वडाभन्दा पर वडाको भूगोल, सिमांकन मिलाउन पालिकालाई सकस

जेष्ठ २६, २०८२

महेश केसी

Beyond the ward, the municipality can adjust the geography and demarcation of the ward

रुकुम पूर्व — सामान्यतया: वडाभित्रै वडाको भूगोल हुन्छ । तर रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाका केही गाउँ यस्ता छन् जुन वडाको भूगोलभन्दा धेरै परसम्म फैलिएका छन् । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको वडा नं. २ को जस्मुर, हार्दिबाङ, तिज्याङ र रल गरी यहाँका ४ वटा बस्ती जहाँबाट वडा कार्यालयसम्म पुग्न पूरा एक दिन त हिँड्नुपर्छ नै त्योभन्दा अनौठो कुरा त यी ठाउँको सिमानामा आफ्नै वडाको भूगोल पर्दैन अर्थात् पूर्व र पश्चिमतिर पर्छन् ।

संघीयतापछि राज्य पुनः संरचना हुँदा साबिकको रन्मामैकोट, हुकाम, तकसेरा, कोल, राङसी र जाङ गाविसलाई मिलाएर हालको पुथाउत्तरगंगा गाउँपालिका बनाइयो । अनि साबिकको रन्मामैकोट गाविसका ९ वटा वडामध्ये १, २ र ३ मिलाएर हालको १ नम्बर वडा, ४ र ५ मिलाएर हालको २ नम्बर वडा, ६ र ७ मिलाएर हालको ३ नम्बर वडा तथा ८ र ९ मिलाएर हालको ४ नम्बर वडा कायम गरिएको छ । 

भूगोलको वस्तुस्थिति नहेरेरै साबिकका वडाको नम्बरका आधारमा वडा विभाजन गरिँदा त्यो बेलाको रन्मामैकोट गाविसका वडा नं. ४ र ५ हालको वडा नं. २ मा राखिएपछि यो समस्या आएको गाउँपालिका अध्यक्ष पूणिराज घर्तीले बताए । 

साबिकको वडा नं. ४ पेल्मा हो जहाँ अहिले वडा कार्यालय रहेको छ । अनि साबिकको वडा नं. ५ मा पर्ने जस्मुर, हार्दिबाङ, तिज्याङ र रललाई पनि वडा नम्बर २ मै कायम गरिएपछि यी भेगका मान्छे वडा नं. १ को बाटो भएर पूरा एक दिनको पैदलयात्रापछि वडा कार्यलय भएको ठाउँ पुग्नु परिरहेको छ । 

वडा नम्बर १ र ३ को बीचमा रहेका २ नम्बर वडाका आफूहरूलाई सरकारी सेवा लिन निकै कठिन भएको तिज्याङका जीवन रोकाले बताए । ‘बिहानै हिँड्यो भने बास बस्न पेल्मा पुगिन्छ । अनि भोलिपल्ट काम सकेर मैकोटसम्म बास आएर तेस्रो दिन दिउँसो घर पुगिन्छ,’ उनले भने, ‘बाटोमा १ नम्बरको वडा कार्यालय पर्छ तर हाम्रो वडा कार्यालय पुग्न डाँडा काटेर, खोला तरेर जानुपर्छ । धेरै दुःख छ ।’

वडा नं. २ का वडा अध्यक्ष जगत घर्तीले पनि वडाको सेवा प्रवाहमा निकै ठूलो असर परिरहेको बताए । ‘यसैपनि हिमाली भेग त्यसमा पनि यसरी बस्तीहरू छरपस्ट हुँदा वडाका सबै ठाउँ पुग्न त ३–४ दिन लाग्छ । पोषण भत्ता र सामाजिक सुरक्षा बाँड्न हामीलाई मुस्किल परेको छ भने नागरिकलाई त झन् कति हो कति गाह्रो छ,’ उनले भने । 

वडा कार्यालय बस्तीभन्दा धेरै टाढा हुनाले वर्षायाममा झन् धेरै गाह्रो हुने गरेको रलका बुद्धिराज पुन बताउँछन् । खोलानाला बढ्ने र पहिरोको जोखिम हुने हुनाले बर्खा याममा पेल्मा (वडा कार्यालय) पुग्न सम्भव नै नहुने उनको दुःखेसो छ । 

यस विषयमा गाउँपालिका अध्यक्ष घर्तीले पालिकाले वडाको संख्या थपघट गर्न नपाउने तर सिमांकन मिलाउन पाउने अधिकार आफूहरूसँग रहेको बताएका छन् । ‘यी चारवटा बस्तीलाई पानीढलोका दृष्टिले वडा नं. १ मा कायम गर्दा न्याय हुन्छ भन्ने हाम्रो बुझाइ छ । कार्यपालिकामा यस विषयमा विगतदेखि नै छलफल भएको छ । तर निर्णयमा पुग्न सकिएको छैन ।’ यस विषयमा थप स्पष्ट पार्दै उनले थपे, ‘विभिन्न जडीबुटी पाइने क्षेत्र भएकाले अर्को वडाको भूगोललाई १ नम्बरमै कायम गर्न पनि सजिलो नभएकाले यत्तिका समय लागेको छ ।’ 

वडा नं. २ का यी बस्तीसँगै साबिकको रन्मामैकोट गाविसको वडा नं. ५ मा पर्ने दुले र जुनाङ अहिले वडा नं. १ मा पर्ने तर यी बस्तीहरू वडा नं. २ मा कायम गरिएमा सजिलो हुने वडा नं. २ वडा अध्यक्ष घर्तीको भनाइ छ । ‘उताका चारवटा बस्तीहरू (जस्मुर, हार्दिबाङ, तिज्याङ र रल) १ नम्बरमा अनि दुले र जुनाङ २ नम्बरमा कायम भएमा सहज हुने थियो,’ उनले भने । 

यो बारेमा वडा नं. १ अध्यक्ष वीरमान विकले जस्मुर, हार्दिबाङ, तिज्याङ र रललाई १ नम्बरमा कायम गर्नुको विकल्प नभएको बताए । तर दुले र जुनाङलाई २ नम्बरमा काम गर्ने कुरा भने उति सम्भव नभएको प्रतिक्रिया दिए । 

‘पुपाल र पुर्बाङ बुकीमा यार्चागम्बा लगायतका बहुमूल्य जडिबुटी पाइन्छ । यी ठाउँहरु प्रशासनिक हिसाबले फरक–फरक वडामा परेपनि हामी १ र २ वडाले संयुक्त रूपमा भोगचलन गर्दै आइरहेका छौँ,’ उनले भने, ‘यसकारण जस्मुर, हार्दिबाङ, तिज्याङ र रलको विषयसँग दुले र जनाङको विषय पनि मिसाउँदा विवाद बढ्छ । त्यसो गरिनु हुँदैन ।’

यसरी सिमांकन गर्दा प्राविधिक हिसाबले र पानीढलोका दृष्टिले नमिलेका बस्तीलाई के–कसरी मिलाउन सकिन्छ भनेर आफूहरु त्यसको स्थलगत अध्ययन गरेर सबैको सल्लाहले आवश्यक निर्णय गर्ने कार्यपालिकाको योजना भएको प्रतिक्रिया पालिका अध्यक्ष घर्तीले दिए । ‘एकपल्ट सिमांकन भएर कानुनमै उल्लेख भएको विषयलाई परिमार्जन गर्ने कुरा त्यति सजिलो विषय रहेनछ । यसकारण यसमा हामी अलि गम्भिरताका साथ लाग्छौं र पछिसम्मै विवाद नआउनेगरी समस्याको समाधान गर्छौँ ।’

वडा कार्यालय रहेको भेगभन्दा टाढा रहेका जस्मुर, हार्दिबाङ, तिज्याङ र रलमा कुल ८० देखि ९० जति घर–परिवार तथा जुनाङ र हार्दिबाङमा कुल ४० जति घरपरिवार बसोबास गरिरहेको पालिका अध्यक्ष घर्तीको भनाइ छ । 

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully