बुटवलमा लालपुर्जाविहीन जमिनको नापजाँच सुरु

जेष्ठ २०, २०८२

सन्जु पौडेल

Survey of land without Lalpurja started in Butwal

तिलोत्तमा — बुटवल उपमहानगरपालिकामा लालपूर्जाविहीन क्षेत्रको जग्गा नापजाँच सुरु भएको छ । उपमहानगरपालिकाको प्राविधिक सहयोग र समन्वयमा भूमि समस्या समाधान आयोग रुपन्देहीले वडा नम्बर १२ र १३ मा जग्गा नापजाँच सुरु गरेको हो ।

बुटवलका वडा नम्बर-१२ दुर्गानगर र वडा नम्बर-१३ को तारा टोलमा नापजाँच नभएका जग्गाको नापजाँचका लागि काम थालिएको प्रमुख खेलराज पाण्डेयले बताए । उनले बुटवलका लालपूर्जाविहीन सम्पूर्ण जग्गाको नापजाँच गरी साउनभित्रै लालपूर्जा वितरण गर्ने बताए ।

'यसअघि बुटवल ११ मजुवाका ५ वटा टोलमा १ हजार ७ सय ५० घरघडेरीको नापजाँच सकिएको छ,' उनले भने, 'त्यसअघि बुटवल ११ प्रगतिनगर १ हजार ७ सय ५२, बुटवल २ पाखापानी, मनकामना टोल, सिर्जनानगरमा ९ सय ५०, बुटवल १४ कैलाशनगर ६५ वटा, बुटवल १४ विनायकपुर १०० जति घरघडेरीको नापजाँच भइसकेको छ ।' प्रक्रिया पूरा भएका जग्गाको लालपूर्जा दिने तयारीका साथ बुटवल उपमहानगरपालिका र भूमि समस्या समाधान आयोगले काम गरिरहेको उनले बताए ।

भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाले बुटवल उपमहानगरपालिकाको क्रियाशीलताका कारण सबैभन्दा सुरुमा बुटवलमा लालपूर्जा वितरण हुने गरी काम भइरहेको बताए । उनले प्रक्रिया पूरा भएका घरघडेरीको लालपूर्जा दिने गरी काम अगाडि बढेको बताए ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully