तिलोत्तमा — रूपन्देहीको तिलोत्तमा नगरपालिकालाई महिलामैत्री सहर बनाउन युनोप्सले छनोट गरेको छ । देशैभरिका ७ पालिकालाई छानेर समुदायमा आधारित महिलामैत्री सहर बनाउने अवधारणा अनुसार परियोजनाले तिलोत्तमाका २ वडामा पूर्वाधार निर्माणबारे बुधबार समुदायसँग छलफल र सम्भाव्यता अध्ययन गरेको हो ।
पालिकाको वडा ४ सीमानगर र वडा ९ को मंगलापुरमा हाटबजारसहित महिलामैत्री आराम गृह, शौचालय, बालबालिका खेल्ने स्थान, सबैको पहुँचयोग्य पैदल लेन, बगैंचा आदि निर्माण हुनेछ । उक्त स्थानमा महिलाले उत्पादन गरेर बिक्री गर्न मिल्ने खाद्य सामग्री तथा अन्य सामग्रीका लागि स्टल समेत निर्माण गरिने परियोजनाकी कार्यक्रम विशेषज्ञ निलम धनुषेले बताइन् । उनका अनुसार जुन स्थानमा उक्त पूर्वाधार बनाइन्छ, त्यसका लागि समुदायका महिला, पुरुष, युवा र बालबालिकासँग छलफल गरी उनीहरुले चाहेको पूर्व नक्सांकनमा आधारित संरचना बन्छ ।
‘प्राविधिक, जलवायुका हिसाबले के हुन्छ भन्ने सम्भावना हामीले हेर्छौं,’ परियोजनाकी कार्यक्रम विशेषज्ञ धनुषेले भनिन्, ‘यसमा ३० प्रतिशत पालिकाको लगानी मिसिने भएकाले समुदायका मानिसको सहभागिता अनिवार्य रहन्छ । यो प्रक्रियामा वडामा रहेको खुला स्थान पहिचान गरी त्यसमा संरचना बनाउन उपयुक्त छ वा छैन भन्ने अध्ययन गरिन्छ ।’ उनका अनुसार त्यसपश्चात एक चरणको सामुदायिक नक्सा कोरेर प्राविधिक रुपमा त्यसलाई नक्सांकन गरी पूर्वाधार बनाइनेछ ।
यस्तो परियोजनाले समतामूलक महिलामैत्री, लैंगिकमैत्री तिलोत्तमा नगर बनाउन सहयोग पुग्ने नगर प्रमुख रामकृष्ण खाँणले बताए । उनले देशभरिबाट तिलोत्तमालाई पनि छनोटमा पारेर परियोजनाले पूर्वाधार निर्माण गर्ने कार्य खुसीको कुरा भएकाले यसमा नगरपालिकाले लगानी गर्न र युनोप्ससँग साझेदारी भूमिका खेल्न तयार रहेको जनाए । उनले यो साझेदारीले नेपालमा लैंगिक समानता र महिला सशक्तिकरणका लागि नयाँ मिसाल कायम गर्ने अपेक्षा गरेको पनि बताए ।
यस परियोजनाका लागि ३ वर्ष समयावधि तोकिएको छ । पहिलो चरणको काम सफल भए अन्य वडामा समेत नक्सांकन गरिने युनोप्सका आर्किटेक्ट मनीषा कार्कीले जनाइन् । यो पहल महिला, बालबालिका तथा सामाजिक रूपले पिछडिएका समुदायका लागि सुरक्षित, समावेशी र सुविधाजनक नगरपालिका निर्माण गर्ने उद्देश्यले गरिएको उनको भनाइ छ ।
