भैरहवा — मुलुकको हस्पिटालिटी क्षेत्रमा दक्ष कामदार आपूर्ति गराउने उद्देश्यले शनिबारबाट रूपन्देहीको भैरहवामा १० दिने बारिस्टा तालिम सुरु गरिएको छ । स्वीस सरकारको सहयोगमा नेपाल होटल एसोसिएसन (हान) केन्द्रीय समितिले तालिम सञ्चालन गरेको हो ।
रूपन्देहीका विभिन्न क्षेत्रबाट आएका २० जना युवा सहभागी कार्यक्रमको संयोजन हान लुम्बिनी प्रदेश समितिले गरिरहेको छ । हान लुम्बिनी प्रदेश संयोजक चन्द्रप्रकाश (सीपी) श्रेष्ठले दक्ष कामदार उत्पादन गरेर मुलुकभित्रै होटल र रेस्टुरेन्टमा टिकाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए । दक्ष कामदारको अभाव पूर्तिका लागि होटल एसोसिएसनले प्रदेशका पाल्पा, बर्दिया लगायत जिल्लामा लगत्तै यस्ता तालिम आयोजना गर्न लागेको पनि उनले जनाए ।
तालिमका प्रशिक्षक चिरन ढुंगानाले १० दिनको अवधिमा प्रशिक्षार्थीलाई कफीको दानादेखि कसरी कपमा पस्किएर ग्राहकसमक्ष पुर्याउने भन्ने कला सिकाइने बताए । ‘कफीको इतिहास, उत्पादन, यसको महत्त्वबारे सिकाइनेछ,’ उनले भने, ‘कफी बनाउने मेसिन सञ्चालनदेखि त्यसको मर्मत कसरी गर्ने भन्नेबारे यस अवधिमा सिकाइनेछ ।’ बढ्दो कफी कल्चरबारे जानकारी गराएर कसरी ग्राहकलाई सन्तुष्ट तुल्याउने भन्नेबारे जोड दिएर आफूले ज्ञान दिने उनले बताए ।
होटल एसोसिएसन नेपालका केन्द्रीय अध्यक्ष विनायक शाहले कामदारको दक्षता वृद्धिले मात्रै हस्टिालिटी क्षेत्रको स्तर वृद्धि गर्ने भएकाले स्वीस सरकारसित सहकार्यमा तालिम सञ्चालन गरिएको जानकारी दिए । ‘अहिले सिकेका कुरा भोलिका दिनमा विश्वका जुनसुकै कुनामा गए पनि काम लाग्छ,’ उनले भने, ‘आफूसित सीप भएको खण्डमा तुरुन्त काम पाइन्छ ।’ लुम्बिनी प्रदेशका पहाडी जिल्लामा कफी उत्पादन हुने भएकाले यहाँ कफी कल्चरको विकासमा टेवा पुगोस् भनेर तालिम सुरुवात गरिएको उनले बताए ।
उनका अनुसार तालिममा उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीलाई २४ महिनासम्म व्यावहारिक र प्रयोगात्मक तालिम प्रदान गरिनेछ । लामो अवधिको तालिममा सहभागी हुनेलाई सातामा एक दिन व्यावहारिक र पाँच दिन विभिन्न होटलमा प्रयोगात्मक कक्षा सञ्चालन गरिनेछ । ‘होटलमा सित्तैँमा प्रयोगात्मक कक्षामा सहभागी गराइने छैन,’ अध्यक्ष शाहले भने, ‘पहिलो दिनबाटै तालिमरतलाई पारिश्रमिक उपलब्ध गराइनेछ ।’
