५० रुपैयाँमै अँध्यारोबाट उज्यालोतर्फ

७ पालिकासँग सम्झौता, ६ पालिकाका १ सय ५६ बिरामीले लिए सेवा

जेष्ठ २१, २०८२

सन्तोष महतारा

From darkness to light in just 50 rupees

गुल्मी — इस्मा गाउँपालिका वडा नम्बर ५ का रविचन्द्र बस्नेत दुवै आँखाले बाहिरी संसार देख्न पाएपछि दंग छन् । गत माघमा बायाँ र जेठमा दायाँ आँखाको मोतिबिन्दुको शल्यक्रियापछि उनले बाहिरी संसार स्पष्टसँग देख्न पाएका हुन् । 

८ वर्षदेखि आँखामा समस्या भएका ४३ वर्षीय उनले दुवै आँखाको मोतिबिन्दुको शल्यक्रिया ५० रुपैयाँमै गरेका हुन् । ‘दृष्टिविहीन भएर बाँच्नुपरेको थियो’, उनले भने ‘निःशुल्क यसरी दुवै आँखा देख्ने हुँदा हर्षित छु ।’ उनले नाम दर्ता गराउन मात्रै ५० रुपैयाँ खर्चिएका थिए ।

रेसुङ्गा नगरपालिका वडा नम्बर १४ तुलबहादुर रेश्मी ७४ वर्षका भए । ३ वर्षदेखि आँखामा समस्या भएका उनले २ वर्षअघि दायाँ र हाल बायाँ आँखाको मोतिबिन्दुको शल्यक्रिया गरे ।

जताततै धमिलो देख्ने रेश्मीले अहिले स्पष्टसँग दुवै आँखा देख्ने भएका छन् । मात्रै ५० रुपैयाँ नाम दर्ता गराउने बाहेक एक रुपैयाँ पनि खर्च नभएको भन्दै उनले निःशुल्क सेवा पाएकोमा खुसी व्यक्त गरे । ‘यस्तो जटिल उपचारका लागि अन्यत्र जानै परेन’, उनले भने, ‘निःशुल्क इलाज गर्न पाए अरू केही चाहियो !’ स्वास्थ्य क्षेत्रमा राम्रो काम भएको उनले बताए ।  

त्यतिमात्र होइन, छत्रकोट गाउँपालिका वडा नम्बर ५ की ६० वर्षीया घिमकली बुचाले ४ वर्षदेखि आँखा नदेखेको स्मरण गरिन् । उनले यसरी बिना शुल्क उपचार पाएकोमा खुसी व्यक्त गरिन् ।

त्यस्तै, छत्रकोटकै कमला टण्डन ७६ वर्षीय बुबा चुरामणि कँडेलको निःशुल्क उपचार पाएपछि खुसीले गद्‌गद् भइन् । आँखामा समस्या भएपछि जाँच गर्दा मोतबिन्दुको समस्या पहिचान भएको उनले बताइन् । त्यसपछि मात्रै ५० रुपैयाँमा संसार देख्ने भएकोमा खुसी व्यक्त गरिन् ।

From darkness to light in just 50 rupees

यी त केही उदाहरण मात्रै हुन् । नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्रले पालिकासँग साझेदारी गरेर बिरामीको शुल्क पालिकाले तिर्न थालेपछि स्वयं बिरामीले मात्रै ५० रुपैयाँमै उपचार पाउन थालेका हुन् । गत सोमबार आँखाको शल्यक्रिया गरेका अधिकांश बिरामी ५० रुपैयाँमै अँध्यारोबाट उज्यालोतर्फ गएकोमा खुसी व्यक्त गरे । बिरामीको लुम्बिनी नेत्र विज्ञान तथा अनुसन्धान केन्द्र भैरहवाका वरिष्ठ आँखा विशेषज्ञ प्रा.डा.कवीन्द्र बज्राचार्यले शल्यक्रिया गरेका हुन् ।

हाल आँखा उपचार केन्द्रमा स्वास्थ्य बिमा भएका ज्येष्ठ नागरिकको निःशुल्क, स्वास्थ्य बिमा भएका अन्य बिरामीको २० प्रतिशत मात्रै र अन्य बिरामीको प्रति बिरामी ६ हजार रुपैयाँ पालिकाले तिर्ने सम्झौता भएपछि बिरामीले निःशुल्क उपचार पाएका हुन् ।

हाल यो सेवा रेसुङ्गा नगरपालिका, इस्मा, गुल्मी दरबार, छत्रकोट, रुरु क्षेत्र, सत्यवती र कालीगण्डकी गाउँपालिकाका नागरिकले पाएका छन् ।

चालु आर्थिक वर्षमा हालसम्म रेसुङ्गाका ५०, इस्माका २७, गुल्मीदरबारका ३७, छत्रकोटका २६, रुरुक्षेत्रका १४ र सत्यवतीका २ जना गरी जम्मा १ सय ५६ बिरामीले पालिकाले शुल्क तिरिदिने अन्तर्गतको सेवा लिएको आँखा उपचार केन्द्रका सूचना अधिकारी वीरबहादुर कार्कीले जानकारी दिए । जसमा यी पालिकाबाट बिमा भएका ज्येष्ठ नागरिकले निःशुल्क लिने सेवा अन्तर्गत ८३ जना बिरामीले यो सेवा लिएका छन् ।

यो बाहेक धुर्कोट गाउँपालिकाका २९, मदाने गाउँपालिकाका ८, मालिका गाउँपालिकाका १६, मुसिकोट नगरपालिकाका २८, अर्घाखाँचीका ९ र बाग्लुङका ५ बिरामीले यहीँ सेवा लिन भने शुल्क तिर्नुपरेको छ । बिमा भएका ज्येष्ठ नागरिक बाहेक अन्य बिरामीले शुल्क तिर्नुपरेको हो ।

चालु आर्थिक वर्षको हालसम्म यस आँखा उपचार केन्द्रमा जम्मा ३ सय ३० जनाको आँखाको मोतिबिन्दुको सफल शल्यक्रिया भएको छ । जसमा पालिकाले प्रतिबिरामी ६ हजार रुपैयाँ तिरिदिने १ सय २३ जना र बिमा भएका मात्रै २० प्रतिशत तिरिदिने ३३ जना बिरामीले शल्यक्रिया गराएका हुन् । 

नेपाल नेत्र ज्योति संघ जिल्ला आँखा उपचार केन्द्र गुल्मी र स्थानीय पालिकासँग यससम्बन्धी आर्थिक वर्ष २०७९/०८० देखि सम्झौता भएर सेवा प्रदान भइरहेको छ । रेसुङ्गा, इस्मा र गुल्मी दरबारले यससम्बन्धी सेवा प्रारम्भ गरेका थिए ।

त्यसपछि यस सम्झौतामा छत्रकोट, रुरुक्षेत्र, सत्यवती र कालीगण्डकी जोडिएका छन् । अब लगत्तै धुर्कोट गाउँपालिका पनि यस सेवा सम्झौतामा समावेश हुन लागेको आँखा उपचार केन्द्रका कार्यालय प्रमुख सूर्यबहादुर बस्नेतले बताए ।

उनका अनुसार, शिविरमार्फत पनि बिरामीले निःशुल्क सेवा पाएका छन् । चन्द्रकोट, सत्यवती, रुरु क्षेत्र गाउँपालिका र मुसिकोट नगरपालिकाका शिविरमार्फत १ सय ३८ जनाले निःशुल्क सेवा लिएका छन् । यसमा मुसिकोटमा बाहेक अन्य पालिकाले भने शिविरमा उपचार केन्द्रलाई सहयोग गरेका थिए । 

नेपाल नेत्रज्योति संघ जिल्ला आँखा उपचार केन्द्र गुल्मीका अध्यक्ष अखिलेश्वरप्रसाद पाण्डेले बिरामीको सहजताका स्थानीय पालिकासँग सम्झौता गरेर सेवा प्रदान गर्न थालिएको बताए । ‘हामीले पालिकास्तरमा सेवा बिस्तार र सम्झौता गरेर बिरामीलाई सहज बनाएका छौँ’, उनले भने, ‘हामीसँग नजोडिएका पालिका पनि बिस्तारै जोडिँदैछन् ।’

हाल आँखा उपचार केन्द्रले मुसिकोटको वामीटक्सार, चन्द्रकोटको शान्तिपुर, मालिकाको सिमलटारी, मदानेको पुर्कोट दह र  रुरु क्षेत्रको रिडीमा शाखा सञ्चालन गरी सेवा प्रदान गरेको छ । अब लगत्तै कालीगण्डकीको पुर्तिघाटमा शाखा सञ्चालन गर्ने तयारी छ । गत वर्ष साउनदेखि स्वास्थ्य बिमा कार्यक्रमसँग आबद्ध भएपछि आँखा उपचार केन्द्रका सेवा लिनेको संख्यामा वृद्धि भएको छ । हाल दैनिक औसत ६० देखि ७० जनाले सेवा लिएका छन् ।

आँखा उपचार केन्द्रमा प्रत्येक महिना ११, १२ र १३ गते आँखाको शल्यक्रिया सम्बन्धी उपचार हुने गर्दछ । यी ३ दिन आँखा जाँच, शल्यक्रिया र डिस्चार्ज हुने गर्दछ ।

सन्तोष महतारा

Link copied successfully