पश्चिम नेपाल बस समितिका अध्यक्ष खरेलविरुद्ध राजश्व ठगी मुद्दा दर्ता

बिगो र जरिवानासहित डेढ करोड रुपैयाँ र कैद माग दाबी

जेष्ठ २, २०८२

घनश्याम गौतम

Revenue fraud case registered against Kharel, president of West Nepal Bus Committee

बुटवल — राजश्व छली गरेको कसुरमा पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलविरुद्ध तुलसीपुर उच्च अदालत बुटवल इजलासमा मुद्दा दर्ता भएको छ । साना सवारी साधनका महँगा पार्टस्‌को तस्करी गरी राजश्व छली गरेको आरोपमा राजश्व अनुसन्धान कार्यालय बुटवलले उनीविरुद्ध बिहीबार मुद्दा दर्ता गरेको हो ।

लामो समयदेखि निरन्तर बस समितिको अध्यक्ष रहँदै आएका खरेलले बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा शुभलक्ष्मी अटो लिंक प्रालिमार्फत गाडीहरुको वर्कसप र मोटर पार्टसको कारोबार गर्दै आएका छन् । समितिमा उनका मात्र २ सय बढी बस छन् । खरेलसँगै उनका साझेदारसमेत रहेका अर्का व्यवसायी जगन्नाथ खनालविरुद्ध पनि मुद्दा दायर भएको छ । 

दुवै जना सञ्चालक रहेको फर्मबाट गाडीका महँगा पार्टस्‌हरु राजस्व छली गरेर ल्याउने र बिक्री वितरण गर्ने गरेको र साना गाडीका पार्टसको तस्करीको आरोपमा राजस्व अनुसन्धान कार्यालयले मुद्दा दायर गरेको राजश्व अनुसन्धान विभागका प्रवक्ता कृष्णकुमारी श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहितको दफा २०(६) बमोजिम मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ । ५४ वर्षीय खरेल रूपन्देहीको तिलोत्तमा नगरपालिका–४ नयाँमिल र ४८ वर्षीय खनाल तिलोत्तमा–४ शुभलक्ष्मी पथ निवासी व्यक्ति रहेको विज्ञप्तिमा जनाइएको छ । दुवै जनाले सञ्चालन गरेको वर्कसप र गोदामको खानतलासी तथा मालवस्तुको भौतिक निरीक्षण गरी बिल बिजक, खरिद खाता, बिक्री खातालगायत अन्य आवश्यक कागजातहरू तथा मालवस्तुको भौतिक गणना गरी विश्लेषण गर्दा उक्त फर्मको मौज्दात किताबमा प्रविष्टि गरे बमोजिमको परिमाणभन्दा भौतिक निरीक्षणबाट प्राप्त परिमाण बढी देखिएको तथा केही मालवस्तुको परिमाण मौज्दात किताबभन्दा कम देखिएको प्रमाणहरु फेला परेको विज्ञप्तिमा उल्लेख छ । 

‘मालवस्तु खरिद गरी मौज्दात किताबमा प्रविष्टि नगर्नु, बिजक नै जारी नगरी मालवस्तु बिक्री गर्नु, बिक्री भएको मालवस्तुको अभिलेख बिक्री खातामा प्रविष्टि नगर्नु, पेश गरेको मौज्दात विवरणभन्दा अधिक मालवस्तु गोदामबाट फेला पर्नु, बढी फेला परेको मालवस्तुको खरिद तथा भन्सार पैठारी गरेको कुनै निस्सा प्रमाण निजसँग नहुनु तथा कारोबार छल्ने उद्देश्यले न्यून बिक्री देखाई राजस्व चुहावट कसुर गरेको पुष्टि भएकोले,’ विज्ञप्तिमा उल्लेख छ, ‘७२ लाख ११ हजार तीनसय रुपैयाँ बिगो कायम गरी बिगोको शतप्रतिशत जरिवाना गरी १ करोड ४४ लाख २२ हजार ६ सय असुल उपर गरी हदैसम्मको कैद सजायको मागदाबी गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरिएको छ ।’

राजश्व अनुसन्धान कार्यालयले अनुसन्धान सकेपछि दुवै जनासँगबाट १ करोड ९ लाख रुपैयाँ धरौटी माग गरेको छ । दुवै जनाले धरौटी रकम सरकारको खातामा जम्मा गरिसकेको राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेले बताए । ‘मुद्दामा बिगो र सतप्रतिशत जरिवानासहित १ करोड ४४ लाख माग दाबी भएपनि राजश्व अनुसन्धान कार्यालयले १ करोड ९ लाख रुपैयाँ धरौटी माग गरेको छ,’ उनले भने, ‘सुरुमा फर्मको आयकर दाखिला नभएको र पछि आन्तरिक राजश्व कार्यालयले आयकर पनि मागदाबीमा राख्न लेखेपछि १ करोड ४४ लाख पुगेको हो ।’ धरौटीभन्दा माथिको रकम अदालतबाट फैसला भएको बखत असुलउपर हुने उनले बताए । अनुसन्धान सकिएपछि बिहीबार खरेल र खनाल विरुद्धको मुद्दा उच्च अदालत पेश गरिएमा दुवै जना बिहीबार नै उपस्थित भएर थुनछेक बहस भएको थियो । थुनछेक बहसमा अदालते प्रतिव्यक्ति २० लाखका दरले धरौटी माग गरेर छोडेको उनले बताए ।

उक्त धरौटी रकम पनि राजश्व विभागको धरौटीबाट असुल गर्ने गरी आदेश भएपछि दुवै जना बिहीबार नै छुटेको राजश्व अनुसन्धान कार्यालयले जनाएको छ । 

घनश्याम गौतम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully