घाटगड्डी नगरी गिटी-बालुवा सिधै क्रसरमा, 'आँखा चिम्लँदै' पालिका

सम्झौताबमोजिम ठेकदार कम्पनीले उत्खनन गरेर घाटगड्डीमा गिटी–बालुवा नथुपारी सिधै क्रसर उद्योगमा पुर्‍याएपछि संरक्षणकर्मी र सरोकारवालाको आलोचना

जेष्ठ १८, २०८२

दीपेन्द्र बडुवाल

Ghatgaddi city gravel-sand directly in the crusher, 'eyes catching' city

भैरहवा — आर्थिक वर्षको अन्तिममा स्थानीय तहले आफ्नो क्षेत्रका खोलानालाबाट गिटी–बालुवा उत्खननका लागि ठेक्का आह्वान गर्छन् । यस्ता ठेक्का सकार्न ठेकदार कम्पनीबीच होडबाजी चल्छ । व्यक्तिदेखि राजनीतिक चलखेल गरेर ठेक्का सकार्ने ठेकदारले उत्खननका क्रममा पालिकासितको सम्झौता भने कार्यान्वयन गरेको पाइँदैन । पालिकाले पनि ठेकदारले सम्झौताबमोजिम उत्खनन गरे/नगरेको नियमनमा आँखा चिम्लिने गरेका छन् । 

यस वर्ष पनि रुपन्देहीका बुटवल उपमहानगरपालिका, देवदह, तिलोत्तमा नगरपालिका र सियारी, सुद्धोधन र गैडहवा गाउँपालिकाले आफ्नो क्षेत्रका खोलानाला उत्खननका लागि ठेक्का लगाइसकेका छन् । मध्य जेठमा ठेक्का आह्वान गरेका पालिकाले ठेक्का लगाएपछि अहिले जिल्लाका तिनाउ, दानव, भुलही, चरङगे लगायत खोलामा उत्खनन तीव्र छ ।

ठेकदार कम्पनीले सम्झौताबमोजिम खोला उत्खनन गरेर घाटगड्डीमा गिटी–बालुवा नथुपारेर सिधै क्रसर उद्योगमा पुर्‍याएपछि संरक्षणकर्मी र सरोकारवालाले आलोचना गरेका छन् । 

जिल्लाका नागरिक अगुवाका अनुसार ठेकदार समूहले पालिकासित गरेका सम्झौता र नियम–कानुनको खिल्ली उडाएर घाटगड्डी नगरी नदीजन्य सामग्री क्रसरमा पुर्‍याउने गरका छन् । ‘उत्खनन र घाटगड्डीको अनुगमन गर्ने जिम्मेवारी पाएका पालिकाले नै नियमनमा आँखा चिम्लिने गरेका छन्,’ सियारी–३, का एक बासिन्दाले भने, ‘पालिकाले नियोजित रुपमा वर्षा सुरु हुने बेला र आर्थिक वर्ष सकिने बेलामा ठेक्का लगाएका हुन् । यसको उद्देश्य नदीजन्य पदार्थमा गोलमाल गर्ने नै हो ।’ उनका अनुसार ठेकेदारले खोला उत्खनन गरेर जम्मा भएको गिटी–बालुवा तिनाउ किनारमा रहेका क्रसर उद्योगमा पुर्‍याइरहेका छन् । 

अहिले तिनाउ र दानवका संवेदनशील संरचनाका आसपास नै उत्खनन भइरहेको छ । सुद्धोधन–६, स्थित नागेश्वर घाटमा गरिएको उत्खननका कारण पक्की पुल जोखिममा परेको छ । उक्त पुलले पालिकाको ६ र १ नम्बर वडालाई जोडेको छ । पुल सञ्चालनमा नआउँदै उत्खननका कारण जोखिममा परेको स्थानीय जितबहादुर रानाले बताए । उनका अनुसार पालिकाअन्तर्गत सिमरा, पनौता, कोलुवा, गुरौंली, धनौंरा, मधुवनी, बोहरवा र बेलवा घाटमा उत्खननका लागि ठेक्का लगाइएको छ । यीमध्ये सिकौरा र धनौंरा घाटबाट आयोजनाका लागि भन्दै गिटी–बालुवा उत्खनन भइरहेको छ ।

कटान रोकथाम नगरी भइरहेको उत्खननले बस्ती नै जोखिममा परेको रानाले बताए । ‘खोला आसपास बस्ने हामीलाई कुनै जानकारी हुँदैन,’ उनले भने, ‘वर्षा सुरु हुने बेला आउँछन्, मनपरी खोला उधिनेर गिटी–बालुवा लिएर जान्छन् ।' 

खोला र नदी आसपासका स्थानीय बासिन्दाले कागजमा मात्र अनुगमन हुने गरेको गुनासो गरे । उनीहरुका अनुसार स्थानीय तहले खोलामाथि भइरहेको ज्यादतीलाई बेवास्ता गर्ने गरेका छन् । स्थानीय तह सञ्चालनपछि खोला उत्खननका लागि ठेक्कामा लगाउने र अनुगमन गर्ने जिम्मेवारी पालिकासित छ । जिल्लाका धेरै स्थानीय तहको राजस्व आम्दानीको स्रोत नदीजन्य पदार्थ हुन् । ठेकदारले भने मौकाको फाइदा उठाउँदै वातावरणीय प्रभाव मूल्यांकन गरेको क्षेत्रभन्दा बाहिर पनि उत्खनन गर्ने गरेका छन् ।

पालिकाले ठेक्का सकार्ने पक्षसित उत्खननका लागि विभिन्न बुँदामा सम्झौता गर्दै आएका छन् । सम्झौताअनुसार पालिकाको रोहबरमा उत्खनन स्थलको चारैतर्फ सीमांकन गरेर त्यही क्षेत्रबाट मात्र उत्खनन गर्नुपर्ने सर्त राखिएको हुन्छ । यसरी उत्खनन गरिएका नदीजन्य पदार्थ तोकिएको स्थानमा मात्र घाटगड्डी गर्नुपर्ने प्रावधान छ । 

Ghatgaddi city gravel-sand directly in the crusher, 'eyes catching' city

उत्खननका लागि तिलोत्तमा नगरपालिका–६ अन्तर्गत गोरकट्टा, हरपुर र बागदुरा नाका, देवदह नगरपालिकाअन्तर्गत चरङगे, भलुही, घोडाहा र खैरहनीबाट उत्खनन भइरहेको छ । यी क्षेत्रबाट उत्खनन गरेर गिटी–बालुवा सिधै क्रसर उद्योगमा पुर्‍याउने गरिएको सरोकारवालाले आरोप लगाएका छन् ।

तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले खोला उत्खननका क्रममा कुनै किसिमका विकृतिलाई निरुत्साहित गरिएको बताए । यसपटक नगरपालिकाले आयोजनाका नाममा उत्खननका लागि ठेक्का नलागाएर प्रतिस्पर्धात्मक किसिमले बोलकबोल माध्यमबाट काम गराइरहेकाले कुनै अनियमितता नभएको दाबी गरे । पालिकाले नियमित उत्खनन र घाटगड्डी स्थलको अनुगमन गरिरहेको उनको भनाइ छ । 

जिल्ला प्रशासन कार्यालयले ठेकेदारले खोलाबाट गिटीबालुवा झिकेपछि भण्डारण गरेको स्थानमा कति सामग्री मौज्दात छ भनेर प्रमाणित गराएपछि मात्रै कारोबार गर्न सक्ने जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले आयोजनाले उत्खनन गर्नासाथ कच्चा अवस्थामै निर्माण सामग्री नलैजाने बताए । ‘नदीजन्य पदार्थ प्रशोधन गरेपछि मात्रै आयोजनामा उपलब्ध गराउने गरी क्रसर उद्योगसित सम्झौता भएको हुन्छ,’ उनले भने, ‘आयोजनाले सिधै नलैजाने भएकाले कुनै न कुनै बेला गडबडी हुन सक्छ । यसमा पालिका चनाखो हुनुपर्छ ।’

प्रशासनले घागगड्डीमा सामग्रीको परिमाण र वातावरणीय प्रभाव मूल्यांकन भए/नभएको मात्रै हेर्ने उनले बताए । ‘पालिकाले ठेक्का लगाएको ठाउँबाट कसरी माल अन्त जान्छ भन्नेबारे सम्बन्धित पालिकाले नियमन गर्ने हो,’ उनले भने, ‘खोलाबाट उत्खनन भएका नदीजन्य पदार्थ कहाँ गइरहेका छन भनेर पालिकाले हेरिदिनुपर्‍यो ।’

दीपेन्द्र

Link copied successfully