापन कार्यालयले अग्लो वनमा १० वटा पोखरी धमाधम निर्माण गर्दैछ । सन्धिखर्क नगरपालिका–७ खर्चचौरमा दुई, पाणिनी गाउँपालिका–६ धातीवाङमा एउटा, शितगंगा नगरपालिका–१३ मा दुईवटा र वडा ९ मा एउटा पोखरी खन्ने काम भएको छ । त्यस्तै मालारानी गाउँपालिका–६ को दारेढुंगा, लौरी र ७ बामरुक, छत्रदेव गाउँपालिकाको अर्चुलपोखरा, मालीपोखरामा रिचार्ज पोखरी निर्माण भैरहेको भू–तथा जलाधार व्यवस्थापन कार्यालयका सूचना अधिकारी राकेशबहादुर कुँवरले बताए । पानीका मुहान सुकेपछि स्थानीयले नै पोखरी निर्माण गरिदिन आग्रह गरेका छन् । खानेपानीको मुहानमाथि पोखरी निर्माण गर्दा रिचार्ज हुने र मुहान नसुक्ने स्थानीयको भनाइ छ । जिल्लामा निर्माण भइरहेका पोखरी ५ देखि ७ लाख रुपैयाँसम्ममा ठेक्का गरिएका छन् । 

Hillside ponds for wildlifeनिर्माण सम्पन्न भएपछि पोखरीमा पानी जम्मा गरिनेछ । यी रिचार्ज पोखरी हुन् । ‘मुख्यगरी यसरी पोखरी बनाउनुको उद्देश्य चराचुरुङ्गी र वन्यजन्तुले सहजै पानी खाउन भन्ने, जंगलमा पानी अभावमा मृत्यु नहोस्, यसै क्षेत्रमा चराको संख्या बढोस् भन्ने हो,’ भू तथा जलाधार व्यवस्थापन कार्यालय प्रमुख शम्भु शंकर झाले भने, ‘पोखरीका फाइदा बहुआयामिक छ । जमिनमा रिचार्ज हुन्छ, खानेपानीका मुहान सक्दैनन् र घरपालुवा जनावरले पनि पानी खान सहज हुन्छ ।’

बाह्रै महिना पोखरीमा पानी हुँदा वरपर र तलसम्म भुइँमा हरियाली घाँस उम्रिएर रुख हुर्किएर जंगल बन्ने उनले बताए । सन्धिखर्क नगरपालिका–७ खाँचीकोटस्थित खर्कचौर र गरगरेमा केही वर्ष पहिले परम्परागत पोखरी थिए। वडा ७ का अध्यक्ष चुराबहादुर केसीका अनुसार बाह्रै महिना पानी हुँदा वन्यजन्तु, र गाईभैंसी, बाख्राले पानी खान्थे । नजिकैका जंगलमा चराचुरुङ्गीको चिरबिर आवाज सुनिन्थ्यो । दशकअघि पोखरी संरक्षण नगर्दा पुरिएर हराए । त्यसपछि त्यस आसपास चराचुरुङ्गी देखिन छाडे । गाउँलेको खानेपानीका मुहान पनि सुक्दै गए ।

परम्परागत पोखरी सुकेपछि यस क्षेत्रमा चराहरू खासै देखिन छाडेको र रुखहरू पनि क्रमशः सुक्दै गएको केसीले बताए । पोखरी निर्माण गरेर पानी भएपछि चरालाई खान पुग्ने उनले बताए । तलपट्टि रहेको सयधारा मुहानबाट लिफ्ट गरेर खाँचीकोट गाउँका दुई सय पचास घरलाई पिउने पानी वितरण गरिएको उनले बताए। गर्मीको बेला मुहानमा पानी सुक्ने गर्छ। ‘पोखरीमा हराउँदा पहिला जस्तै मुहानमा पानीको स्रोत घट्दै गयो,’ केसीले भने, ‘अग्ला डाँडामा बाउबाजेले पोखरी बनाएर पानी संकलन गर्नु त वैज्ञानिक नै रहेछ । कुवामा, खानेपानीका मुहानमा पानीको स्रोत कायम गर्न, चरा र वन्यजन्तुका लागि पोखरी निर्माण गर्नु परेको हो ।’

Hillside ponds for wildlifeवनजंगल, डाँडा र चौरमा रहेका पोखरी संरक्षण अभाव र मोटरबाटो खन्दा पुरिए । कोही हराए । त्यतिबेला गाईवस्तु चराउँदा पोखरीमा पानी खुवाइन्थ्यो । अहिले तिनै ठाउँ खोज्दै कोदालोले श्रमदान गरेर धमाधम निर्माण भइरहेका छन् । ‘सार्वजनिक ठाउँमा यसरी पोखरी हुनु सौन्दर्यता पनि हो,’ सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठले भने, ‘दशक पहिले जंगलमा चराचुरुङ्गी, जंगली जनावर थिए। अहिले पानी अभावमा कमै देखिन्छन् ।’

गाउँका अग्ला ठाउँमा बनाइने रिचार्ज पोखरीले मानव, गाईवस्तु, चराचुरुङ्गी, जंगली जनावर र विपद् व्यवस्थापनलाई पोखरी आवश्यक रहेकाले तत्काल बनाइनुपर्ने श्रेष्ठले बताए । उनले १२ वटै वडाका टोलैपिच्छे गाउँमा पोखरी निर्माण गर्न नगरपालिकाले तयारी गरेको बताए । जताततै खानेपानीका मुहान सुकेकाले तिनलाई रिचार्ज गर्न अग्लो ठाउँमा पोखरी बनाउनुपर्ने उनको भनाइ छ ।

वीरेन्द्र केसी

Link copied successfully