तिलोत्तमा — रुपन्देहीको कोटहीमाई गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामनिवास यादवको निधन भएको छ । गत बुधबार सवारी दुर्घटनामा घाइते भएका यादवको सोमबार उपचारका क्रममा भारतको लखनऊमा निधन भएको हो ।
कोटहीमाई गाउँपालिका पूर्ण खोप तथा पूर्ण संस्थागत प्रसूति पालिका सुनिश्चितता दिगोपना घोषणा कार्यक्रम सकिएपछि भैरहवा फर्कने क्रममा मोटरसाइकल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलतर्फ पछाडिको सडकमा अनियन्त्रित भइ पल्टिँदा यादव घाइते भएका थिए ।
दुर्घटनापछि उनलाई उपचारका लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल लगिएको थियो । स्वास्थ्यमा सुधार नआएपछि यादवलाई थप उपचारका लागि शनिबार भारतको लखनऊ लगिएको थियो । उपचारका क्रममा आज दिउँसो २ बजे उनको निधन भएको कोटहीमाई गाउँपालिकाले जानकारी दिएको छ ।
यादवको निधनप्रति शोक दुःख गर्दै गाउँपालिकाले जेठ २० गते मंगलबार (भोलि) शोक बिदा दिएको छ । गाउँ कार्यपालिकाको कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्थाहर
मा अतिआवश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द रहने गरी शोक बिदा दिइएको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले जानकारी दिए ।
