जनप्रतिनिधिलाई स्थानीयले भने : बाँदर धपाइदिनुस्

जेष्ठ १९, २०८२

वीरेन्द्र केसी

The locals said to the public representative: Please drive away the monkey

अर्घाखाँची — योजना संकलन गर्न गाउँ पुगेका जनप्रतिनिधिलाई स्थानीयले बाँदर र बँदेल धपाइदिन माग गरेका छन् । सोमबार वाङलाको आम्बोट पुगेका सन्धिखर्क नगरपालिका–५ का वडाध्यक्ष ऋषव अधिकारी, वडा सदस्य कृष्ण भुसालसहितको टोलीलाई कृषि उद्यमबाट युवालाई स्वरोजगार बनाउन बाँदर धपाउनुपर्ने वा विकल्पमा खेती गर्न बजेटसहितको नयाँ योजना ल्याउन सुझाव दिएका हुन् । 

‘खेती गर्छौं, बाँदर खेतबारीमा पसेर छिनभरमै अन्नबाली, तरकारी, फलफुल  साखप पारिदिन्छ,’ स्थानीय कुलचन्द्र भुसालले भने, ‘दुःख गरेर उत्पादन गर्छौ, दिउँसोमा बाँदर र रातिमा बँदेलले नोक्सान गरिदिन्छ । वडाध्यक्षज्यू, कसरी कृषि उद्यमी बन्ने ? कसरी बसेर, के खाएर बाँच्ने ? ।’  छरछिमेक मिलेर बारीबाट बाँदर त लेखेट्छौं, वनमा भएका अग्ला सल्लाका रुखको टुप्पोमा गएर बस्छ । फेरि मान्छे नदेखेपछि बारीमा आइहल्ने उनले बताए । 

सल्लाका रुखले पानीका मुहान सुकाएकाले पनि वन कार्यालयसँग समन्वय गरिदिएर सल्लाको जंगल फाँडिदिन उनले जनप्रतिनिधिलाई अनुरोध गरे । ‘सल्लाले पानीका मुहान सुक्दा पिउनसमेत नहुने, बाँदरको बासस्थान बनेको छ,’ स्थानीय तिलक भुसालले भने, ‘कि बाँदर धपाइदिनुस्, कि बाँदरले नोक्सान नगर्ने खेती भित्राइदिनुस् । दुःख गरेर के गर्ने खेती गर्‍यो, सबै वन्यजन्तुलाई आहारा हुन्छन, हामी कसरी गाउँमा बस्ने ? ’

सोमबार गाउँका स्थानीयसँग भेटघाट र भेला गरेर योजना माग्न पुगेका जनप्रतिनिधि र कर्मचारीलाई सबै गाउँलेले वन्यजन्तुकै समस्याका कारण उठिबास हुन लागेको गुनासो पोखे । गंगाबहादुर कुमालले रैथाने बाली लोप हुँदै गएकाले यसको संरक्षण गर्नुपर्ने जोड दिए । उनले वन्यजन्तु र खानेपानीको समस्याको कारण व्यवसायीक तरकारी खेती, अन्नबाली, दूध उत्पादनका लागि गाईभैंसी, मासुका लागि कुखुरा, खसीबोका पाल्नको लागि चुनौती भएको बताए । 

स्थानीय डिलाराम बञ्जाडेले राम्रो पढाइ खोज्दै अभिभावक छोराछोरी लिएर सहरमा डेरा गरी बस्ने क्रम बढ्दो भएकाले गाउँकै सामुदायिक स्कुलमा कम्युटर र अंग्रेजी माधयमबाट पढाइलाई उपल्लो कक्षामा पुर्‍याउनुपर्ने बताए ।

त्यस्तै वडाभित्रका सबै मोटरबाटो पिच, घरघरमा खानेपानीका धारा, सिँचाइ सुविधा, पूर्वाधार विकासलगायतका ४० वटा योजनाको छलफलमा स्थानीयले माग गरेको वडा सदस्य कृष्ण भुसालले बताए । वडाका सबै गाउँमा इन्टरनेट सुविधाका लागि १४ स्थामा वाइफाई सेट राखिएको छ । स्थानीयले उठाएका सबै विषयमा वडा कार्यालय र सन्धिखर्क नगरपालिकको बैठकमा छलफल गरेर मात्रै बजेट विनियोजन गरिने उनले बताए ।

वीरेन्द्र केसी

Link copied successfully