पाल्पा बन्यो पूर्णखोप सुनिश्चिता दिगोपना

जेष्ठ १७, २०८२

माधव अर्याल

Palpa became a complete vaccine and ensured sustainability

पाल्पा — पाल्पाका दुई नगरपालिका र आठ गाउँपालिका पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा भयसँगै जिल्लालाई घोषणा गरिएको छ । 

मुलुकमै पहिलो पटक पाल्पा जिल्ला २०७० साल फागुन १३ गते पूर्ण खोप जिल्ला घोषणा भयसँगै लुम्बिनी प्रदेशस्तरीय पूर्ण खोप प्रदेश घोषणा २०७९ भदौ ३१ गते भएको हो । चार वर्षदेखि पाल्पा पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा हुँदै आएको स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुक प्रसाद पोखरेलले जानकारी दिए । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक नेत्रप्रसाद अर्यालले जिल्ला खोप समन्वय समिति प्रमुख तथा जिल्ला समन्वय प्रमुख टंकनाथ खनाललाई पूर्ण खोप सुनिश्चितता दिगोपना भएको प्रमाणपत्र प्रदान गरेका हुन् । 

घोषणा कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले पाल्पा जिल्ला लुम्बिनी प्रदेशमा लगातार दुई पटकसम्म प्रथम भएको बताए । स्वास्थ्यमा पाल्पा जिल्ला अगाडी रहेको उनले बताए । ‘सरकारले नसर्ने रोगविरुद्धको स्क्रिनिङ्गमा लक्ष्य भन्दा बढी उपलब्धि हासिल गरेको छ,’ फरक प्रसङ्गमा उनले भने, ‘यसमा पनि पाल्पाले राम्रो काम गर्दै आएको छ ।’ पाल्पाले १३ हजार २९६ जनाको स्क्रिनिङ्ग गरेर लक्ष्य भन्दा १०८ प्रतिशत उपलब्धि हासिल गरेको उनले बताए । 

लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य प्रशासक अर्यालले पूर्ण खोप दिगोपना सुनिश्चितता अभियानले स्वास्थ्यको प्रणाली सुधार, दिगो विकासमा योगदान, मातृ तथा शिशु स्वास्थ्यमा सहयोग पुग्ने बताए । सबै स्थानीय तहका ८१ वटै वडामा गत वैशाख ११ देखि जेठ १ गतेसम्म अनुगमन गरी जन्मेदेखि एक वर्षभित्रको बच्चाको लक्ष्य ४ हजार ५ र १२ वर्षदेखि २३ महिनाका बच्चाको लक्ष्य ३ हजार ८ सय ९९ रहेको थियो ।

सबै गाउँ तथा नगरपालिकाले चालु आर्थिक वर्षमा जन्मेदेखि १५ महिनाको बच्चाको संख्या २ हजार ९ सय ३७ जनाको घरमा घरभेट कार्य गर्दा त्यस उमेर समूहका कुने पनि बालबालिका शून्य डोज र ड्रप आउट नभेटिएको पाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पोखरेलले बताए । खोप सर्भेक्षणबाट प्राप्त १६ देखि ५९ महिनाको बालबालिकाको संख्या १० हजार ५ सय ५३ जना, २४ देखि ५९ महिनाका ८ हजार ६ सय ८३ मध्ये सर्वेक्षणमा भेटिएका ६ जना बालबालिका ड्रप आउट उपभोग नभएको भेटिएको उनले बताए । 

जिल्लाका ८१ वटै वार्ड र १० वटै स्थानीय तहमा ९५ प्रतिशत भन्दा बढी बालबालिकालाई पूर्ण खोप दिएपछि जिल्ला पूर्ण खोप सुनिश्चितता जिल्ला भएको जिल्ला समन्वय समितिका प्रमुख खनालले बताए । १६ देखि ५९ महिनासम्मका सबै बालबालिकाहरूलाई १५ महिनाको उमेर भित्र पर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चितता गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता, दिगोपना घोषणा गरिएको उनले बताए । 

जिल्ला खोप समन्वय समितिले जिल्लामा सबै वार्डमा पुगी पूर्ण खोप लगाए नलगाएको अनुगमन र प्रमाणित गरेपछि मात्रै जिल्लालाई पूर्ण खोप सुनिश्चितता, दिगोपना भएको जिल्लाको रूपमा घोषणा गरिन्छ । स्वास्थ्य कार्यालयका अनुसार गत चार आर्थिक वर्षको नियमित खोप कार्यक्रमको प्रगति अवस्था तुलना गर्दा पूर्ण खोपको सूचक लक्ष्य अनुसार प्रगति कम देखिएको, जनसंख्या वृद्धिदर ऋणात्मक अवस्था रहेको, अक्षित बालबालिकाको जनसंख्या नमिल्ने तथा केही बालबालिका बुबाआमासँग भारत रहँदा केही खोपको मात्रा उतै लिने र केही छुट भएको पाइएकाले ड्रप आउट भेटिएको हो । 

खोप पहुँच र उपभोगलाई बढाउन तिनै तहमा खोप सम्बन्धी समन्वय, सहकार्य र अपनत्व अझै बढाउने, साउन महिनाको पहिलो साताभित्र खोपको सूक्ष्म योजना व्यवहारिक र प्रभावकारी बनाइनेछ । फागुन महिनादेखि नै सर्वेक्षण तथा लाइनलिष्टिङ गर्नुपर्नै, वैशाख महिनालाई खोप महिना मनाई वैशाख महिनामै सुनिश्चितता गर्नुपर्ने हुन्छ । खोपबाट कुनै पनि बालबालिका नछुटाउनका लागि विद्यालय भर्नाको समयमा ५ वर्ष मुनिका बालबालिकाहरूको खोप कार्ड अनुगमन गर्ने जस्ता विषयलाई ध्यान दिन कार्यालयबाटै सुधार गर्नुपर्ने निमित्त प्रमुख पोखरेलले बताए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully