सार्वजनिक सवारी चढ्ने सर्वसाधारणलाई सरकारले वास्तै नगरेको गुनासो
लुम्बिनी — पर्वत घर भएका नारदप्रसाद भुसाल गएराति सुनौली हुँदै नेपाल प्रवेश गरे । सोमबार आफन्तकहाँ बसेर मंगलबार घर जान बिहानै बुटवल बसपार्क आएका उनी दिनभर बस कुर्दै बसेका छन् । केही महिनाअघि भारत घुम्न गएका उनलाई फर्कने बेला न परिवारले यातायात बन्दबारे जानकारी दियो न कतैबाट थाहा पाए ।
‘फिर्ता आफन्तीकहाँ जान पनि भएन, यस्तो समस्या झेल्नुपर्ला भन्ने लागेको भए आफन्तीको बाट पनि नहिँड्नुपर्ने रहेछ, अब कति केकसो गर्ने भन्ने भएको छ,’ उनले भने ।
उनीजस्तै बोरामा भाँडाकुँडा र लत्ताकपडा बोकेर विराटनगर पुग्नुपर्ने ७ जनाको समूह बसपार्कमै बसेको थियो । उक्त समूहमा रहेका वसन्त क्रृषिदेवले आफूहरूले सूर्यपुरामा पुल बनाउने काम गर्न आएको र घर जाने बेलामा गाडी रोकिएको बताए । उनका अनुसार ४० दिनदेखि उनीहरूलाई घरतिरकै ठेकेदारले काम गर्न रुपन्देही ल्याएका थिए । उनी काम सकेर घर पुगिसके । वसन्त र साथीहरूलाई बसमा आउन भनेर छोडे ।
‘ठेकेदारले घरमै गएर पैसा दिन्छु भनेर हिँडिसके । हामीसित त पैसा पनि छैन, रातभरि बसपार्कमा सुत्यौं, खानेकुरा छैन, हिजो बेलुका चाउमिन खाएको अहिलेसम्म भोकै छौं,’ वसन्तले भने, ‘भाँडाकुडा त छ, पकाउने कुरा किन्न एक सुको छैन, गाडीकै भाडा पनि ठेकेदारले त्यहीँ पुगेर तिर्छु भनेको छ ।’ अझै पनि गाडी चल्ने निश्चित नहुँदा आफूहरूको विचल्ली भएको उनले दु:खेसो गरे ।
यातायात व्यवसायीले सवारी ठप्प पारेर सरकारसँग वार्ता गरिरहे पनि सर्वसाधारणको यात्रा प्रभावित भएकोबारे कसैले ध्यान दिन सकेको छैन । सोमबार र मंगलबार रुपन्देहीका मुख्य सडकमा छोटो तथा लामो दूरीका कुनै पनि बस चलेनन् । बस चल्ने आशमा बसपार्कमै रात बिताएका कतिपयले गाडी रिजर्भ गर्न पाए पनि जाने भनिरहँदा समेत व्यवसायीले अन्य गाडीलाई यात्रु लगेमा केही गर्छन् कि भन्ने त्रास फैलाएका छन् । साना गाडी, टिपर, जिपले समेत मानिसलाई चढाएर गन्तव्यसम्म पुर्याउने सहयोग गर्न मानेका छैनन् ।
सधैं चहलपहल र भिडभाड हुने बुटवल बजार पनि सार्वजनिक सवारी बन्दका कारण सुनसान छ । पसलमा ग्राहकको संख्या न्यून देखिन्थ्यो । फलफूल, तरकारी पसलमै पनि ग्राहक नआएर व्यापारी झोंक्राइरहेका देखिन्छन् ।
अर्घाखाँचीबाट जापान जान तीन दिनअघि नै बुटवल आएर गेस्ट हाउसमा बसेका पदमबहादुर भाट पैसा सकिन लागेपछि पिरमा परेको बताउँछन् । घरदेखि बिदावारी भएर आएका उनलाई साताभित्र उड्न नपाए भिसा रद्द हुने चिन्ता छ । पहिले बहराइन, साउदी अरब गएर आएका उनले काम गर्ने सिलसिलामै जापान जान थालेको बताए । साना गाडीमा जान महँगो भाडा तिर्न पनि नसकिने र सार्वजनिक सवारी व्यवसायीले नचलाउन धम्क्याएकाले जोखिम मोलेर हिँड्न नसकेको उनले बताए । देशमा बसेर केही गर्ने उपाय नदिने सरकारले फेरि यस्तो बेलामा हैरानी दिएको उनको गुनासो छ ।
बुटवल बसपार्कमा मंगलबार अलपत्र अवस्थामा रहेका धेरै यात्रु भाडा तिर्ने पैसा खाना र होटलमा बस्दा सकिएकाले गन्तव्यसम्म कसरी पुग्ने भन्ने समस्या आइरहेको बताइरहेका थिए । सुनौलीदेखि ८ सय रुपैयाँ इरिक्साको भाडा तिरेर बुटवल बसपार्क पुगेको भारत गोरखपुरका अतुल सोनीको परिवार गाडी नचले फिर्ता जानेबाहेक उपाय नरहेको बताइरहेका थिए । काठमाडौं घुम्नका लागि अतुल, उनकी श्रीमती र २ छोरा बुटवलसम्म आएका थिए । ‘गाडी चलेको छैन नजाउ भनेर रिक्साको मानिसले पनि भनिदिएनन्,’ उनले भने, ‘बच्चासित कति गाह्रो भइरहेको छ, घुम्न भनेर हिँड्दा बाटोमै रोकिनुपरेपछि हामी त फस्यौं ।’
त्यस्तै, भारतबाट २ वर्षपछि बिदामा घर आएका पोखरा, प्यूठान, रोल्पा र हरैया घरभएकाहरू पनि बसपार्कमा गाडी परिर्खरहेका थिए । ‘बाटोमा फेसबुक हेर्दा पनि बन्दको कुरा थाहै पाइएन, यता पुगेर दु:ख पाइयो, दुई दिन यतै भइसक्यो, गाडी चल्ने सुरसार छैन,’ छोरालाई गाउँको विद्यालयमा भर्ना गर्न घर गइरहेका प्यूठानका तिलक पुनले भने । उनले आफू, परिवार र साथीसमेत आएकाले एक्लै छोडेर हिँड्न नमिलेको सुनाए । धेरैजसो यात्रु खर्च सकिएर बाटोमै अलपत्र परेको उनले बताए । ‘अचेल हामी पहिल्यै पैसा घरमा ट्रान्सफर गरेर हिँड्ने चलन छ । खर्च सकिएर भौंतारिएका छौं, पोखरा जाने एक साथीले त ६ हजार घरबाट मगाएर होटलमा बसेर बस कुरिहेको छ,’ उनले सुनाए ।
चर्को गर्मीमा रातदिन पर्खनु पर्दा सार्वजनिक सवारीसाधन प्रयोग गर्नेलाई धेरै सास्ती भए पनि समस्या देख्ने कोही नभएको यात्रुहरूको गुनासो छ । सीमापारिबाट यहाँसम्म पुग्न पनि भारतबाट भित्रिएका नेपाली हुन् वा भारतीय; इरिक्सा, साना सवारीसाधनमा महँगो भाडा तिरेर आउन बाध्य भएका छन् ।
