धानको बिउ छर्ने बेला मलको अभाव

सरकारले समयमा मलको पर्याप्त व्यवस्था नगर्दा धान उत्पादनमा ह्रास आउने किसानको गुनासो

जेष्ठ ९, २०८२

कमल पन्थी

Lack of fertilizer at the time of paddy sowing

बर्दिया — धानको बिउ छर्ने बेला बर्दियामा रासायनिक मलको अभाव भएको छ । मलको अभाव हुन थालेपछि किसान भारतीय सीमावर्ती बजार पुग्न थालेका छन् । हरेक दिन बिहानै सीमावर्ती बजार चित्लहवा लगायतका नाकाबाट उनीहरूले मल भित्र्याउने गरेका छन् ।

किसानको समस्यालाई हेरेर प्रशासनले एकजनालाई एक बोरा मल ल्याउन दिएको छ । भारतबाट मल ल्याउँदा सास्ती खेप्नुपरेको किसानको गुनासो छ । गुलरिया–८ का रामस्वरुप थारुले सहकारी संस्थाले एक बोरा मल दिए पनि कनिका छरे जस्तो भएकाले अर्पाप्त भएको बताए । 'चुनावका समय मलको अभाव हुन नदिने वाचा गर्छन्,’ उनले भने, ‘चुनाव जितेपछि फर्केर हेर्दैनन् ।'

गुलरिया–५ का दुबार थारुको अवस्था उस्तै छ । सरकारले समयमा मलको पर्याप्त व्यवस्था नगर्दा धान उत्पादनमा ह्रास आउने उनले बताए ।Lack of fertilizer at the time of paddy sowing

बर्दियामा ५० हजार २ सय हेक्टरमा धान खेती हुने गर्छ । कृषि सामग्री कम्पनीले बर्दियामा आएको ५ हजार ९ सय मेट्रिक टन युरिया वितरण भइरहेको जनाएको छ । डीएपी २ हजार ८ सय मेट्रिक मल आएकामा त्यो पनि अपर्याप्त छ । कम्पनीका निमित्त प्रबन्धक लालबहादुर थारुले यस वर्ष धानका लागि युरिया ४ हजार ८ सय र डीएपी १ हजार ५ सय मेट्रिक टन आवश्यक रहेको बताए ।

बर्दियामा हरेक वर्ष खेतीको समय मलको अभाव हुँदै आएको छ । यस वर्ष पनि धान खेतीका लागि किसानले मल पाउन सकेका छैनन् । कृषि सामग्री कम्पनी बर्दियाका अनुसार भारतबाट किसानले करिब २५ प्रतिशत मल भित्र्याउने गरेका छन् ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully