बुटवलमा दर्ताबिना सञ्चालित ६ क्लिनिक बन्द

जेष्ठ २२, २०८२

सन्जु पौडेल

6 clinics operating without registration closed in Butwal

तिलोत्तमा —  बुटवलमा दर्ताबिना सञ्चालनमा रहेका ६ वटा मेडिकल क्लिनिक बन्द भएका छन् । ती क्लिनिक जिल्ला प्रशासन कार्यालयसहितको टोलीले बन्द गराएको हो ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीको अनुगमन टोलीले बिहीबार बुटवलका विभिन्न ११ वटा मेडिकल तथा क्लिनिकमा अनुगमन गर्दा ६ वटा क्लिनिक दर्ताबिना नै सञ्चालनमा रहेको भेटिएपछि बन्द गराएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी रानाले  बताए ।

उनले जनताको गुनासो आएपछि क्लिनिकमा अनुगमन गरिएको र दर्ताबिनाका फेला परेपछि बन्द गराइएको जनाए । योसँगै एक डेन्टलसमेत बन्द गरिएको उनले बताए ।

अनुगमन टोलीले बुटवल अस्पताल लाइनमा रहेको रुचिका क्लिनिक, मंगलम स्वास्थ्य क्लिनिक, पुनम मेडिकल एन्ड क्लिनिक, चन्दन स्वास्थ्य क्लिनिक एन्ड फार्मेसीको कलेक्स प्रयोगशाला बन्द गराएको हो ।

त्यस्तै वरदान क्लिनिक प्रालि र शिला मेडिकल हलको क्लिनिकलाई बन्द गराएको उनले बताए । अनुगमन टोलीले अस्पताललाइनकै बुटवल डेन्टल प्रालिलाई पनि बन्द गरेको छ । बन्द गरिएका सबै क्लिनिक सञ्चालकलाई दर्ताको प्रमाणपत्र लिएपछि मात्र सञ्चालनका लागि अनुमति दिइने सहायक प्रमुख जिल्ला अधिकारी रानाले बताए ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully