कपिलवस्तु — कपिलवस्तु नगरपालिका, वडा नं. ८ मैनिहवाकी १४ वर्षीया सुखना केवटको आपँको रुखको हाँगाले लागेर मृत्यु भएको छ ।
शुक्रबार साढे ३ बजेतिर हावाहुरी चल्दा तौलिहवा–लुम्बिनी सडक खण्डअन्तर्गत मैनिहवामा पर्ने बगैंचामा आँप टिप्न उनी गएकी थिइन् ।
चोट लागेर घाइते उनलाई सदरमुकाम तौलिहवास्थित जिल्ला अस्पताल लगिएकामा चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।
तीव्र गतिमा चलेको हावाले आँपको रुखको हाँगा भाँच्चिएर भुईंमा खस्दा लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारीले बताए ।
