दाङ — लागूऔषधसहित शनिबार गढवामा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गढवा गाउँपालिका-६ प्रगतिनगरका २२ वर्षीय लक्ष्मण विष्ट, गढवा-४, गढवाका ३९ वर्षीय भन्साराम यादव र गढवा-६ थानदेउखुरीका ३७ वर्षीय सदान मनिहार रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी डीएसपी चक्रबहादुर शाहले बताए । विष्टले लागूऔषध बिक्री गर्ने र अरू दुई जनाले खरिद गर्ने गरेको उनले जानकारी दिए ।
कोइलाबासबाट गढवातर्फ जाँदै गरेको लु.९६ प ८८९३ नं.को मोटरसाइकल रोकी चालक लक्ष्मण विष्टको शरीर खानतलासी गर्दा लागूऔषध ब्राउन सुगरजस्तो देखिने ६ ग्राम ४६० मिलिग्राम सामान बरामद गरेको उनले जानकारी दिए । पक्राउ परेकालाई थप अनुसन्धान गरिरहेको शाहले बताए ।
