तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिकाका किसानले दुग्ध उत्पादनमा अनुदान पाएका छन् । नगरभित्र रहेका १९ वटा कृषि सहकारीमार्फत २ हजार ६२ जना किसानले उत्पादन गरेको ३१ लाख २४ हजार ५ सय ८१ लिटर दूध बिक्री गरेको तथ्यांकका आधारमा उनीहरुलाई अनुदान रकम दिइएको हो ।
प्रतिलिटर २ रुपैयाँका दरले पालिकाले दुग्ध उत्पादक कृषकलाई अनुदानस्वरुप कुल ६२ लाख ४९ हजार १ सय ६२ रुपैयाँ आइतबार एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ ।
तिलोत्तमा नगरमा यस आर्थिक वर्षमा गोकुल दुग्ध उत्पादक कृषि सहकारी संस्थाले ४ लाख ३१ हजार ८ सय ९३ लिटर दूध उत्पादन गरी ८ लाख ६३ हजार ७ सय ८६ रुपैयाँ अनुदान रकम पाएको छ । त्यस्तै टिकुलिगढ दुग्ध उत्पादक सहकारीले २ लाख ९९ हजार ९ सय १३ लिटर दूध उत्पादन गरी ५ लाख ९९ हजार ८ सय २६ रुपैयाँ पाएको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख रामकृष्ण खाणले किसानलाई बेवास्ता गरेर गरिएको विकास अर्थहिन हुने भएकाले किसान र स्थानीय सरकार मिलेर कृषि मा आत्मनिर्भर हुनुपर्ने बताए । उनले पालिकाभित्रको वडामा कृषि जोन बनाएर नै किसानसँग हातेमालो गरेर अघि बढिरहेको बताए ।
त्यस्तै उपप्रमुख जगेश्वोरदेवी चौधरीले विगतमा सिमाना जोडिएका पालिकाबाट समेत किसानले दूध ल्याइ तिलोत्तमाका सहकारीमार्फत बिक्री गरेकामा यस पटकबाट कार्यविधिमै कडाइ गरी नगरभित्रका किसानको दूध मात्र संकलन र बिक्री गरिराखिएको जनाइन् । उनले विगतमा भन्दा उत्पादनमा केही घटेको भए पनि यहाँका किसानले नै अनुदान पाउने र आगामी दिनमा उत्पादनमा ध्यान दिने वातावरण बनाउन यो अनुदान रकम सहयोगी बन्ने विश्वास लिएको बताइन् ।
उपप्रमुख चौधरीले पालिकाबाट किसानका लागि जारी गरिने सूचना अझ प्रभावकारी ढंगले उनीहरुसमक्ष पुर्याइ पालिका किसानको साथमा रहेको र अनुदान एवं अन्य सुविधामा भनसुनका आधारमा नभई वास्तविक किसानको गोठमै पुगेर अनुगमन गरी सुविधा दिने गरिएको जनाइन् ।
कार्यक्रममा बोल्दै दुग्ध सहकारी संघका सदस्य हरि काफ्लेले किसान संख्या घट्दै गएकाले उत्पादनमा कमी भएको बताए । उनले किसानको लागि छुट्याइएको अनुदानले किसानलाई प्रेरणा प्रदान गर्ने भएकाले यसलाई निरन्तरता दिन र थप अनुदान रकम बढाउन पालिकाले आगामी नीतिमा समेट्नुपर्ने बताए ।
आर्थिक वर्ष २०७६/७७ बाट वितरण हुँदै आएको दूधमा अनुदान रकम प्रतिलिटर १ रुपैयाँ रहेकामा गत चैतमा कार्यविधि संशोधन गरी प्रतिलिटर २ रुपैयाँ बनाइएको पशु शाखा प्रमुख राजु कँवरले जानकारी दिए । उनले जेठ अन्तिमसम्ममा हरेक किसानले अनुदान बापतको रकम पाइसक्नुपर्ने गरी सहकारीलाई बताइएको र त्यसकै आधारमा रकम भुक्तानी गरेर दिइने जनाए ।
