अक्सिजन प्लान्ट बिग्रेपछि बिरामी फर्काउँदै पाल्पा अस्पताल

जेष्ठ १४, २०८२

माधव अर्याल

Returning patients to Palpa Hospital after the breakdown of the oxygen plant

पाल्पा — अक्सिजन प्लान्ट बिग्रिएपछि पाल्पा अस्पतालमा बिरामी भर्ना लिइएको छैन । केही दिनयता अक्सिजन अभाव भएपछि अस्पतालले बिरामी भर्ना नलिएको हो । 

अस्पताल प्रशासनको बेवास्ताले अक्सिजन प्लान्ट सञ्चालन हुन नसकेको हो । अस्पतालका बेडमा अक्सिजन आपूर्ति हुन नसक्दा केही दिनयता बिरामी भर्ना गर्न नसकेको डा. राजेन्द्र पौडेलले बताए । पाल्पा अस्पतालको आफ्नै अक्सिजन प्लान्ट भए पनि एक वर्षयता पटक पटक बिग्रिइरहेको छ । अस्पतालमा १५ बेड रहे पनि एक बेडमा पनि बिरामी राखिएको छैन ।

पाल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रामेश्वर देवकोटा लामो समय बिदामा बस्दा थप समस्या भएको हो । डा. देवकोटा बिदामा बसेकाले कार्यालयमा जिम्मेवारी लिएर काम गर्नसमेत नसक्ने अवस्था छ । खर्च भई जाने वस्तुहरूका विषयमा आफूलाई अख्तियारी प्राप्त नभएको र प्रशासनिक कार्यका लागि मात्र काम गर्ने अधिकार रहेको डा. राजेन्द्र पौडेलले बताए । ‘अक्सिजन प्लान्ट बनाउने प्रयास भइरहेको छ,’ डा पौडेलले भने, ‘तीन चार दिनमै बन्छ भन्ने आश्वासन पाइएको छ ।’

सामान्य स्विचसमेत तानसेनमा नपाउने भएकाले अक्सिजन प्लान्ट सञ्चालन गर्न नसकेको हो । पाल्पा अस्पतालका नवनियुक्त अध्यक्ष अजयमान कर्माचार्यले पहिलो काम अक्सिजन प्लान्ट मर्मत गर्ने बताए । मंगलबार मात्र पदस्थापन भएका कर्माचार्यले आफू अध्ययनकै क्रममा रहेकाले धेरै विषयमा प्रतिक्रिया दिनसमेत नसक्ने बताए । 

जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलगायतले पाल्पा अस्पतालको निरीक्षण गरी अक्सिजन प्लान्ट तत्काल मर्मत गर्न अस्प्ताल प्रशासनलाई निर्देशन दिएका छन् । पाल्पा अस्पतालमा प्रेसर स्विङ एडजप्सन विधिको प्लान्टबाट ४ सय २० लिटर प्रतिमिनेट उत्पादन क्षमता रहेको छ ।

जडान भएको बुस्टरले प्रतिदिन ४० लिटर क्षमताका ५० वटा सिलिन्डर भर्न सक्ने प्लान्ट छ । यो प्लान्टमा एकैपटक १० वटा सिलिन्डर भर्न सकिने व्यवस्था हुन्छ । पाल्पा अस्पतालमा ३ करोड बजेटमा दुई बेड भेन्टिलेटर र ५ बेड आईसीयू पाल्पा अस्पतालमा जडान भएका छन् । ती सबै बन्द गरेर राख्नु परेको अस्पतालले जनाएको छ । पाल्पा अस्पतालको बहिरंग विभागमा दैनिक ३ सय बढी बिरामीले सेवा लिने गरेका छन् । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully