भारतमा हराइरहेका नेपाली युवा घाइते अवस्थामा फेला

जेष्ठ ४, २०८२

काशीराम डाँगी

Nepali youth missing in India found injured

रोल्पा — भारतमा हराइरहेका एक नेपाली युवा फेला परेका छन् । कामको खोजीमा उत्तराखण्ड पुगेर फर्कने क्रममा रोल्पाको गंगादेव-६ खानीगाउँका युवा तुलबहादुर राना ८ दिनपछि फेला परेका हुन् ।

स्थानीय रोशन वलीले गत वैशाख २७ गते उत्तराखण्ड प्रदेशको रुद्रपुर जिल्लास्थित उद्दमसिं नगरबाट हराएका थिए । करिब ३० वर्षीय युवा रानासँग उनका आफन्त सर्वजित राना पनि हराएका थिए । सर्वजित भेटिए पनि तुलबहादुर बेपत्ता अवस्थामै थिए ।

वलीले भारतको गढवालबाट नेपाल आउने क्रममा तुलबहादुर पिभिलितमा घाइते अवस्थामा आइतबार फेला परेको बताए । 'उनी हराइरहेको खबर पाएपछि खोजी सुरु भयो । ८ दिनपछि उनलाई घाइते अवस्थामा फेला पारिएको छ । हाल त्यहीँको अस्पतालमा उपचार भइरहेको छ,' उनले भने ।

स्थानीयका अनुसार घाइते अवस्था हुने गरी कुटपिट गर्ने नेपाली युवाहरूको समूह थियो । उक्त समूहले तुलबहादुरबाट करिब ९० हजार रुपैयाँ समेत लुटेको थियो । तुलबहादुर फेला परेको स्थान नेपाली सीमाबाट करिब १ सय किलोमिटर टाढा पर्छ ।

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully