बेरुजु घटाउँदै पाल्पाका रैनादेवी छहरा, रिब्दीकोट र रम्भा गाउँपालिका

जेष्ठ ६, २०८२

माधव अर्याल

Rainadevi Chhahra, Ribdikot and Rambha Rural Municipality of Palpa are reducing the burden

पाल्पा — पाल्पाका तीन गाउँपालिकाले बेरुजु घटाउँदै लगेका छन् । रैनादेवी छहरा, रिब्दीकोट र रम्भा गाउँपालिकाले बेरुजु कम गर्दै लगेका हुन् । आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा कम रैनादेवी छहराको ६२ लाख ६३ हजार बेरुजु रहेको छ । कुल खर्चको ० दशमलव ४६ प्रतिशत बेरुजु भएको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा छ ।

रैनादेवी छहराको एक अर्ब ३६ करोड १० लाख ६५ हजारको लेखापरीक्षण गर्दा उक्त कम बेरुजुमा परेको हो । अघिल्लो आर्थिक वर्षमा भने रैनादेवी छहरा गाउँपालिकाको एक अर्ब १६ करोड ८६ लाख १९ हजार लेखापरीक्षण गर्दा १ करोड ४३ लाख ३४ हजार बेरुजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

महालेखाको ६२औँ वार्षिक प्रतिवेदनअनुसार रिब्दीकोट गाउँपालिकाको ६२ लाख ९३ हजार बेरुजु देखिएको छ । कुल एक अर्ब १२ करोड ४१ लाख ४४ हजारको लेखापरीक्षण गर्दा ० दशमलव ५६ प्रतिशत बेरुजु देखिएको हो । अघिल्लो वर्ष रिब्दीकोट गाउँपालिकाको ८७ करोड ४० लाख ४ हजार लेखापरीक्षण गर्दा ९३ लाख ८६ हजार बेरुजु थियो । रम्भा गाउँपालिकाको बेरुजु शून्य दशमलव ८९ प्रतिशत रहेको छ । रम्भाको एक अर्ब ४ करोड १ लाख ७१ हजारको लेखापरीक्षण गर्दा ९२ लाख १३ हजार बेरुजु देखिएको हो । गत वर्ष रम्भा गाउँपालिकाको एक अर्ब १८ करोड ६० लाख १६ हजार लेखापरीक्षण गर्दा २ करोड ३८ लाख ५४ हजार बेरुजु थियो ।

जिल्लाकै माथागढी गाउँपालिकाको बेरुजु २ करोड ७ लाख ८४ हजार रहेको छ । एक अर्ब ३२ करोड ८ लाख ३७ हजारको लेखापरीक्षण गर्दा १.५७ प्रतिशत बेरुजु देखिएको हो । अघिल्लो आर्थिक वर्षमा माथागढी गाउँपालिकाको एक अर्ब ४४ करोड ८ लाख ३८ हजार लेखापरीक्षण गर्दा ४ करोड १ लाख ९४ हजार बेरुजु थियो ।

१ करोड ३८ लाख ६० हजार बेरुजु बगनासकाली गाउँपालिकाको छ । एक अर्ब १७ करोड ७९ लाख ४५ हजारको लेखापरीक्षण गर्दा बगनासकालीको १.१८ प्रतिशतले बेरुजु देखिएको छ । यसअघि बगनासकाली गाउँपालिकाको ९८ करोड १४ लाख १३ हजार लेखापरीक्षण गर्दा ९८ लाख ७९ हजार बेरुजु थियो ।

पूर्वखोला गाउँपालिकाको बेरुजु १ करोड ९३ लाख ७ हजार रहेको छ । १ अर्ब १२ करोड ६१ लाख ५ हजारको लेखापरीक्षण गर्दा १.१७ प्रतिशत बेरुजु देखिएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षमा पूर्वखोला गाउँपालिकाको एक अर्ब २४ करोड ८८ लाख २४ हजार लेखापरीक्षण गर्दा ७ करोड १७ लाख २५ हजार बेरुजु थियो ।

एक अर्ब ३३ करोड ८३ लाख २० हजारको लेखापरीक्षण गर्दा निस्दी गाउँपालिकाको बेरुजु २ करोड ७७ लाख २३ हजार रहेको छ । जसमा कुल बजेट खर्चको २.०७ प्रतिशत हुन आउँछ । अघिल्लो आर्थिक वर्षमा भने निस्दी गाउँपालिकाको एक अर्ब ५२ करोड ९५ लाख ९६ हजार लेखापरीक्षण गर्दा ५ करोड ८ लाख ६६ हजार बेरुजु थियो ।

तिनाउ गाउँपालिकाको बेरुजु १ करोड ७२ लाख ८९ हजार रहेको छ । एक अर्ब ४ करोड ६७ लाख ६९ हजारको लेखापरीक्षण गर्दा १.६५ प्रतिशत बेरुजु देखिएको छ । गत वर्ष तिनाउ गाउँपालिकाको ९८ करोड १४ लाख १३ हजार लेखापरीक्षण गर्दा ६९ लाख २७ हजार बेरुजु थियो ।

रामपुर नगरपालिकाको बेरुजु ३ करोड ३६ लाख ४ हजार रहेको छ । कुल १ अर्ब ६३ करोड ५५ लाख ५४ हजारको लेखापरीक्षण गर्दा २.५ प्रतिशतले बेरुजु देखिएको हो । अघिल्लो आर्थिक वर्षमा रामपुर नगरपालिकाको एक अर्ब ७० करोड ५९ लाख ७७ हजार लेखापरीक्षण गर्दा २ करोड १६ लाख ९४ हजार बेरुजु थियो ।

तानसेन नगरपालिकाको ४ करोड ९५ लाख ८८ हजार रूपैयाँ बेरुजु रहेको छ । कुल २ अर्ब १६ करोड ५८ लाख ९७ हजारको लेखापरीक्षण गर्दा २.२९ प्रतिशत बेरुजु देखिएको महालेखाको प्रतिवेदनमा छ । तानसेन नगरपालिकामा एक अर्ब ६८ करोड ६९ लाख ६९ हजार लेखापरीक्षण गर्दा ३ करोड २ लाख ३३ हजार बेरुजु देखिएको थियो ।

सकेसम्म बेरुजु घटाउने र शून्यमा पुर्‍याउन आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाउँदै लगेकाले पनि बेरुजु कम हुँदै गएको रैनादेवी छहराका लेखा अधिकृत लीलामणि बस्यालले बताए । "विद्यमान कानूनअनुसार निर्माण भएका संयन्त्रहरूलाई क्रियाशील बनाउन प्रयत्नशील भएका छौँ," उनले भने, "१ प्रतिशतभन्दा तल झार्न सक्नु हाम्रा लागि सुखद नै हो । विगतमा भएको बेरुजुलाई सकेसम्म कम गर्दै लगिएको छ ।"

महालेखाले आर्थिक कार्यविधि ऐन, २०७६ को दफा २ (त) मा प्रचलित कानुन बमोजिम पुर्‍याउनुपर्ने रीत नपुर्‍याई कारोबार गरेको वा राख्नु पर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको भनी लेखापरीक्षण गर्दा औँल्याइएको वा ठहर्याइएको कारोबारलाई बेरुजुको रूपमा परिभाषित गरेको छ । सोही ऐनले बेरुजुलाई असुल गर्नुपर्ने, नियमित गर्नुपर्ने र पेस्की गरी तीन वर्गमा वर्गीकरण गरेको छ ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully