बाँकेका आठ स्थानीय तहमध्ये खजुरामा सबैभन्दा कम बेरुजु 

जेष्ठ ४, २०८२

रुपा गहतराज

Among the eight local levels of Banke, Khajura has the lowest beruju

नेपालगन्ज — बाँकेका आठ स्थानीय तहमध्ये खजुरा गाउँपालिकामा सबैभन्दा कम बेरुजु देखिएको छ ।

गत वर्ष २०८०/०८१ को महालेखापरीक्षकको प्रतिवेदन सार्वजनिक हुँदा बाँकेका ८ स्थानीय तहमा खजुरा गाउँपालिका सबैभन्दा कम १.५० प्रतिशत, कोहलपुर नगरपालिकाको १.६६ प्रतिशत, राप्तीसोनारी गाउँपालिकाको २.०५ प्रतिशत, नेपालगन्ज उपमहानगरपालिकाको २.२९ प्रतिशत, डुडुवा गाउँपालिकाको २.७२ प्रतिशत, जानकी गाउँपालिकाको २.८६ प्रतिशत, नरैनापुर गाउँपालिकाको ३.०२ प्रतिशत र बैजनाथ गाउँपालिकाको ३.३४ प्रतिशत बेरुजु रहेको सार्वजनिक भएको हो ।

बाँकेमा सबैभन्दा बढी बेरुजु बैजनाथ गाउँपालिकाको रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ । बैजनाथ गाउँपालिकाको बेरुजु ३ .३४ प्रतिशत रहेको छ । त्यस्तै, सबैभन्दा कम बेरुजु खजुरा गाउँपालिकाको आएको छ । खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले आउने आर्थिक वर्षमा बेरुजु शून्यमा पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको बताए ।

यस्तै, खजुरा गाउँपालिकाका लेखा अधिकृत प्रदिप सुनारले बेरुजुलाई शून्यमा झारेर बेरुजुरहित पालिका बनाउने अभियानमा लागेको जिकिर गरे ।

प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जनप्रतिनिधिहरूको सहयोगका कारण बेरुजु कम गर्न सफल भएको बताउँदै आउने आर्थिक वर्षमा पालिकामा बेरुजलाई शून्यमा झार्ने बताए ।

रुपा गहतराज गहतराज कान्तिपुरकी बाँके संवाददाता हुन् ।

Link copied successfully