कार्यक्रमको प्रतिफल मापन गरेर थप कार्यक्रम : मुख्यमन्त्री आचार्य

जेष्ठ ६, २०८२

दुर्गालाल केसी

More programs by measuring the return of the program: Chief Minister Acharya

दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरेक कार्यक्रमको प्रतिफल मापन गर्न जरुरी रहेको बताएका छन् ।

प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम प्रादेशिक निर्देशक समितिको बैठकलाई मंगलबार राप्ती उपत्यका (देउखुरी) मा सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले संघीयताको सबलीकरण तथा प्रदेशलाई बलियो बनाउन कार्यक्रमहरूको उपलब्धि मापनमा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए । विगतका कार्यक्रमको प्रतिफल मापन गरेर मात्र थप कार्यक्रम ल्याउनुपर्ने उनले बताए ।

उनले प्रदेश सरकार र स्थानीय सरकारबीच नवप्रवर्तनका क्षेत्रमा साझेदारी कार्यक्रम लागू भएको जानकारी दिँदै त्यस कार्यक्रमको उपलब्धि मापनमा पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । `हरेक कामलाई उपलब्धिसँग जोड्न जरुरी छ । योजना यस्तो ल्याउनुपर्छ जसले जनतालाई उपलब्धिसँग जोड्न सकोस्, नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउन सकोस,´मुख्यमन्त्री आचार्यले भने, `प्रदेशको समग्र विकास र सन्तुलित योजनालाई कार्यान्वयन गर्न सरकार दृढ भएर अघि बढेको छ ।´

जनस्तरबाट आउने गुनासोको समयमै सम्बोधन, सूचना प्रवाहलाई चुस्त र प्रभावकारी बनाउन जोड दिँदै मुख्यमन्त्री आचार्यले सूचनाको हक कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । `हामीले प्रवाह गर्ने सूचना प्रभावकारी हुन जरुरी छ । कसैले पनि थाहा पाएनौँ भन्ने अवस्था आउन दिनु हुँदैन,´ उनले भने, `यस काममा कर्मचारीहरूले विशेष ध्यान दिन जरुरी छ ।´

सेवा प्रवाहसँग जोडिएका कार्यविधि र निर्देशिका संशोधन गरेर समय सापेक्ष बनाइने समेत मुख्यमन्त्री आचार्यले बताए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully