बुटवल — नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले कुनै बेलाको बौद्धिक व्यक्तिहरूको जमघटस्थल बुटवल अहिले क्रमशः बौद्धिकता हराउँदै गएको सहरमा परिणत भएको बताएका छन् ।
‘सांसदलाई पजेरो सुविधा दिने समयको कुरा हो,’ उनले भने, ‘बुटवलका बुद्धिजीवीहरूले त्यसका विरुद्ध ५० पैसा चन्दा उठाएर सांसदलाई दिने अभियान चलाएका थिए । त्यस्तो बौद्धिक जमात अहिले साँच्चै हराएको हो त ?’
स्थानीय राजनीतिकर्मी एवं अर्थशास्त्री मनिकर कार्कीको ‘अर्थदृष्टि’ पुस्तकको शनिबार बुटवलमा आयोजित विमर्श कार्यक्रममा मुख्य वक्ताका रूपमा उपस्थित भुसालले बुटवललाई फेरि बौद्धिक व्यक्तिहरूको थलोका रूपमा उभ्याउन ‘अर्थदृष्टि–विमर्श’ जस्ता कार्यक्रम हुन जरुरी भएको पनि बताए ।
भुसालले सत्ता दोहनका बारेमा खरो टिप्पणी गरे । नेपालमा केन्द्रदेखि तलसम्म सत्ताको दोहन गर्नेहरूको ‘पल्टन’ नै तयार भएको उनको आरोप थियो । ‘१५ देखि २० लाख वा अरु धेरै थोरै हुन सक्छ, कार्यकर्ताको हैसियत र पदअनुसार लाभ लिने काम जोडतोडले चलिरहेको छ,’ उनले भने, ‘हाम्रा बुद्धिजीवीलाई पनि विभिन्न सल्लाहकार बनाइएको छ । सल्लाह लिनु नपर्ने सल्लाहकार बनाएर बौद्धिक जमातको पनि मुख थुन्ने काम भइरहेको छ ।’
रोजगारी सिर्जना गर्ने पुँजी राष्ट्रिय पुँजी भएको र नाफा मात्रै कमाइराख्ने दलाल पुँजी भएकाले यसलाई फेर्नु जरुरी रहेको पनि उनले बताए । नेपाली अर्थतन्त्रको चरित्र नफेरेसम्म मुलुकको विकास र प्रगति नहुने उनको दाबी थियो ।
‘दलाल पुँजीवादी अर्थतन्त्र फेर्नुपर्छ, तर फेर्न सजिलो छैन, किनभने यसले सांसद किन्छ, पार्टी किन्छ, नेता किन्छ, अदालत किन्छ, न्यायाधीश किन्छ,’ उनले भने, ‘बिहानै किन्छ, दिउँसै किन्छ, कसैलाई बाँकी राख्दैन, पुलिस प्रशासन सबै त्यसैका हुन्छन् ।’
यस्तो प्रवृत्तिविरुद्ध लड्ने भनेको बौद्धिक क्षेत्रले मात्रै सम्भव हुने उनको भनाइ थियो । ‘बौद्धिक क्षेत्रले मात्रै आलोचनात्मक हिसाबले दल र नेतालाई सुधार गर्न सक्छ,’ उनले भने, ‘नेपालको विकास नहुनुका पछाडि बौद्धिक क्षेत्रको भूमिका पनि मुख्य रहेको छ ।’
पृथ्वीनारायण शाहको पालाको करिव सय वर्ष एकीकरण र युद्ध, राणाकालको सय वर्ष बढी मोजमस्ती र दरबार ठड्याउनमा राज्यस्रोत खर्च हुँदा विकास हुन नसकेको उनको भनाइ थियो ।
बुटवललाई फेरि बौद्धिक व्यक्तिहरूको थलोका रूपमा उभ्याउन ‘अर्थदृष्टि’जस्ता पुस्तकको विमर्शले काम गर्ने विश्वास पनि उनले व्यक्त गरे ।
