परासी — पश्चिम नवलपरासीमा १० वटा वडा विपद्को अति उच्च जोखिममा र १३ वटा वडा उच्च जोखिममा रहेको रिपोर्ट निकाल्दै जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य’ योजना पारित भएको छ।
जिल्लाको दक्षिणी भेगमा बाढी, डुबान र पूर्व–पश्चिम राजमार्गको दाउन्नेमा पहिरो तथा सडक अवरुद्ध हुन सक्ने आकलन गर्दै जोखिम न्यूनीकरणका लागि प्रतिकार्य योजना तयार पारिएको हो।
विपद् व्यवस्थापन समितिले आकलन गरेको जोखिमअनुसार अति सङ्कटापन्न क्षेत्रमा सरावल गाउँपालिकाको वडा नम्बर ६ र ७, सुस्ता गाउँपालिकाको ३, ४, ५, प्रतापपुर गाउँपालिकाको ६, ८ र पाल्हिनन्दन गाउँपालिकाको १, ३ र ६ नम्बर वडा रहेका छन्।
त्यसैगरी उच्च सङ्कटापन्नमा बर्दघाट नगरपालिकाको १३, १५, रामग्राम नगरपालिकाको १, २, ३, ५, ६, १७, १८, प्रतापपुर गाउँपालिकाको ३, ६, ८ र पाल्हिनन्दन गाउँपालिकाको २ नम्बर वडा राखिएको छ।
जिल्ला प्रशासन कार्यालय नवलपरासीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले विपद् न्यूनीकरणका लागि ११ बुँदे निर्णय गर्दै सबै सुरक्षा निकाय, स्थानीय तह र सरोकारवालालाई तयारी अवस्थामा रहन आग्रह गरेका छन्। ‘अघिल्लो वर्षभन्दा वर्षा बढी हुने आकलन गरिएको हुँदा जिल्लामा बाढी, पहिरो र डुबान बढ्ने सम्भावना रहेको छ। जोखिम कम गर्न हामीसँग रहेको जनशक्ति र सामग्री तयारी अवस्थामा छन्,’ प्रमुख जिल्ला अधिकारी रेग्मीले भने, ‘उद्धार सामग्रीको केही अभाव रहेको छ, तर हामी जोखिम न्यूनीकरण र सम्भावित जोखिम कम गर्न तथा उद्धारका लागि तम्तयार छौँ।’
जिल्ला विपद् व्यवस्थापन समितिले ‘मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना २०८२’ स्वीकृत गरेको छ। स्थानीय तहहरूले स्थानीय विपद् आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई सुदृढ बनाई विपद्को समयमा सक्रिय रूपमा परिचालित गर्ने, घटनाहरूको सूचना सङ्कलन, आदान–प्रदान तथा उद्धारको कार्यमा समन्वय एवं सहकार्य गर्ने निर्णय समितिले गरेको छ।
स्थानीय तह र सरोकारवाला निकायहरूबाट विद्यालय तथा समुदाय स्तरमा स्थानीय भाषामा समेत सचेतनामूलक तथा सन्देशमूलक सामग्रीहरू तयार गरी प्रचार–प्रसार गर्ने तयारी गरिएको छ।
