पाल्पाको पूर्वखोला गाउँपालिकाका सबै स्वास्थ्य संस्था पोषणमैत्री 

जेष्ठ ५, २०८२

माधव अर्याल

All the health institutions of Purvkhola rural municipality of Palpa are nutrition friendly

पाल्पा — पाल्पाको पूर्वखोला गाउँपालिकाका सबै स्वास्थ्य संस्था पोषणमैत्री भएका छन् । गाउँपालिकाका रिङ्नेरह, बीरकोट, देवीनगर, हेक्लाङ, जल्पा, सिलुवा स्वास्थ्य चौकी पोषणमैत्री भएका हुन् ।

पछिल्लो पटक जल्पा र सिलुवाका स्वास्थ्य संस्था पोषणमैत्री भएपछि सबै घोषणा गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताए । 

पूर्वखोला गाउँपालिका–१, सिलुवा र २ जल्पा स्वास्थ्य चौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेको हो । 

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु, जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल, गाउँपालिका अध्यक्ष नुनबहादुर थापा, उपाध्यक्ष भागिरथी भट्टराई, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेल, प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठ, स्वास्थ्य शाखा प्रमुख मोहन ढकाल लगायतले वडा कार्यालय र स्वास्थ्य चौकीलाई प्रमाणपत्र प्रदान गर्दै सबै स्वास्थ्य संस्था पोषणमैत्री भएको घोषणा गरेका हुन् ।

गाउँपालिकाका सबै स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा पश्चात सबै सुचकहरुलाई कायम राख्दै थप बलियो बनाउनुपर्ने स्वास्थ्यमन्त्री सारुले बताए । घोषणा गर्दा पूरा गर्नुपर्ने सुचकहरुमा निरन्तर अध्ययन अनुगमन, कार्यन्वयन गर्न गराउनुपर्नेमा समन्वय प्रमुख खनालले बताए । 

महिला सामूदायिक स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्य व्यवस्थापन समिति, पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिलाई थप जिम्मेवार बनाएर दिगो बनाउन गाउँपालिका अध्यक्ष थापाले बताए ।

स्वास्थ्य व्यवस्थापन तथा सञ्चालक समितिका सम्पूर्ण पदाधिकारीहरु वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिमा रहने व्यवस्था छ । पालिकाभित्रका सबै वडाका वडास्तरीय पोषण तथा खाद्यसुरक्षा समितिलाई सक्रिय बनाउने उद्देश्यसहित समितिमार्फत पोषणमैत्री स्वास्थ्य संस्था घोषण गरेको गाउँपालिकाकी उपाध्यक्ष भट्टराईले बताइन् । 

स्वास्थ्य कार्यालय प्रमुख पोखरेल, प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठ लगायतले गाउँपालिकाले विगतका वर्षदेखि नै स्वास्थ्यका क्षेत्रमा उपलब्धि मूलक काम गर्दै आएको बताए । अबका दिनमा निरन्तरताका लागि सबै पक्षको सहकार्य जरुरी रहने र यसको दिगोपनाका लागि चुनौती रहने उनीहरुले बताए ।

पालिकाभित्रका सबै स्वास्थ्य चौकीको अगुवाईमा स्वास्थ्य संस्थालाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रम अभियान पश्चात निर्देशित गरिएका सुचकहरु पूरा गरेको स्वास्थ्य शाखा प्रमुख ढकालले बताए ।

स्वास्थ्यकर्मीहरु मध्येबाट एक जना सम्पर्क व्यक्ति तोकेर स्वास्थ्य संस्थामा पोषण विशेष सेवा दिनका लागि आवश्यक पोषणसम्बन्धी कम्तिमा एक जना तालिम प्राप्त जनशक्ति उपलब्ध रहने गर्छ । स्वास्थ्य संस्थामा खानेपानी तथा स्वच्छतासम्बन्धी सबै सेवाग्राही तथा सेवा प्रदायकका लागि पहुँचयुक्त र सुरक्षित खानेपानीको सुविधाको व्यवस्था हुनुपर्छ ।

पोषणमैत्री स्वास्थ्य संस्था बन्न सबै सेवाग्राही तथा सेवा प्रदायकका लागि पहुँचयुक्त र सफा शौचालयको व्यवस्था हुनुपर्छ । सबै शौचालयहरु र सेवा कक्षहरुमा साबुन पानीसहितको हातधुने स्थानको व्यवस्था गरिएको छ । स्वास्थ्य संस्थामा बच्चाको तौल लिने मेसिन, उचाई, लम्बाई लिने मेसिन, मुआक टेप उपलब्ध छ । 

पोषण विशेष सेवा प्रदान गर्नका लागि आवश्यक औषधि तथा सामग्रीहरु भिटामिन ए क्याप्सुल, जुकाको औषधि, जिंक ट्याब्लेट, बालभिटा प्याकेट, आईरन फोलिक एसिड ट्याब्लेट, तयारी उपचारात्मक खानाको मौज्दात कम्तिमा एक महिनाको लागि उपलब्ध हुनुपर्छ । मासिक रुपमा कम्तीमा एक पटक स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको बैठक बस्ने गरेको छ । 

त्यसमा पोषण सम्बन्धि छलफल हुने बताउँदै पोषणसम्बन्धी विभिन्न सूचनामूलक सामग्रीहरु सेवाग्राहीले देख्ने स्थानमा प्रदर्शन गरिएको छ । 

स्वास्थ्य संस्थाहरुमा बाल स्वास्थ्य कार्ड, दुई वर्षमुनिका बालबालिकाहरुको पोषण रजिष्टर, गाउँघर क्लिनिक रजिष्टर तथा प्रतिवेदन फाराम, महिला स्वास्थ्य स्वयं सेविकाको रजिष्टर व्यवस्थित राखिएको छ । 

स्वास्थ्य संस्थाको मासिक प्रतिवेदन फाराम, पोषण सेवा गुणस्तर सुधार निर्देशिका २०७८ ले व्यवस्था गरे बमोजिमका पोषण सेवागुणस्तर मूल्यांकन चेकलिष्ट, पोषण विशेष कार्यक्रमका सबै सेवाहरु उपलब्ध रहेको दाबी स्वास्थ्य चौकीको छ । 

सबै स्वास्थ्य संस्थामा पोषण कर्नर स्थापना गरिएको छ । स्वास्थ्य चौकीको अगुवाईमा वडास्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक बसेर पोषण मैत्री स्वास्थ्य संस्था बनाउन आवश्यक पर्ने सुचकहरुको बारेमा जानकारी गराइन्छ । स्वास्थ्य संस्था मूल्यांकनमा देखिएका कमी कमजोरीहरुलाई सुधार गर्नका लागि समुदायमा महिला सामूदायिक स्वास्थ्य स्वयम् सेविका तथा स्वास्थ्यकर्मीले सक्रियता बढाएका छन् । 

पोषण तथा स्वास्थ्य सेवा लिन स्वास्थ्य संस्थामा आउने क्रमलाई बढाउनका लागि स्वास्थ्य आमा समूह, विद्यालय स्वास्थ्य शिक्षा, गाउँघर क्लिनिक र खोप क्लिनिकमा पोषणसम्बन्धी स्वास्थ्य शिक्षा दिइने गरेको छ । ६ देखि ५९ महिनासम्मको तत्कालीन सबै बालबालिकाहरुको पोषण मापनको लागि तौल तथा पाखुराको नाप लिई कुपोषित बच्चा नभएको सुनिश्चित गरिएको छ । 

गाउँपालिकाले सोही अवसरमा पूर्ण संस्थागत प्रसूति, पूर्ण खोप दिगोपना सुनिश्चितता र पोषणसँगै किशोर किशोरी मैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणा गरेको छ । गाउँपालिकाका स्वास्थ्य सेवाको अवस्था, प्रसूति सेवा, खोप, किशोर किशोरीमैत्री सेवा र पोषणमैत्री स्वास्थ्य संस्थाका विषयमा प्रतिवेदन स्वास्थ्य शाखा प्रमुख ढकालले प्रस्तुत गरे ।

कार्यक्रममा सबै स्वास्थ्य चौकी व्यवस्थापन समिति, महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मानसमेत गरिएको छ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully