बर्दिया — बर्दियाको गेरुवा गाउँपालिका–२ को सनकट्टीघाट र कैलालीको टिकापुर नगरपालिका–२ जोड्ने कर्णाली नदीमा पक्की पुल ०८३ साल भदौबाट सञ्चालनमा आउने भएको छ । ०७९ साल पुस १७ बाट सुरु भएको पुलको ७० प्रतिशत भएको निर्माण कम्पनी रसुवा कन्स्ट्रक्सन प्रालि काठमाडौंले जनाएको छ ।
१ अर्ब १८ करोडको लागतमा निर्माण हुने पुलको लम्बाइ ७ सय ५२ मिटर रहेको रसुवा कन्स्ट्रक्सन प्रालि बर्दियाका लेखा प्रमुख प्रभाकर प्याकुरेलले बताए । १३ वटा स्पानसहित १४ वटा फाउन्डेसन रहेको उक्त पुल ७ दशमलव ५ मिटर चौडा र दुवैतर्फ पैदलयात्रीका लागि डेढ डेढ मिटरको फुटपाथ रहेको उनले जनाए ।
हाल सम्म ४ वटा स्पानमा ढलान भइसकेको छ । पुल निर्माण भएपछि बर्दियाबाट कैलालीको टिकापुर निकै छोटो बाटो हुने छ । सनकट्टीघाटबाट टिकापुरको दुरी करिब ७ किमी रहेको छ । टिकापुर र सनकट्टीघाटमा सडक निर्माण हुन बाँकी छ । पुल निर्माण सुरु भएपछि यहाँ सडक निर्माणको कामका लागि सर्भेसमेत भएको छ । सडक पूर्वाधार विकास कार्यालय, बर्दियाले आगामी आवमा पक्की सडक निर्माण सुरु गर्ने कार्यालय प्रमुख गोविन्दबहादुर महत्रा क्षेत्रीले बताए ।
यसअघि ०५० सालमा कर्णालीको चिसापानी र राजापुर कैलाली जोड्ने सत्तिघाटमा पुल ०७३ सालमा निर्माण सम्पन्न भएको थियो । पुल निर्माण भएपछि बर्दियाका राजापुर र गेरुवा पालिका कैलालीको टिकापुर क्षेत्रका करिब २ लाख बासिन्दा लाभान्वित हुनेछन् । बर्दियाबाट बग्ने कर्णाली नदीको सनकट्टीघाट,सत्तिघाट र चिसापानीसहित तीन वटा पुल हुने छ ।
