वन जोगाउन रातभर टहरामा बास 

जेष्ठ १६, २०८२

वीरेन्द्र केसी

Stay overnight in tahara to protect the forest

अर्घाखाँची — जंगलभित्र एउटा छाप्रो छ। वरिपरिका रुखमा झोला र प्लास्टिकका थैलै थैला झुन्डाइएको छ। त्यहाँ नुन तेल, बेसार, दाल चामल, तरकारी र फेर्ने लुगा राखिएको छ। भुईँमा पराल र गुन्द्री चकटी बिच्छाइएको छ। यहीँ बसेर आशारानी थारु र रामपति थारुले ढुंगाको चुलोमा दैनिक २० देखि ३० जनालाई भात पकाउँछन्।

वनमा काम गर्ने गाउँलेलाई उनीहरूले चैतदेखि खाना पकाएर खुवाएका छन्। बिहान बेलुका खाना, दिउँसो खाजा, चिया पकाएर खुवाएर खुवाउँछन्। गर्मीले उनीहरूको शरीर निथ्रुक्क भिजेको हुन्छ। 

‘यसरी जंगलमै बास बसेर खाना पकाएर खुवाउने वनमा काम गर्ने गाउँलेलाई हो,’ रामपतिले भनिन्, ‘यति बेला वनमा काठ काट्ने, रुखविरुवा भित्र झाडी फाँड्ने, सफा गर्ने, आगलागीबाट जोगाउन अग्नी रेखा र फायर लाइन बनाउने काम भइरहेको छ। अर्को काठ दाउरा र वन्यजन्तु चोरी सिकारी हुनबाट बचाउनु पनि हो।’

उनीहरू सहित दिनभर काम गर्ने उपभोक्ता पनि रातिमा तिनै टहरामा सुत्छन् । बिहान उठेर चिया नास्ता  खाएर हातमा बन्चरो, हँसिया, नाम्लो रसी लिएर जंगलमा जान्छन्। कपिलवस्तु शिवराज नगरपालिका–३ र ५ मा रहेको रहतावल सामुदायिक वन उपभोक्ता समिति पदाधिकारी, सदस्य र गाउँलेले संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन लागु भएपछि वनमा बास बसेरै यसरी काम गरेका हुन्।

यो वन अर्घाखाँची शितगंगा नगरपालिकासँग सीमा जोडिएको छ । कपिलवस्तुको शिवराज र अर्घाखाँचीको शितगंगा नगरपालिकाको सीमा सुकबेल खोला खोलामा वर्षौँदेखि नदीजन्य पदार्थ निकासीमा विवाद चलिरहेको छ। त्यही नजिकै काठको छाप्रो बनाएर वन उपभोक्ता समितिले ३ जनालाई चौकीदारी नै राखेको छ। 

‘वन संरक्षण गर्नु र सीमा चोरी सिकारी हुनसक्छ,’ वन उपभोक्ता समिति सदस्य समेत रहेकी रामपतिले भनिन्, ‘विवाद भएको सीमामा कसैले बदमासी नगरोस् भनेर तीन जनालाई चौकीकारी नै राखिएको छ । अरू सबै उपभोक्तालाई चैतदेखि जेठ महिनासम्म वन काम गर्छौँ।’

उपभोक्ता समिति र गाउँले आलोपालो छाप्रोमा बसेर खाना पकाउने, वनमा काम गर्ने गर्छन्। ‘चन्द्रौटाबाट वनमा आइपुग्न घण्टौँ समय लाग्छ, हिँडेर आउजाउ गर्न अलि गाह्रो हुन्छ,’ आशारानीले भनिन्, ‘दिनभर वनमा सोहोर्दा, झाडी सफा गर्दा, काठ काठ दाउरा निकाल्दा, फायर लाइन बनाउने काम गर्दा सबै थाक्छन्, अनि खाना खाएर यही टहरामै सुत्छन्।

Stay overnight in tahara to protect the forest

टीम बनाएर हामी सबै आलोपालो काम गर्छौँ।’ वनमा उमेर पुगेका, ढलेका र बाङ्गा रुखलाई हटाइएको छ । रुख काट्ने, चिरान गर्ने, काठका गोलिया बनाउने काम पनि उपभोक्ताले नै गर्छन् । काठ, दाउरा बिक्री भइरहेको छ । खाली ठाउँमा नयाँ बिरुवा हुर्काइएको छ। रुख पतलाएर स्याहारसुसार गर्दा बिरुवा छिटो हुर्कने र बढ्ने गरेका छन् ।

संवर्द्धन प्रणाली बनाइएको वनलाई तारबार गरेर मान्छे र पशु चौपाया छिर्न नसक्ने बनाइएको छ । जहाँ रुखको बगैँचा जस्तो बनाइएको छ । उपभोक्ता आलोपालो जंगलमा बस्न लत्ताकपडा, भाँडाकुँडा लगायतका सरसामान सबै समितिले व्यवस्थापन गरेको हो । 

वनका अध्यक्ष यज्ञ बेल्वासेले अर्घाखाँचीको सीमा सुकबेल खोला नजिकै तीन जनालाई वन चौकीकारीमा राखिएको र अरू सबै उपभोक्ताले दिनभर वनमा काम गर्ने, रातीमा वनमै सुतेर वन संरक्षणको काम भइरहेको उनले बताए । ४ सय ९५ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा विभिन्न प्लट छुट्टाएर पुनरुत्पादन गरिएको छ । तीन जना चौकीदारीले मासिक १५ हजार रुपैयाँ तलब पाउँछन् । अरूले दैनिक ६ सय रुपैयाँ पारिश्रमिक वन समितिले नै उपलब्ध गराउँछ । 

‘रातीमा टहरोमै बास बस्नुको कारण काठ दाउरा चोरी हेर्ने र आगो लगाइदिने डर हुन्छ,’ बेल्वासेले भने, ‘रातीमा रेखदेख गरे पनि वन्यजन्तु चोरी सिकारी रोकिएको छ । बँदेल, जरायो, बाघ, राते, मयुर लगायतका जंगली जनावर पनि हामीले संरक्षण गरी राखेका छौँ ।’

संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापनले उपभोक्तालाई रोजगारी, काम, वनबाट आम्दानी, वन संरक्षण रेखदेख भएको उनले बताए । ढलेका, बुढा भएका र वाङ्गाटाटिङ्ग रुख काटन गरेका काठ उत्पादन भएको छ । वनको आम्दानीको २५ प्रतिशत प्रदेश सरकारलाई राजश्व बुझाउनुपर्ने नियम छ । लुम्बिनी प्रदेश सरकारलाई यो आर्थिक वर्षमा ४१ लख ७९ हजार ३ सय ४७ रुपैयाँ राजश्व बुझाइएको उनले बताए । 

‘वनमा रातदिन खटेरै उपभोक्ताले का गरेपछि परिणाम राम्रो आएको छ,’ उनले भने, ‘चैतदेखि जेठसम्म काठ काट्ने, झाडी सफा देखि वनको सबै काम हुन्छ । वनमै बास बसेर नगर्ने हो भने, काम भ्याइँदैन । त्यसैले वनमा जता काम हुन्छ, त्यतै छाप्रो बनाएर त्यही बास बसेर काम भइरहेको छ ।’ यसरी संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापनले उपभोक्तालाई पनि रोजगारी बनाएको छ । वनबाट हरेक घरमा आम्दानी भइरहेको छ ।

Stay overnight in tahara to protect the forest

उपभोक्ता मध्येका ५ हजारले रोजगारी पाएको बेल्वासेले बताए । उपभोक्ताले काम गरे बापत मासिक १५ हजार देखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्छन् । वन व्यवस्थापनतर्फ काटन र ओसार्न २ हजार जना, पुनरुत्पादन क्षेत्रमा झाडी सरसफाइको लागि ४ सय ४० जना, मिचाहा प्रजातिको झाडी सफाइमा प्लट नम्बर ५, ६ र ८ मा गरी  १ हजार ४७ जना, अग्नी रेखा नियन्त्रणमा ७ सय  ९७ जना, कटानपछि तारबार तथा पोल खन्ने काममा एक हजार ४७ जनालाई रोजगारी सृजना गरिएको अध्यक्ष बेल्वासेले बताए । त्यस्तै कटान पश्चात् सरसफाइमा १ सय ५० जना, ३ जनालाई अग्नीदस्तालाई रोजगारी दिइएको उनले बताए । 

उपभोक्तालाई रोजगारीसँगै सामाजिक काम र विकास निर्माणका कार्यहरू भइरहेका छन् । समितिले ३२ जना वृद्धलाई लौरो सिरक, ७ जना पूर्ण अपांगलाई सिरक, २२ जना सुत्केरी महिला लई रातो भालु र हर्लिक्स वितरण गरेको छ । गाउँ टोलमा जोड्ने मोटर बाटोको ट्र्याक खोल्ने, पिच गर्ने, खानेपानीका योजना सञ्चालन, बाख्रा र बोका वितरण लगायतका काम गरिएको बेल्वासेले बताए । केही दिनमै महिला स्वयंसेवीका तथा चौकीदारलाई साइकल वितरण गर्ने,  उन्नत जातका बोका वितरण गरिने कार्यक्रम रहेको उनले बताए । 

वीरेन्द्र केसी कान्तिपुरका अर्घाखाँची संवाददाता हुन् ।

Link copied successfully