गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु 

जेष्ठ ५, २०८२

सन्तोष महतारा

One person died on the spot due to a motorcycle accident in Gulmi

गुल्मी — गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर ५ सिमाघाटबाट तम्घास आउँदै गरेको लु ९७ प ७४७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक दाङको  

गडवा गाउँपालिका–३ का २६ वर्षीय निशान चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कर्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

प्रहरीका अनुसार मोटरसाइकल नियन्त्रण बाहिर जाँदा दुर्घटना भएको हो । सडकको नालीमा मोटरसाइकलले च्यापेको देखेपछि स्थानीयले सोमबार बिहान प्रहरीलाई खबर गरेका थिए । चौधरी इन्द्र एमके जेभीमा सब इन्जिनियरको रुपमा कार्यरत थिए ।

उनी आइतबार साँझ धुर्कोटबाट तम्घास आउँदै थिए । स्थानीयका अनुसार आइतबार राति १० बजे आसपासमा घटना घटेको हुनसक्ने घटनास्थलबाट स्थानीय बासुदेव पोखेरलले जानकारी दिए । सोमबार बिहान ७:२० बजेको समयमा मोटरसाइकल दुर्घटना भएको स्थानीयले देखेपछि मात्रै प्रहरीले खबर पाएको थियो । रातिमा घटेको घटनाका कारण उद्धार हुन सकेको थिएन ।

घटनाबारे मृतकका परिवारलाई जानकारी गराइसकिएको छ भने शव पोष्टमार्टमका लागि गुल्मी अस्पताल ल्याइँदैछ ।

सन्तोष महतारा

Link copied successfully