परम्परा धान्न पञ्चैबाजा बजाउँछन् पाल्पाका महिला

जेष्ठ २१, २०८२

रासस

Women of Palpa play panchaibaza to keep the tradition

तानसेन — यहाँको रिब्दीकोट गाउँपालिका–३ का महिलाले पञ्जैबाजा बजाउने तालिम लिएर विवाह, व्रतबन्धलगायत धार्मिक उत्सव र सभासमारोहमा आफ्नो सीप देखाउन थालेका छन् ।

आदिवासी जनजाति समूहकी संयोजक अरुणा छहारीले पञ्चैबाजाको संरक्षण, परम्पराको जगेर्नासँगै आयआर्जनमा पनि सहयोग पुग्ने भएकाले गाउँपालिका र वडाको सहयोगबाट आफूहरूले बाजा बजाउन सिकेको बताइन् । 

पञ्चैबाजा भनिए पनि यो समूहमा नौ जनाको टोली आवश्यक पर्छ । दुई जनाले सनाई, दुई जनाले कर्नाल, दुई जनाले दमाहा बजाउँछन् । समूहमा एकएक जनाले ढोलकी, ट्याम्को र झ्याली बजाउँछन् ।

‘यो समूहमा ४० देखि ५५ वर्षसम्मका १६ महिला आबद्ध छन् । गाउँमा बाजा बजाउने युवा नहुँदा छिमेकी गाउँबाट बोलाउनुपर्ने थियो, छिमेकी गाउँबाट बाजा बजाउने जनशक्ति नआए संस्कार कार्य नै प्रभावित हुने अवस्था आएपछि महिलाहरूले बाजा बजाउने सीप सिकेर व्यवसाय थालेका छौँ,’ उनले भनिन् । 

पञ्जैबाजा संरक्षणका लागि महिलाहरू अघि सरेपछि त्यसमा पुरुषहरूले पनि साथ दिएको हुन् । बाजा बजाउनेदेखि त्यसका तालका विषयमा पुरुषले सहयोग गरेको संयोजक छहारीले बताइन् । 

संस्कृति संरक्षण र आत्मनिर्भरताका लागि गाउँपालिका र वडा कार्यालयले महिलाहरूका लागि तालिम दिएर बाजा किनिदिएपछि  समूहमा आबद्ध महिला बाजा बजाउन थालेका हुन् । युवा र पुरुषहरू विदेशिएका कारण जनशक्ति नहुँदा विवाह, व्रतबन्धजस्ता शुभकार्यमा बाजा बजाउने परम्परा र संस्कृति लोप हुन थालेपछि यहाँका महिलाले व्यावसायिक रूपमा बाजा बजाउने पेसा अपनाएका वडाध्यक्ष नारायणबहादुर केसीले बताए । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालका अनुसार गत वर्ष गाउँपालिकाबाट वडामा विनियोजन गरेको ५० हजार बजेटबाट बाजा खरिद गरिएकामा यस वर्ष ५० हजार बजेटमार्फत महिलालाई बाजा बजाउन सिकाइएको हो । सीप र सामग्री पाएपछि महिलाले व्यावसायिक रुपमा बाजा बजाउन थालेका हुन् । 

पञ्जैबाजा संरक्षण, परम्परा जगेर्नासँगै आयआर्जनमा पनि सहयोग पुग्ने समूहकी अस्मिता रुचालले बताए । ‘अहिले म ढोलकी सिक्दैछु, पहिला मादलसम्म बजाउन जानेको थिइनँ, सिक्दै जाँदा सबै बजाउन सकिने रहेछ । हामी  महिलाले बाजा बजाउन लागेका छौँ, यसले समाजमा ठूलो प्रभाव पार्नेछ’, उनले भने । समूहका १६ जनाले पञ्चैबाजा बजाउन तालिम लिएका थिए ।

रासस

Link copied successfully