निग्लिहवामा अर्घसहितको शिवलिङ्ग भेटियो

जेष्ठ ५, २०८२

मनोज पौडेल

A Shiva Linga with an Argha was found at Niglihwa

कपिलवस्तु — निग्लिहवामा पोखरीबाट माटो निकालेर खेतमा खसाल्दा अर्घसहितको शिवलिङ्ग फेला परेको छ । कपिलवस्तु नगरपालिका वडा नं. ९ स्थित निग्लिहवा गाउँको उत्तरतर्फ रहेको पुरानो पोखरीबाट माटो निकालेर त्यही नजिकै खेतमा खसाल्दा पत्थरको शिवलिङ्ग फेला परेको हो ।

शिवलिङ्गको अर्घसहितको तल्लो भागको गोलाई ५ फिट ६ इन्च, दोस्रो भागको गोलाई ४५ इन्च, माथिल्लो र तल्लो भागबीचको फरक ३ इन्च रहेको छ । 

शिवलिङ्गको उचाई (माथिको भाग) साढे १६ इन्च र चिप्लो भागको गोलाई साढे ५ इन्च रहेको छ । पोखरीबाट माटो निकाल्ने क्रममा भेटिएको शिवलिङ्ग मध्यकालीन हुनसक्ने अनुमान गरिएको कपिलवस्तु संग्रहालयकी प्रमुख शान्ति शेर्माले बताइन् ।

A Shiva Linga with an Argha was found at Niglihwa

मध्यकाल भनेको १६/१७ औं शताब्दी तिर पर्ने बताइन्छ । शिवलिङ्ग र त्यससँगै भेटिएको अर्घले मध्यकालमा उक्त स्थानमा मन्दिर हुन सक्ने अनुमान गरिएको उनले बताइन् । शिवलिङ्ग अहिले गाउँमै एकजनाको घरमा सुरक्षित राखिएको छ ।

गाउँका सबैसँग सल्लाह गरेर शिवलिङ्ग पुरातत्व विभागको जिम्मा लगाउने कि स्थानीयले गाउमै संरक्षण गर्ने विषयमा छलफल भइरहेको स्थानीय वीरेन्द्रकुमार उपाध्यायले बताए । शिवलिङ्ग हिन्दू देवता शिवको स्वरूप, प्रतीक वा निशान मानिने प्रतिमाविहीन चिन्हृ हो । 

शिवलिङ्गलाई सामान्यतः गोलाकार मूर्तितलमा राखिएको हुन्छ जसलाई पीठम् वा पीठ भनिने गरिन्छ ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully