दाङ — लुम्बिनी प्रदेश सभा छैटौँ अधिवेशनको एघारौँ बैठक आज बस्दैछ । बुधबारको बैठकमा पनि सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले सोमबार पेस गरेको आगामी आवको विनियोजन विधेयक २०८२ का सिद्धान्त र प्राथमिकताका विषयमा छलफल हुनेछ ।
सिद्धान्त र प्राथमिकता माथि मंगलबार पनि छलफल भएको थियो ।
बुधबार दिउँसो १ बजे बस्ने बैठकका लागि तीन वटा सम्भावित कार्यसूची तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
बैठकमा प्रदेश विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता सम्बन्धी छलफललाई निरन्तरता दिइनेछ । छलफलमा उठेका प्रश्नहरूको जवाफ आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले दिने कार्यसूचीमा उल्लेख छ । विभिन्न समितिका प्रतिवेदनहरू बैठकमा पेस गर्ने पनि कार्यसूची रहेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बताए ।
साथै, समितिहरूको हेरफेरसम्बन्धी जानकारी सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभालाई गराउने सम्भावित कार्यसूचीमा तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
