ढुंगा, गिटी बालुवा उत्खनन र निर्यातको नीतिले राजश्व वृद्धि हुने
बुटवल — संघीय बजेटले लुम्बिनी प्रदेशमा सुरुङमार्ग निर्माणमा जोड दिएको छ । लुम्बिनीको सिद्धबाबा सुरुङमार्ग २ वर्षभित्रै सम्पन्न गर्ने र थप ५ स्थानमा सुरुङमार्गको सम्भाव्यता अध्ययन हुने भएको छ । भारतको नैतनवादेखि भैरहवालाई रेलमार्गबाट पनि जोडिने गरी बजेटले सम्बोधन गरेको छ ।
बिहीबार अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटले उनको गृह प्रदेशका उद्योगी र व्यवसायीलाई खुशी र उत्साहित बनाएको छ । बजेटमा लुम्बिनी प्रदेशको सिमानामा पर्ने बर्दघाट–दुम्कीबास सुरुङ निर्माण गर्ने उल्लेख छ । त्यस्तै कपिलवस्तुको शिवपुरदेखि प्रदेश राजधानी रहेको दाङको भालुवाङ, रानीघाट–भुरीगाउँ, बबई–छिन्चु, हात्तिसार–बबईमा सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने भएको छ । बजेटमा रेलमार्गको सम्भावनालाई पनि समेटिएको छ ।
नौतनवा–भैरहवा र नेपालगञ्जरोड–नेपालगञ्ज जोड्ने सीमावर्ती रेलमार्ग निर्माण कार्यको तयारी सुरु गर्नेगरी बजेट विनियोजन गरिएको सरकारले जनाएको छ । त्यस्तै, दाङमा पेट्रोलियम पदार्थ उत्खननको काम सुरु गर्ने पनि बजेटमा उल्लेख छ । त्यसले भविष्यमा ऊर्जा सुरक्षाको राष्ट्रिय योजनासँग लुम्बिनीलाई जोड्ने अर्थमन्त्री पौडेलले बिहीबार बजेट प्रस्तुत गर्दै बताए । लुम्बिनी प्रदेशको दाङको तुलसीपुर उमहानगरपालिका–१३ पेट्रोल खानी रहेको दाबी गरिएको छ । साबिकको फूलबारी गाविसमा एक पटक उत्खनन् गरेर त्यहाँबाट निस्केको पेट्रोललाई प्रशोधन गर्दा प्रयोग गर्न मिल्ने देखिएपनि तर त्यसपछि त्यसमा थप कुनै प्रक्रिया अघि नबढेको स्थानीयको गुनासो थियो । फूलबारी क्षेत्रमा खानी रहेको र त्यसको उत्खनन् गर्दा गाडिएका पाइप अहिले पनि त्यसै छोडिएको छ ।
नागढुंगा–सिद्धबाबा द्रुतमार्ग अन्तर्गत पर्ने सुरूङ मार्गको निर्माण आगामी वर्षमा सम्पन्न गरिने योजना पनि बजेटमा प्रस्तुत गरिएको छ । जसले काठमाडौंदेखि लुम्बिनीको यातायात सहज बनाउनेछ । अर्थमन्त्री पौडेलले लुम्बिनीमा कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, अन्तर्राष्ट्रिय विमानस्थल, खेलकुददेखि ऊर्जा र रेलमार्गसम्मका महत्वपूर्ण आयोजनाहरु घोषणा गरेका छन् । सरकारले आगामी वर्ष भैरहवाबाट उडान गर्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई थप प्रोत्साहन र सहयोग गर्ने भएको छ । अर्थमन्त्री पौडेलले भैरहवा र पोखराबाट उडानका लागि सहुलियतको घोषणा गरेका हुन् । ‘नेपालमा अन्तर्राष्ट्रिय हवाई सेवा गरेका वायुसेवा कम्पनीलाई भैरहवा र पोखराबाट निश्चित संख्यामा उडान सञ्चालन गर्न थप प्रोत्साहन र सहुलियत दिइने छ,’ बजेट भाषणमा उनले भने, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पर्यटक र श्रमिकहरूको लागि किफायती हुने गरी सञ्चालनमा ल्याउन जोड दिइनेछ ।’ त्यसको लागि विमानस्थल परिसरमा आवश्यक सुविधा उपलब्ध गराइने उनले बताए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कार्गो सेवा सञ्चालन गर्न विशेष सहुलियत दिइने पनि बजेटमा उल्लेख छ । त्यस्तै, दाङको टरीगाउँ विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन तयार गरिने गरी बजेटमा उल्लेख छ ।
सरकारले सिद्धबाबा सुरुङमार्ग आगामी दुई वर्षभित्र सञ्चालनमा आउने भएको छ । रुपन्देही र पाल्पा जोड्ने सुरुङमार्ग सञ्चालनपछि सिद्धार्थ राजमार्गको यातायात सहज हुने सरकारको विश्वास छ । ११ सय मिटरको सिद्धबाबा सुरुङमार्गको माघमा ‘ब्रेक थ्रु’ गरिएको थियो । अहिले पनि निर्माणको काम तीव्र छ । सरकारले नागढुंगा र सिद्धबाबा सुरूङमार्गको निर्माण सम्पन्न गर्न २ अर्ब ६० करोड रकम विनियोजन गरेको छ ।
सरकारले लुम्बिनी र गण्डकी प्रदेश जोड्ने सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गरी डबल लेनको बनाउने घोषणा गरेको छ । सुनौलीदेखि पाल्पा, स्याङ्जा हुँदै पोखरा जोड्ने सडकलाई २ लेनमा विस्तार गरेर भारतीय पर्यटकहरुलाई मुस्ताङसम्म पुर्याउने उद्देश्यका साथ सरकारले सिद्धार्थ राजमार्ग विस्तारको थालनी गर्न लागिएको अर्थमन्त्री पौडेलले बताए । उनले रुपन्देही, नवलपरासी र कपिलवस्तु क्षेत्रमा गौरवको आयोजनाका रूपमा अघि सारिएको कालीगण्डकी तिनाउ डाइभर्सनलाई पनि निरन्तरता दिएको बताएका छन् । विद्युतीकरण र सिँचाइका लागि महत्त्वपूर्ण आयोजना मानिएको यो योजनालाई आगामी वर्षका लागि बजेट विनियोजन गरिएको भाषणमा उल्लेख थियो ।
सरकारले बाँकेमा सञ्चालित भरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजना पनि आगामी दुई वर्षभित्र सम्पन्न गर्ने गरी २ अर्ब ७ करोड रकम विनियोजन गरेको छ ।
सरकारले रुपन्देहीको भैरहवामा सञ्चालित सेज, बुटवल र नेपालगञ्जको औद्योगिक क्षेत्रमा रहेका उद्योगलाई भाडा सहुलियत दिने भएको छ । त्यसले उद्योगी खुसी भएका छन् । लुम्बिनीको भैरहवामा विशेष आर्थिक क्षेत्र सेज सञ्चालनमा भएपनि उद्योगीले भाडा महँगो भएको भन्दै त्यहाँ उद्योग सञ्चालनमा आनाकानी गर्दै आइरहेका छन् । त्यस्तै, बुटवल औद्योगिक क्षेत्रमा पनि भाडा बढी भएको भन्दै उद्योगी आन्दोलित छन् । बाँकेको नौबस्ता, रुपन्देहीको मोतीपुर र दाङको लक्ष्मीपुरसहितका स्थानमा आधुनिक औद्योगिक क्षेत्र निर्माण गरिने घोषणाले रोजगारी सृजना, औद्योगिक विस्तार र स्थानीय उत्पादनमा वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
सरकारले लुम्बिनी गुरु योजना पनि पूरा गर्ने योजना अघि सारेको छ । बजेटमा लुम्बिनी गुरुयोजना कार्यान्वयन गरिने, संरचनागत विकास, सौन्दर्यीकरण, डिजिटल गाइड प्रणालीजस्ता योजनाहरू अघि सारिएका छन् । लामो समयदेखि गुरुयोजना पूरा नभएर रोकिएको छ । यसैगरी बजेटमा लुम्बिनी र स्वर्गद्वारीलाई धार्मिक, सांस्कृतिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य प्रस्तुत गरिएको छ । स्वर्गद्वारीसम्मको पहुँच सहज बनाउने सडक स्तरोन्नतिको काम पनि प्राथमिकतामा परेको छ । सरकारले स्वास्थ्यका लागि बुटवलमा निर्माणाधीन मेडिकल कलेजको पूर्वाधार निर्माण कार्य अघि बढाउने भएको छ ।
सिँचाइका लागि बबई–प्रगन्ना–बड्कापथ सिँचाइ आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गर्ने, सिक्टा तथा वृहत् दाङ उपत्यका सिँचाइ योजनामा तीव्रता दिने र भेरी–बबई डाइभर्सन आयोजनाको हेडवर्क्स तथा पावरहाउस दुई वर्षभित्र सम्पन्न गर्ने सरकारले लक्ष्य लिएको छ । ऊर्जाको क्षेत्रमा नौमुरे बहुउद्देश्यीय आयोजना प्रारम्भ गर्ने, कालीगण्डकी–तिनाउ पथान्तरण आयोजनाको विस्तृत अध्ययन सम्पन्न गरी निर्माण ढाँचा यकिन गर्ने तथा माडी–दाङ र ग्वारखोला आयोजनाको अध्ययन तथा तयारी कार्य तीव्र बनाउने योजना छ ।
पूर्वाधारको क्षेत्रमा सडक सञ्जाल विस्तारतर्फ बेलहिया–बुटवल चार लेन व्यापारिक मार्ग निर्माण सम्पन्न गर्ने र कक्रहवा–सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक, सहिदमार्ग, राप्ती राजमार्ग लगायतका सडक स्तरोन्नति गर्न रकम विनियोजन गरिएको छ । बजेटमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मध्य तथा उच्च पहाडी जिल्लाहरूमा उच्च मूल्यका बाली प्रवर्द्धनका लागि ८३ करोड विनियोजन गरिएको छ ।
उद्योगी व्यवसायीमा उत्साह
संघीय सरकारको बजेटपछि लुम्बिनी प्रदेशका उद्योगी र व्यवसायी उत्साहित भएका छन् । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले अहिलेसम्मकै व्यवहारिक र उत्कृष्ट बजेट आएको बताए । उनले निजी क्षेत्रले दिएका अधिकांश माग सम्बोधन भएर समावेश भएकोले उत्साह थपेको, पूर्वाधार, शिक्षा र स्वास्थ्यमा धेरै सुधारसहितका बजेट बनेको जनाए । ‘बजेटले पहिलो पटक निजी क्षेत्रको सुझाव सुनेको छ, यो हाम्रा लागि सकारात्मक हो,’ उनले भने, ‘बजेटमा निजी क्षेत्रलाई उत्साहित बनाउने धेरै विषय छन्, युवा उद्यमी लक्षित स्टार्टअप कार्यक्रमले राम्रो सन्देश, साना व्यवसायीलाई सम्बोधन गर्ने गरी एक्जिम कोर्ट हटाइएको छ, दोहोरो कर हटाइएको विषय निकै सकारात्मक छन् ।’ सेज र औद्योगिक क्षेत्रमा भाडा घटाइनु पनि निकै उत्साहप्रद रहेको भन्दै उनले अहिलेको निराशालाई चिर्ने गरी यसलाई कार्यान्वयन गर्नुपर्ने बताए ।
रुपन्देही उद्योग संघका अध्यक्ष दिलीप सापकोटाले समग्रमा बजेट सन्तुलित आएको र राजनीतिक स्थिरता रह्यो भने कार्यान्वयन पनि हुनेमा आशावादी बन्न सकिने बताए । ‘व्यवसायीमैत्री छ, भ्याटमा फरक दर कायम हुनु, नयाँ उद्योगलाई करमा छुट महिला उद्यमीलाई विशेष राहत औद्योगिक क्षेत्रको भाडा शुल्कमा छुट, सेजमा छुटलगायतका विषय सकारात्मक छन्,’ उनले भने, ‘लघु, घरेलु तथा साना उद्योग र महिलाहरूका लागि विशेष सम्बोधन गरेको छ ।’ समग्रमा बजेट राम्रो भएको उनले बताए ।
अर्थमन्त्री पौडेलले ढुंगा, गिट्टी र बालुवाको उत्खनन गरी निर्यात गर्ने योजना पनि अगाडि सारेका छन् । वातावरणीय प्रभाव मूल्यांकन तथा अध्ययन गरी नदीजन्य र खानीजन्य वस्तुको उत्पादन गरी उपयोग र निर्यात गर्ने घोषणा बजेटमा समावेश छ । सरकारको आन्तरिक आयस्रोत बढाउने उद्देश्यले सरकारले नेपालका ढुंगा, गिटी, बालुवा उत्खनन गरी भारत निर्यातको योजना अघि सारेको छ ।
क्रसरको कारोबार अहिले अनौपचारिक रूपमा भइरहेको र अब करको दायरामा मात्र ल्याउनुपर्ने सुझाव व्यवसायीले दिँदै आएका थिए । त्यसको पनि व्यवसायीले स्वागत गरेका छन् । रोडाढुंगा व्यवसायी संघका लुम्बिनी अध्यक्ष गोपाल ज्ञवालीले लुम्बिनी प्रदेशमा नेपालकै सबै भन्दा बढी नदीजन्य सामाग्री उत्पादन हुने र त्यो व्यवस्थित रूपमा भारत निर्यात हुन सकेमा राष्ट्रिय राजश्ववृद्धिमा पनि महत्त्वपूर्ण योगदान पुग्ने बताए । ‘नदीजन्य सामाग्री निर्यात गर्ने घोषणा स्वागतयोग्य नै छ,’ उनले भने, ‘नेपालबाट त्यसै बगेर भारत गइरहेको र अव्यवस्थित रूपमा कारोबार भइरहेको यो क्षेत्रलाई कानुनी रूपमा अघि बढाएर निर्यात गर्नु जरुरी पनि छ ।’ सरकारले दृढताका साथ यसलाई कार्यान्वयन गर्नुपर्ने उनले बताए ।
